शुक्रबार, असोज ११, २०८१

देशभर वर्षा, पहिरोका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध

 |  शुक्रबार, असोज ११, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ११, २०८१

काठमाडौं- बिहीबार रातिदेखि नै देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण पहिरो जाँदा विभिन्न ठाउँमा सडक अवरुद्ध भएको छ भने खोला नदीहरुमा बहाव बढेको छ।

triton college

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कौरास्थित भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौं आउने बाटो बन्द भएको छ। वर्षासँगै आएको पहिरोले बिहानदेखि उक्त खण्ड बन्द भएको हो। स्थानीय, प्रहरी, सडक डिभिजन कार्यालयका प्राविधिकले पहिरो पन्छाउने प्रयास गरिरहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले काठमाडौंबाट हेटौँडा आउने र हेटौँडाबाट फाखेल हुँदै काठमाडौं जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। त्यस्तै पहिरोका कारण अवरुद्ध कान्तिलोकपथ खण्ड पनि सञ्चालनमा आएको छैन। बिहीबार राति मकवानपुरको बकैया गाउँपालिका–१२ घट्टेपाखामा पहिरो जाँदा उक्त खण्ड अवरुद्ध भएको हो।

सो स्थानको पहिरो पनि हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। हेटौँडाबाट काठमाडौंतर्फ जोड्ने त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली खण्ड तथा पूर्व–पश्चिम राजमार्गमा भने यातायात सञ्चालन भइरहेका छन्।

राप्ती लोकमार्ग अवरुद्ध
निरन्तरको वर्षाद्ले राप्ती लोकमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि उक्त लोकमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले पहिरोका कारण तुलसीपुरको राम्रीबाट सल्यानको कपुरकोट खण्डमा सडक अवरुद्ध भएको जानकारी दिइन्।

Metro Mart
vianet

सो स्थानमा सडक मर्मत भइरहेकाले काम प्रभावित बनेको उनले बताइन्। केही स्थानमा पहिरो खसेको र केही स्थानमा सडक भासिएको सहायक प्रजिअ पुनले बताइन्। उनका अनुसार शुक्रबारदेखि १३ असोजसम्म सडक मर्मत हुने भएकाले तत्काललाई ठूला सवारीसाधन, टिपर र ट्रक सञ्चालनमा रोक लगाइएको छ। साना सवारीसाधन पहिरो पन्छाएर सञ्चालनमा ल्याइने उनले बताइन्।

बिपी राजमार्ग एकतर्फी सञ्चालन
बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चारसयबेंसीमा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार अविरल वर्षासँगै आएको लेदोसहितको पहिरोले आज बिहान आधा घण्टा सडक दुईतर्फी रुपमा अवरुद्ध भएको थियो।

अवरुद्ध सडक सञ्चालन गर्न प्रहरी, स्थानीय जनप्रतिनिधि र सडक विभागको प्रतिनिधिको सक्रियतामा एकतर्फी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए। लेदो आउनेक्रम जारी रहेकाले सवारीसाधन नियमित रुपमा सञ्चालन गर्न र सहजीकरणका लागि आवश्यक जनशक्ति खटिरहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित
प्रतिकूल मौसमका कारण देशभर आन्तरिक उडान प्रभावित भएका छन्। लगातारको वर्षाका कारण भिजिबिलिटी कम हुँदा आजका उडानहरू बिहानैदेखि प्रभावित भएका हुन्।

लगातारको वर्षाले भिजिबिलिटी कम भएपछि भद्रपुर, पोखरा, भरतपुर, विराटनगर, तुम्लिङटार, सुर्खेतसहितका विमानस्थल खुलेका छैनन्।

त्रिभुवन विमानस्थल खुले पनि धेरैजसो विमानस्थलमा उडान नहुँदा सयौं यात्रु त्रिभुवन विमानस्थलमै अड्किएका छन्। उडान सुचारु नहुँदा विमानस्थलमा यात्रुको भीड बढेको छ।

पूर्वदेखि पश्चिमसम्मै वर्षा
देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुलुकका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ।

देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छभने शुक्रबार दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले शुक्रबार बिहान जारी गरेको मौसम बुलेटिनमा जनाइएको छ।

विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हुरीबतास चल्ने सम्भावना पनि छ।

यसैगरी शुक्रबार राति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

साथै बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हुरी चल्ने सम्भावना छ। मौसम बुलेटिन अनुसार आगामी २४ घण्टामा देशका तराई भागका केही स्थानमा हुरीबतासको सम्भावना रहेको तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने बाढी, पहिरो र डुबानको जोखिमका साथै ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्नसक्ने भएकाले सतर्कता अपनाउन ती भेगका सर्वसाधारणमा विभागले अनुरोध गरेको छ।

कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ?
काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ ।

आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै महाशाखाले जल सतह बढ्न सक्ने नदीहरूको विवरण सार्वजनिक गरेको हो ।

असोज ११ गते नारायणी नदीमा उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहने विभागको अनुमान छ । यस्तै कन्काई नदी ११ गते उच्च जोखिम हुने र अरु समयमा मध्यम जोखिम हुने जनाइएको छ । कमला नदी असोज ११ गते उच्च र १२ गते मध्यम तथा बागमती नदी पँधेरा दोभानमा ११ गते उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहेको महाशाखाले जानकारी गराएको छ ।

यस्तै पूर्वी राप्ती रजैयामा असोज ११ गते मध्यम जोखिम रहेको छभने असोज १२ गते उच्च जोखिम रहेको विवरण सार्वजनिक गरेको छ । यस्तै पश्चिम राप्ती कुसुममा असोज ११ गते मध्यम जोखिम रहेको तर असोज १२ गते भने अति उच्च जोखिम रहेको तथा बबई नदी असोज ११ गते मध्यम जोखिम छभने असोज १२ गते अति उच्च जोखिम रहेको जनाइएको छ ।

यी उच्च र मध्यम जोखिम रहेका नदी तथा त्यसका सहायक नदीहरूमा जलसतह खतराको तह आसपास र केही क्षेत्रमा खतराको तहसमेत पार गर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । अबको तीन दिन ती नदी तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध पनि गरिएको छ । असोज १४ गतेदेखि भने यस प्रणाली कमजोर हुने जनाइएको छ ।

विपद् प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले नदी आसपासका बासिन्दा, डुबान हुने क्षेत्रका बासिन्दा र पहिरो खस्ने जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरेका छन्। उनले विपद् पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णयानुसार उच्च जोखिम रहेका ५६ जिल्लामा रात्रिकालीन बस नचलाउन आग्रह गरिएको पनि जानकारी दिए।

प्रकाशित: Sep 27, 2024| 12:31 शुक्रबार, असोज ११, २०८१
प्रतिक्रिया दिनुहोस्