मंगलबार, जेठ १९, २०८३

ट्रयाक खोलेको २० वर्षपछि बल्ल कालोपत्र सुरु

 |  मंगलबार, कात्तिक १३, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १३, २०८१

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-८ स्थित राइसिंबाट म्यागङ गाउँपालिका-३ गोगने हुँदै धादिङको खनियाबास पुग्ने सडक कालोपत्र गरिने भएको छ। 

National life

बागमती मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले राईसिंमा आयोजित कार्यक्रममा कालोपत्रको शुभारम्भ गरे। ट्रयाक खोलिएको करिब २० वर्षपछि सुरु भएको कालोपत्र कार्यले दुई जिल्लाका ग्रामीण क्षेत्रलाई बजारीकरणसँग जोड्दै कृषि उब्जनीको बजारीकरणमार्फत अर्थतन्त्र बलियो बनाउन उल्लेख्य योगदान पुग्ने सो अवसरमा मुख्यमन्त्री तामाङले विश्वास व्यक्त गरे।

'अहिले विदुर-८ राईसिंबाट विदुर-१३ हर्कपुर हुँदै गोगनेसम्म १० किलोमिटर सडकमध्ये चालु आर्थिक वर्षमा चार किमी कालोपत्र गर्न लागिएको छ', उनले भने, 'बाँकी रहने थप छ किमीसहित गोगने हुँदै धादिङको खनियाबास गाउँपालिकासम्म आगामी आर्थिक वर्षमा बजेट सुनिश्चित गरिने छ।'

गत जेठ १८ गते भएको सम्झौताअनुसार चार किमी सडक विस्तारका लागि १४ करोड ६१ लाखमा निर्माण कम्पनीले जिम्मेवारी पाएको छ। सो कार्य उक्त कम्पनीले १८ महिनाभित्र सम्पन्न गनुपर्ने उल्लेख छ।

बहुवर्षीय ठेक्का भएकाले चालु आवमा आठ करोड बजेट विनियोजन भएको छ भने बाँकी रकमसहित तोकिएको गन्तव्यसम्म पुर्‍याउन अपुग रकम अर्को वर्ष विनियोजन हुने पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख रोशन पाठकले जानकारी दिए।

Shivam cement

‘राईसिं-हर्कपुर-गोगने सडकखण्ड’लाई धादिङको खनियाबास जोडेर धादिङका विकटमा पर्ने पालिका र नुवाकोटको म्यागङ गाउँपालिकाका ५० हजारभन्दा बढी स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख रहेको विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए।

हाल उक्त कच्ची सडकमा यात्रुबाहक सवारीसाधन गुडाउन जोखिमको कारण कठिनाइ भएकाले सडक कालोपत्रपश्चात गाउँगाउँका बस्तीमा गाडी चलाउन, कृषि उब्जनीलाई बजार पुर्‍याउन र दैनिक उपभोग्य सामग्री गाउँ लैजान उक्त सडक निकै लाभदायक हुने नगरप्रमुख श्रेष्ठको भनाइ छ। रासस

प्रकाशित: Oct 29, 2024| 18:31 मंगलबार, कात्तिक १३, २०८१
प्रतिक्रिया दिनुहोस्