शुक्रबार, कात्तिक १६, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

अझै फेरिएन नारायणी रंगशालाको स्वरुप

 |  शुक्रबार, कात्तिक १६, २०८१
nespernesper

हिमाल लम्साल

हिमाल लम्साल

शुक्रबार, कात्तिक १६, २०८१

पर्सा- वीरगञ्ज महानगरपालिका–११ श्रीपुरका सुनिल राउत कुर्मीले घर नजिकै रहेको नारायणी रङ्गशालाबाट फुटबल खेलेर हुर्किए। सोही रङ्गशालामा खेलेको खेल कौशलले उनलाई २०६०/६१ सालमा त १९ वर्षमुनिको राष्ट्रिय फुटबल टोलीको सदस्य भएर पनि खेल्ने अवसर जुरायो। तर अहिले कुर्मीलाई आफैँलाई खेलाडी गराउन प्रेरित गरेको रङ्गशालाको जीर्ण अवस्था देखेर मन भतभती पोल्ने गरेको सुनाउँछन्।

triton college

‘यही रङ्गशालामा फुटबल खेलेर हुर्कियौँ। तर,अहिले रङ्गशालाको जीर्ण अवस्था देखेर भने उदेक लाग्ने गर्छ,’ उनले भने, ‘रङ्गशाला बेहाल हुनुमा राष्ट्रिय खेलकुद परिषद्देखि स्थानीय सबै दोषी छन्। रङ्गशालाको पूर्वाधार निर्माण गरेर मात्रै हुँदैन। नियमित रेखदेख र संरक्षणको अभावकै कारणले अहिले बेहाल अवस्थामा आइपुगेको हो।’

कुर्मीले यही रङ्गशालामा हुँदै आएको विशाल गोल्ड कपदेखि अन्य विभिन्न फुटबल प्रतियोगितामा पनि सरिक भए। कुर्मी अहिले नारायणी रङ्गशालासँगै रहेको गौतम माध्यमिक विद्यालयको खेलकुद प्रशिक्षकको रुपमा कार्यरत छन्। ‘नारायणी रङ्गशाला अहिले पहिलोजस्तो रहेन। रङ्गशालाको तीनैतर्फका प्याराफिट भत्किएर धराप जस्तै भएका छन्। फुटबल खेल्ने मैदान पानी जमेर पौडी पोखरी जस्तै भएको छ,’ उनले भने, ‘रङ्गशालाको उचित संरक्षण र संवद्र्धन नहुँदा नयाँ पुस्ताका खेलाडी उत्पादनमा खडेरी परेको छ।’

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालापछिकै दोस्रो धेरै दर्शक अट्ने रङ्गशालाका रुपमा २०३८ सालमा नारायणी रङ्गशाला निर्माण गरिएको थियो। २०४२ सालमा तेस्रो राष्ट्रिय खेलकुद हुँदा नारायणी रङ्गशाला तयार भएर सोही रङ्गशालामा सो प्रतियोगिता आयोजना गरिएको थियो।

सुरुआती चरणमा १५ हजार दर्शक क्षमताको विकास गरिएको थियो। तराई–मधेश क्षेत्रकै ठूलो रङ्गशाला विगतमा राष्ट्रिय खेलकुद प्रतियोगितादेखि अन्य स्थानीयस्तरका विभिन्न गोल्डकप प्रतियोगिता पनि भएका थिए। पछिल्लो समय रङ्गशाला परिसरका प्याराफिटका भौतिक पूर्वाधार जीर्ण र चिराचिरा भएपछि भने खेलुकदका गतिविधि खासै हुन सकिरहेका छैनन्।

Metro Mart
vianet

रङ्गशालाको तीनतर्फको प्याराफिटका पूर्वाधार जीर्ण रहेका छन् भने हालै निर्माण गरिएको दक्षिणतर्फको प्याराफिट राम्रो अवस्थामा भए पनि रङ्गशालाको मैदानको अवस्था भने अझै दयनीय छ। मैदानभरि घाँसले ढाकेको छ भने वर्षायाममा पानी जम्ने पोखरी हुने गर्छ। नियमित मर्मतसम्भार र जीर्णोद्धारको अभावमा रङ्गशाला जीर्ण बन्दै गएको हो। रङ्गशाला १८ विघा क्षेत्रफलमा फैलिएको छ।

वीरगञ्ज, महानगरपालिका, मधेश प्रदेश सरकार तथा सङ्घीय सरकारको यस रङ्गशालालाई व्यवस्थित गर्नेतर्फ ध्यान पुग्न नसकेको स्थानीयको भनाइ छ। अखिल नेपाल फुटबल सङ्घ पर्साका अध्यक्ष रोशन गुप्ता नारायणी रङ्गशाला जीर्ण भएर खण्डहर भएको बताउँछन्। ‘सुविधासम्पन्न मैदान भए पो नयाँ खेलाडी नयाँ जोश र जाँगरसहित खेल्न आउने थिए,’ उनले भने, ‘मैदान नै बेहाल भएपछि कसको पो नजर पर्ने रैछ र!’

रङ्गशालाको भौतिक संरचना भत्किएसँगै राष्ट्रिय खेलकुद परिषद्ले करिब एक दशकअघि रङ्गशालाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) समेत तयार पारेको थियो। सो डिपिआरअनुसार रङ्गशाला पुनर्निर्माणका लागि साढे दुई अर्बभन्दा धेरै रकम लाग्ने बताइएको थियो। सरकारले रङ्गशाला निर्माणका लागि आवश्यक बजेट विनियोजन नगर्दा रङ्गशाला दिन प्रतिदिन जीर्ण बन्दै गएको छ।

अध्यक्ष गुप्ताले नारायणी रङ्गशाला व्यवस्थित नहुँदा पर्साका फुटबलका गतिविधिमा असर पारेको बताए। उनले भने, ‘वीरगञ्जको आदर्शनगरमा एउटै मैदानमा फुटबल र क्रिकेट गराउनुपर्ने बाध्यता रहेको छ।’ नारायणी रङ्गशाला यसअघि मध्यमाञ्चल खेलकुद विकास समिति मातहत पर्ने गथ्र्यो। तर, मुलुक सङ्घीयतामा गइसकेपछि समिति अस्तित्वमा छैन। नयाँ प्रावधानअनुसार मधेश प्रदेश परिषद् बनाउनुपर्नेमा अहिलेसम्म कानुनको अभावमा रङ्गशाला राष्ट्रिय खेलुकद परिषद् मातहत नै पर्ने गर्छ।

राखेपका अधिकृत मोहम्मद जेउल इस्लामले नारायणी रङ्गशालाको संरक्षण र रेखदेखमा स्थानीयबासी र सरकारी निकाय दुवैका कमीकमजोरी रहेको बताए। ‘वीरगञ्जका स्थानीयवासीले रङ्गशालामा निर्माण गरिएका फलामका रड काटेर लैजानेसम्मको हर्कत गरेका छन्,’ उनले भने, ‘अब सबैले आआफ्नो कमीकमजोरीलाई सच्चाएर रङ्गशालालाई व्यवस्थित गराउनेतर्फ अग्रसर हुने बेला आएको छ।’

राखेपका अधिकृत इस्लामले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नारायणी रङ्गशालाको पुर्ननिर्माणका लागि दातृ निकायसँग पहलकदमी गर्ने प्रयास गरिरहेको बताए। ‘‘खेलकुद मन्त्री केही समयअघि रङ्गशालाको स्थलगत अवलोकन गर्न आउनुभएको थियो। उहाँले दातृ निकायसँग समन्वय गरेर पुनर्निर्माण गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ,’’, उनले भने,‘‘सबैको पहलकदमीको कारणले अबको केही समयभित्रै नारायणी रङ्गशाला निर्माणले प्रथामिकता पाउला कि भन्ने आशा जगाएको छ।’’

सङ्घीय सरकारका प्रायः सबैजसो खेलकुद मन्त्रीले यस रङ्गशालाको स्थलगत निरीक्षण गरेका छन्। भ्रमणको क्रममा उनीहरुले नारायणी रङ्गशालाको पूर्वाधार निर्माण आफ्नो प्रथामिकतामा रहेको बताउने गर्छन् तर आवश्यक बजेट व्यवस्थापन नहुँदा यसको स्तरोन्नति हुन सकेको छैन।

वीरगञ्ज क्रिकेट मैदानको हालत पनि उस्तै
नारायणी रङ्गशाला परिसरभित्रै रहेको वीरगञ्ज क्रिकेट मैदानको पनि अवस्था उस्तै छ। चार विघा १८ कठ्ठा १५ धुर क्षेत्रफलमा फैलिएको क्रिकेट मैदान पनि मुआब्जा र संरक्षणको अभावले बेहाल अवस्थामा रहेको छ। पर्सा जिल्ला क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहले पनि वीरगञ्ज क्रिकेट मैदान मुआब्जा विवाद र बजेट अभावकै कारणले संरक्षण गर्न नसकिएको गुनासो गर्छन्

‘चार कट्ठा जग्गाको मुआब्जाको प्रक्रिया अघि बढाउन नसक्दा क्रिकेट मैदानलाई संरक्षण र रेखदेख गर्न सकिरहेका छैनौं,’ उनले भने, ‘मुआब्जाको लागि आर्थिक स्रोत र आवश्यक प्रक्रिया अघि नबढ्दा पनि तारजाली गरेर व्यवस्थित गर्न सकिरहेका छैनौँ।’ वर्षायाममा फुटबल र क्रिकेट मैदानमा दुवैतर्फ व्यवस्थित ढङ्गले पानीको निकास नहुँदा पनि समस्या यथावत् नै छ। अहिले वीरगञ्ज क्रिकेट मैदानको ‘पिच’ निर्माणको काम भने अघि बढाइएको छ।    -रासस

प्रकाशित: Nov 01, 2024| 06:01 शुक्रबार, कात्तिक १६, २०८१
प्रतिक्रिया दिनुहोस्