बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

बुकीमा चरेका च्यांग्राको माग उच्च

 |  बिहीबार, असोज १०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १०, २०८१

म्याग्दी- मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-४ याराका डिण्डुप गुरुङको गोठमा एक सय ५० च्याङ्ग्रा छन्। घुम्ती गोठमा पालेको च्याङ्ग्रा बेचेर उनले छोराछोरी पढाउने र घरव्यवहार चलाउने खर्च जुटाउँदै आएका छन्।

triton college

'वर्षमा ४०  जति च्याङग्रा बिक्री हुन्छ,' उनले भने, 'घरव्यवहार चलाउने र छोराछोरी पढाउने खर्च च्याङ्ग्रापालनबाटै जुटाउने गरेको छु।' ३५ वर्षीय डिण्डुपले विदेश नगइ पुर्खाले गर्दै आएको च्याङ्ग्रापालनलाई निरन्तरता दिएका हुन्।

याराका डिण्डुपले जस्तै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको प्रायजसो घरमा च्याङ्ग्रा पालेका छन्। दशैँ तिहारमा पोखरा, काठमाडौंलगायत देशका विभिन्न जिल्लामा मासुका लागि मुस्ताङका किसानले पालेका च्याङ्ग्राको उच्च माग हुन्छ। 

सडक यातायात र बजारको सुविधासँगै च्याङग्रा पाल्ने पेसा व्यावसायिक बन्न थालेको लोघेकर दामोदरकुण्ड -४ घाराका पेमा छिरिङ गुरुङले बताए। 'पहिले दशैँतिहारका लागि एकमहिना पहिले नै च्याङ्ग्रा हिँडाएर म्याग्दी, पर्वत, बागलुङ, कास्कीका गाउँबस्ती र पोखरामा लैजाने गरिन्थ्यो,' उनले भने, 'अहिले गाउँबाटै प्रतिगोटा ३३ देखि ३५ हजार रूपैयाँमा च्याङ्ग्रा बिक्री भइरहेको छ।'

तीन वर्ष पूरा भएका च्याङ्ग्रा मासुका लागि बिक्री हुने गर्छ। जडिबुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ। दशैँ तिहारमा हिमाली च्याङग्राको मासुको खपत बढी हुने गर्छ। बर्खामा समुद्री सतहदेखि ६ हजार मिटर उचाईको हिमालको फेदमा पुग्ने च्याङ्ग्रा गोठहरु असोज लागेपछि बेँसीर्फ झार्ने गर्छन्।

Metro Mart
vianet

तीन/चार वटा घरले वार्षिक रुपमा एक लाख पचास हजार ज्याला दिएर च्याङ्ग्रा हेर्न गोठाला राखेका छन्। स्थानीयका साथै म्याग्दी, बागलुङ, रुकुम, रोल्पा, धादिङबाट कामको खोजीमा मुस्ताङ पुग्नेहरु च्याङ्ग्रा गोठाला बस्ने गर्छन्। 

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार मुस्ताङमा १२ वटा मिश्रित ठूला च्याङग्रा फार्म छन्। २० देखि ५० वटाको संख्यामा च्याङग्रा पाल्ने कृषकहरुको संख्या धेरै रहेको केन्द्रका प्रमुख पशु चिकित्सक डा लालमणी अर्यालले बताए। 

उनका अनुसार मुस्ताङमा हाल ५० हजार च्याङ्ग्रा पालिएको छ। थासाङबाहेक, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा व्यवसायिक च्याङग्रापालन भएको छ। यसवर्षको दशैँतिहारका लागि मुस्ताङबाट च्याङ्ग्रा निकासी हुन थालेको छ।

बुधबारसम्म तीन सय ९७  च्याङग्रा निकासी गर्न स्वास्थ्य परीक्षण गरी सिफारिस दिएको केन्द्रका प्रमुख अर्यालले बताए। स्वास्थ्य परिक्षण गरेर निरोगी पशुमात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ। 

स्थानीय व्यापारीले गाउँका किसानहरुबाट खरिद गरेर जोमसोममा च्याङ्ग्रा ल्याउन थालेका छन्। देशका विभिन्न ठाउँका व्यापारीहरुले जोमसोममा खरिद गरेका च्याङ्ग्रा हिँडाएर म्याग्दीको बेनीसम्म ल्याउँछन्। 

बेनी देखि ट्रकमा राखेर देशका विभिन्न बजारमा च्याङ्ग्रा लैजाने गर्छन्। मुस्ताङबाट गत वर्ष २० करोड रूपैयाँभन्दा बढी मूल्य बराबरको सात हजार च्याङ्ग्रा निकासी भएको थियो। यसपालीको दशैँतिहारका लागि १० देखि ११ हजार च्याङ्ग्रा निकासी हुने अनुमान गरिएको केन्द्रका प्रमुख अर्यालले बताए। मुगु र डोल्पाको च्याङ्ग्रा पनि मुस्ताङ हुँदै बजार पठाउने गर्छन्। 

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको च्याङ्ग्रा जोन र स्थानीय तहका पशु सेवा शाखाहरुले मुस्ताङमा च्याङ्ग्रापालन विस्तार र प्रर्वद्धनसम्बन्धी कार्यक्रममा जोड दिएका छन्। 

पीपीआर रोगविरुद्धको निःशुल्क खोप लगाउने व्यवस्था मिलाएको भेटेरीनरी अस्पतालले च्याङग्राको नश्ल सुधार गर्न स्रोत केन्द्र स्थापना गर्ने, घुम्ती गोठ सुधार र घुम्ति पशु स्वास्थ्य शिविर सञ्चालन गरेको प्रमुख अर्यालले बताए।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको च्याङ्ग्रा जोन कार्यक्रमले परम्परागत रुपमा हुँदै आएको च्याङ्ग्रापालनलाई व्यवस्थित र व्यावसायिक बनाइ गुणस्तरीय मासु, ऊन र पश्मिना उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ चार वर्षअघिदेखि लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा विभिन्न गतिविधि गर्दै आएको छ।

च्याङग्राको पाठापाठी उत्पादनका लागि स्रोत केन्द्र स्थापना गर्नुका साथै च्याङग्रालाई वन्यजन्तुको आक्रमण र हिउँद याममा चिसोबाट बचाउन खोर सुधार गर्न जोड दिइएको परियोजनाका प्रमुख नेत्र भट्टले बताए।

हिमचितुवाको आक्रमणबाट च्याङ्ग्रा मर्ने समस्या र हिउँदको समयमा आहराको व्यवस्थापन मुस्ताङको च्याङ्ग्रापालनमा चुनौतीका रुपमा देखिएको किसान तथा कृषि प्राविधिकहरुले बताएका छन्। रासस

प्रकाशित: Sep 26, 2024| 20:01 बिहीबार, असोज १०, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बदलिँदै दुर्गमको परिचय

बदलिँदै दुर्गमको परिचय

करिडोरले दुई प्रदेशका ६ जिल्लाका २० लाख बढी जनसंख्यालाई सिधा सडक सञ्जालमा जोड्दै छ। करिडोरले यी क्षेत्रको कृषिजन्य उत्पादन, पर्यटन विकास, विद्युत् उत्पादनमा समेत ठुलो...