आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

नानीसँगै स्कुल जान्छन् आमाहरु

 |  बुधबार, असोज २, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज २, २०८१

सर्लाहीको बागमती नगरपालिका–१२, बथनीयाकी ५० वर्षीया कृष्णकुमारी कुशवार केही दिनयता पढ्न जान थालेकी छन्। ६ वर्षीया नातिनी पढ्दै गरेको विद्यालयले नातिनीका लागि तपाईंले पनि पढ्नुपर्छ भनेपछि उनी पनि पढ्न जान थालेकी हुन्।

triton college

पढ्ने उमेरमा विभिन्न समस्याका कारण विद्यालय पढ्न नपाएकाले आफूले अक्षरसमेत चिन्ने मौका नपाएको कृष्णकुमारी बताउँछिन्। “आफूले नपढेर दुःख पाएँ”, उनले भनिन्, ‘‘छोराछोरी पनि पढ्न मानेनन् । उनीहरु अहिले दुःख पाउँदैछन् । नातिनातिनालाई पढाउँछु भनेको तर आफूले पनि पढ्नैपर्ने रहेछ । नातिनीलाई गृहकार्य सिकाउन जानिन्छ की भनेर पनि पढ्न सुरु गरेकी छु।”

कृष्णकुमारी जस्तै २३ वर्षीया रीता माझी पनि अचेल छोरीसँगै पढ्न जान थालेकी छन्। घरमा पढेलेखेको व्यक्ति नहुँदा छोरीलाई पढाउन समस्या भएकाले आफैले पढ्न थालेको उनले बताइन्। उमेर छँदै पढ्न नसकेकामा रीतालाई पछुतो छ। अब छोरीलाई उच्च शिक्षा पढाउने उनको रहर छ । नपढेकै कारण छोरीको गृहकार्य गराउन तथा सिकाउन नसकेको रीताको भनाइ छ । 

थोरै सिकाउने, उनीहरूले के पढिरहेका छन्, भनेर बुझ्न, उनीहरूले नजानेको कुरा सिकाउन पनि विद्यालय जान थालेको रीताले सुनाइन्। विपन्न सुकुम्बासी परिवारको बसोबास रहेको यस क्षेत्रका नागरिक अधिकांश निरक्षर छन् । कृष्णकुमारी र रीता जस्तै १५ अभिभावकलाई बागमती नगरपालिका–१२, बथनीयास्थित जनजागृति प्राथमिक विद्यालयले पढाउन सुरु गरेको हो ।

बालबालिकाको शैक्षिक गुणस्तर सुधारका लागि पहिला अभिभावक शिक्षित बनाउनुपर्ने देखिएपछि अभिभावक शिक्षा सुरु गरेको विद्यालयका प्रधानाध्यापक हेरम्भराज सुवेदीले जानकारी दिए । ‘‘निकै प्रयास गरेपछि पनि साना कक्षाका बालबालिकाको पढाइमा सुधार नभएपछि अभिभावकलाई पढाउन थालेका हौँ”,  उनले भने, ‘‘अभिभावक निरक्षर हुँदा बालबालिकाले गृहकार्य नै नगर्ने, घरमा नपढ्ने, स्कुल पनि नियमित नपठाउने भएकाले पहिला अभिभावकलाई पढाइको महत्व बुझ्ने र बालबालिकालाई गृहकार्य गराउन सक्ने बनाउन खोजेका हौँ ।’’ 

Metro Mart
vianet

बालबालिकाको पठनपाठनमा घरको वातावरण र परिवारमा पनि आमाको भूमिका महत्वपूर्ण हुन्छ । तर, यहाँ अधिकांश आमा अशिक्षित रहेकाले बालबालिकाको पठनपाठन सुधारका लागि आमालाई पढाउन सुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवित्रा माझीले बताइन्। यसपछि आमाहरुले नानीहरुसँगै बसेर पढ्ने तथा सिकाउन सक्ने अपेक्षा गरेको उनको भनाइ छ । 

विद्यालयको पहलमा सुरु भएको ‘नानीसँगै हामी’ कार्यक्रमका लागि लुम (तान) नामक गैर सरकारी संस्थाले आर्थिक सहयोग गरेको विद्यालयले जनाएको छ । विद्यालयका अनुसार सहभागी आमा(अभिभावक)हरुलाई ५० दिनसम्म अनौपचारिक शिक्षा प्रदान गरिने छ । 

यसबाट सहभागीले सामान्य लेखपढदेखि बालबालिकाको पालनपोषण, सरसफाइ लगायतको ज्ञान प्राप्त गर्नसक्ने छन् । योसँगै महिला स्वास्थ्य, शिक्षा, अधिकारलगायत विभिन्न विषयमासमेत प्रशिक्षण प्रदान गरिने छ । पहिलो चरणमा १५ अभिभावकलाई समेटे पनि पछि अन्यलाई पनि सहभागी गराउने योजना रहेको विद्यालयले जनाएको छ।   

प्रकाशित: Sep 18, 2024| 18:54 बुधबार, असोज २, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

महिला मृत्युदर घटाउन नि:शुल्क 'एचपीभी' खोप

महिला मृत्युदर घटाउन नि:शुल्क 'एचपीभी' खोप

पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको संख्या बढ्दो छ। उक्त जोखिम न्यूनीकरण गर्ने उद्देश्यले करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको...