मंगलबार, पुस १, २०८२

सयपत्री फूल जिल्लाबाहिर पनि पठाउँछ गैंडाकोट

 |  बुधबार, कात्तिक १४, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १४, २०८१

नवलपुर- नवलपरासी (बर्दघाट-सूस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र यसवर्ष सयपत्री फूलखेती फस्टाएको छ।

National life

यहाँ उत्पादित सयपत्री फूल स्थानीय बजारका साथै गरी छिमेकी जिल्लामासमेत पठाउने गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ। नगरपालिकाले फूलको बीउमा अनुदान तथा प्राविधिक सहयोग गरेपछि फूलको उत्पादन वृद्धि भएको हो।

यसवर्ष स्थानीय फूलको माला प्रवर्द्धन गर्न नगरपालिकाले प्लास्टिकका मालाको आयात बन्द गरेपछि किसानले उत्पादन गरेका फूल बढी खपत भएको गैँडाकोट-१ की पुष्प व्यवसायी मीना केसीले बताइन्। विगतको वर्षको तुलनामा यसवर्ष फूलको उत्पादन बढी भएकाले स्थानीय बजारका साथै जिल्ला बाहिरबाट समेत माग आएको उनले उल्लेख गरिन्।

'बारीमा ढकमक्क फूल फुलेको छ, तिहार भर्खरै सुरु भएको छ', उनले भनिन्, 'तिहारको अवधिमा यहाँको सबै फूल खपत हुनेमा विश्वस्त छौँ।' एक्लो प्रयासमा तीन कठ्ठा क्षेत्रफलमा फूलखेती गरेको भन्दै केसीले बीउमा अनुदान तथा फूलमा रोगकीरा लागेमा सोको व्यवस्थापनका लागि नगरपालिकाले प्राविधिक सहयोग गरिरहेको बताइन्।

फूलखेती गर्न मेहनत धेरै गर्नुपर्ने भए पनि फूल बिक्री हुँदा नोक्सानी नहुने केसीले बताइन्। गैँडाकोटमा उत्पादन भएको सयपत्री फूलको माला प्रतिगोटा ६० रूपैयाँदेखि एकसय रूपैयाँसम्म तथा फूल प्रतिकिलो तीनसय ५० रूपैयाँदेखि पाँचसय रूपैयाँसम्ममा बिक्री हुने गरेको उनले जानकारी दिइन्।

Laxmi sunrise bank
kumari

फूल आवश्यक पर्ने व्यक्ति तथा संस्थाले आफूहरुलाई सम्पर्क गरेर माग गर्ने गरेका भन्दै आजदेखि भने आम उपभोक्तालाई लक्षित गरी फूल टिप्न सुरु गरिएको केसीले बताइन्। 'तिहारका लागि फूलको माग आइरहेको छ', उनले भनिन्, 'आजदेखि फूल टिपेर सर्वसाधारणका लागि पनि बिक्रीवितरण गर्ने गरी तयारी गरेका छौँ।'

गैँडाकोटमा सयपत्री फूलको उत्पादन राम्रो हुने भएकाले किसानलाई फूलखेतीमा आकर्षण गर्न अनुदान दिन सुरु गरिएको नगरपालिका कार्यालयले जनाएको छ। नगरपालिकाका कृषि विकास शाखा प्रमुख राजुप्रसाद शर्माले सयपत्रीको उन्नत जातको बीउ लगाउँदा यस वर्ष राम्रो उत्पादन भएको बताए।

'हामीले सयपत्री फूलको बीउमा बिलको आधारमा ५० प्रतिशत अनुदान दिएका छौँ', उनले भने, 'फूलखेतीको नियमित हेरचाह र रोगकीराको सङ्क्रमण देखिँदा किसानलाई प्राविधिक सहयोग समेत गर्दै आएका छौँ।' 

कृषि विकास शाखा प्रमुख शर्माका अनुसार यसवर्ष गैँडाकोट नगरपालिकाभित्र मात्रै ४१ जना किसानले एक कठ्ठादेखि एक बिघा जमिनमा व्यावसायिक सयपत्री फूलखेती गरेका छन्। 'व्यावसायिक रुपमा खेती गरेका किसानले पाँच बिघाभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलको खेती गरेका छन्', उनले भने, 'व्यक्तिगत प्रयोजनका लागि समेत यहाँ फूलखेती गरिने हुँदा नगरपालिकाभित्र करिब आठ बिघा क्षेत्रफलमा फूलखेती भएको छ।' 

यहाँ उत्पादन भएको फूल स्थानीय बजारमा पर्याप्त भएर नारायणगढ, कावासोती, काठमाडौं, पोखरा, बुटवललगायत सहरमा पठाउन पालिकाले समन्वय गरिरहेको शर्माले जानकारी दिए। नगरपालिकाले तीन वर्ष अघि व्यावसायिक रुपमा फूलखेती गर्न किसानलाई आकर्षित गरेको उल्लेख गर्दै उनले त्यसपछिका वर्षमा किसानलाई तालिम, बीउ र बिरुवामा अनुदान, प्राविधिक सहयोग नियमित गर्दै आएको बताए।

गैँडाकोटमा फूलखेतीका लागि उपयुक्त माटो र हावापानी भएकाले आगामी वर्षमा उत्पादनसँगै क्षेत्रफल बढाउन किसानलक्षित विभिन्न कार्यक्रम ल्याउने योजना रहेको कृषि विकास शाखा प्रमुख शर्माले जानकारी दिए। यहाँ व्यक्ति तथा समूहले व्यावसायिक रुपमा सयपत्री फूलखेती गर्दै आएका छन्। रासस

प्रकाशित: Oct 30, 2024| 17:31 बुधबार, कात्तिक १४, २०८१
प्रतिक्रिया दिनुहोस्