शनिबार, कात्तिक २९, २०८२

सफा पानीमा छठ स्नान गर्न पाइने आश

 |  शुक्रबार, कात्तिक १६, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १६, २०८१

महोत्तरी- बर्दिबास नगरक्षेत्रका बासिन्दाले यसपालिको छठमा सफा कञ्चन पानीमा चोबलिएर छठ स्नान गर्न पाइने आश सँगालेका छन्।

National life

बर्दिबास–१, २ र १४ को छठी घाट रहँदै आएको बर्दिबास–१४ स्थित हटिया पोखरीको सम्भार र डिलमा बोरिङ जडान गरिएपछि यसपालि कञ्चन पानीमा चोबलिएर छठ स्नान गर्न पाइने यहाँका सर्वसाधारणले आश सँगालेका हुन्।

यसपालि भर्खरै पोखरीको उत्खनन् गरिएर सरसफाइ गरिनसँगै चारैतिर डिलमा पक्की ब्लक ओछ्याइएको छ। यस्तै डिलमै भर्खर जडान गरिएको बोरि¬ङबाट सफा पानी पोखरीमा खसालिएको छ। डिलमा ४०० फिट गहिरो सतहबाट निस्कने सफा पानी पोखरीमा खसालिएपछि अहिले छठी स्नानका लागि सजिलो हुने भएको हो।

“पोखरी सरसफाइ गरेर चारैतिर पक्की ब्लक ओछ्याइएको छ, पोखरीमा बोरिङको कञ्चन पानी झरेको छ”, हटियाचोकका सामाजिक कार्यकर्ता जनुलाल महतोले भने “यसपालि छठका वर्तालुले सफा पानीमा चोबलिएर स्नान गर्न पाउनेछन्।” छठमा व्रतको दिन सझिया अरख  र समापनको दिन बिहानको भोरका अरख सूर्यलाई चढाउन कम्मरसम्म पानीमा उभिने चलन छ। यसअघि वर्तालुले तीन पटक पानीमा चुर्लुम्म डुबेर स्नान गर्छन्।

अघिल्ला बितेका वर्षमा बर्दिबास हटियाभरिको फोहर दुर्गन्ध पोखरीमा झर्दै आएको थियो। यसपालि भने दीपावलीअघि नै फोहर निकासको ढल बनेर प्रयोगमा ल्याइएपछि अब सम्भार र सरसफाइले निरन्तरता पाए पोखरीको पानी सधैँ कञ्चन रहने बर्दिबास–२ का देवनारायण महतोले बताए।

Laxmi sunrise bank
kumari

बर्दिबासको हटिया पोखरी यो बस्ती बस्न थालेसँगै बनेको यहाँका पाका व्यक्ति सम्झन्छन्। पहिले बर्दिबासमा खानेपानीको अभाव हुँदा यो पोखरी खानेपानी प्रयोजनमा पनि प्रयोग हुन्थ्यो। घना जङ्गल छेउको पोखरी डिलमा टाढाटाढाबाट काठ दाउरा लिन आउनेको विश्रामस्थल रहेको पोखरी छेउकै बासिन्दा ८० वर्षीय परीक्षण महतो सम्झनुहुन्छ। पछि बस्ती विकास गर्दै गएपछि खानेपानीका इनार र अन्य विकल्प बढे। यससँगै यो पोखरी नगरभरिको फोहर जम्ने थलो बनेको उनले बताए।

बर्दिबास नगरको नाउँसँगै यो पोखरीको सम्बन्ध जोडिएको पुराना बासिन्दाको भनाइ छ। काठ दाउरा लिन बयलगाडा लिएर आउने यहाँ रात बस्ने र ‘बरद’ (गोरु) डिलभरि बस्ने हुँदा ठाउँको नाउँ बरदबास हुँदै पछि बर्दिबास भएको यो नगर बसाउने स्व नीरबहादुर हमालका छोरा ७० वर्षीय चिरञ्जीवी हमालले बताए।

अहिले आफ्नो नगरको विकाससँगै जोडिएको हटिया पोखरीको मर्मतसम्भार, सरसफाइ, हटियाको फोहर निकासको ढल निर्माण, पोखरी डिलमा पक्की ब्लक ओछ््याइएर बोरिङको सफा पानी झर्न थालेपछि छठ वर्तालुसँगै सबै नगरवासी दङ्ग छन्। पोखरीका यी काम मधेश सरकार र बर्दिबास नगरपालिकाले सम्पन्न गरेपछि अब यसको नियमित सरसफाइमा सर्वसाधारणले चासो दिनुपर्ने पाका व्यक्तिको सल्लाह छ।
 

प्रकाशित: Nov 01, 2024| 16:00 शुक्रबार, कात्तिक १६, २०८१
प्रतिक्रिया दिनुहोस्