आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सोह्र श्राद्धका १६ दिन : पितृलाई कसरी पार्ने खुसी ?

 |  बुधबार, असोज २, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज २, २०८१

प्रतिपदादेखि अमावस्यासम्म तिथिअनुसार श्राद्ध गरिन्छ । अन्तिम दिन अर्थात् औंसीका दिन विशेष महत्वको मानिन्छ किनभने यस दिनलाई सर्वपितृ मोक्ष अमावस्या पर्छ ।

triton college

पितृहरूलाई प्रसन्न पार्न उनीहरूप्रति कृतज्ञता व्यक्त गर्ने तथा हामीबाट जानअनजानमा पितृहरूको अनादर भएको छ भने उनीहरूसँग क्षमा माग्ने पर्व हो पितृ पक्ष । पितृ पक्षमा प्रत्येक तिथिका दिन मानिसहरू आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्छन् । जसलाई पूर्वजको मृत्यु तिथि थाहा हुँदैन उनीहरूले सर्वपितृ अमावस्याका दिन श्राद्ध गर्छन् ।

श्राद्ध के हो ?
श्राद्ध पक्ष हरेक वर्ष शारदीय नवरात्र प्रारम्भ हुनुअघि आउँछ । श्राद्धको सीधा अर्थ हो आफ्ना पूर्वजहरूप्रति श्रद्धा । शास्त्रले भनेको छ– ‘श्रद्धया इदम् श्राद्धम्’ अर्थात् पितृहरूका निमित्त श्रद्धापूर्वक गरिने कर्म नै श्राद्ध हो ।

श्राद्ध पक्षका क्रममा आफ्ना परिवारका ती मृत सदस्यहरूलाई याद गरिन्छ, उनीहरूप्रति सम्मान प्रकट गरिन्छ, श्रद्धान्जलि दिइन्छ । श्राद्धका क्रममा पूर्वजहरूलाई जौ, तील, कुश, पानी तथा पञ्चामृतको तर्पण दिइन्छ । तर्पण गर्नुको उद्देश्य आफ्ना पूर्वजहरूको आत्मालाई उनीहरू आज पनि हाम्रो परिवारको हिस्सा हुन्, आजसम्म पनि हाम्रो स्मृतिमा जीवित छन् र हामी आफूप्रति उनीहरूको आशीर्वादका साथै उनीहरूको प्रसन्नताको कामना गर्छौं भन्ने भाव दर्शाउनु हुन्छ ।

सनातन मान्यताअनुसार श्राद्ध पक्षमा सम्पूर्ण पूर्वजहरूको आत्मा आफ्ना परिवारजनको प्रसन्नता जान्नका लागि जागृत हुन्छ । यसकारण यो समयमा गरिने तर्पणबाट उनीहरू सीधै हाम्रो श्रद्धारूपी भावना एवम् उपहार स्वीकार गर्छन् र खुसीपूर्वक आशीर्वाद प्रदान गर्छन्, जसबाट हाम्रो जीवन उन्नति मार्गमा अघि बढ्छ ।

Metro Mart
vianet

कुन दिन कसको श्राद्ध ?
श्राद्ध पक्षका १६ दिन अलग अलग व्यक्तिको श्राद्ध सुनिश्चित गरिएको छ । विशेष गरी बाबु वा हजुरबुबाको मृत्यु तिथि पारेर श्राद्ध गर्ने चलन छ । यसमा सामान्यतः आफ्नो कुलका तीन पुस्ता अर्थात् बुबा, हजुरबुबा र बूढो हजुरबुबा तथा मावलीतर्फ तीन पुस्ता अर्थात् मावली हजुरबा, बूढो हजुरबा र कुप्रो हजुरबालाई पत्नीसहित पिण्ड प्रदान गरिन्छ । तर्पण भने शास्त्रले निर्देश गरेबमोजिम सबै पितृलाई दिइन्छ ।

श्राद्ध विधान
श्राद्ध पक्ष वा पितृपक्षका १६ दिनमा ‘पितृ आराधना’ का क्रममा श्राद्ध र तर्पणादि कर्म गरिन्छ ।

श्राद्ध पक्षमा पितृगणका निमित्त तर्पण एवं ब्राह्मण भोजन गराउने विधान छ । शास्त्रले ‘पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवताः’ अर्थात् देवता भावले प्रसन्न हुन्छन् भने पितृगण शुद्ध र उचित विधिबाट गरिएको श्राद्ध कर्मबाट प्रसन्न हुन्छन् भनेको छ । यो १६ दिन तर्पण एवं ब्राह्मण भोजन गराउनाले पितृ तृप्त हुन्छन् ।

मार्कण्डेय पुराणका अनुसार श्राद्ध पक्षका सबै दिन ‘पितृ स्तुति’ वा पितृ सूक्त पाठ गरे पितृ प्रसन्न भएर आशीर्वाद प्रदान गर्छन् । श्राद्ध पक्षमा ‘कुतप’ कालमा नित्य तर्पण गर्नुपर्छ ।

पितृलाई तर्पण पितृ तीर्थ अर्थात् चोरी र बूढी औंलोको बीचबाट गर्नु पर्छ । श्राद्ध कर्म अनिवार्य हो तर त्योभन्दा महत्वपूर्ण जीवित अवस्थाका मातापिताको सेवा गर्नु हो । जसले जीवित अवस्थामै मातापतालाई सेवाले सन्तुष्ट पारेको छ उसलाई सदैव पितृहरूको आशीर्वाद प्राप्त हुन्छ ।
शास्त्रले भनेको छ– ‘वित्तं शाठ्यं न समाचरेत’ अर्थात् श्राद्धमा कन्जुसी गर्नु हुँदैन, आफ्ना सामर्थ्ययबाट केही बढेर नै श्राद्ध कर्म गर्नुपर्छ ।

किन यही १६ दिन त ?
पितृपक्ष भाद्र पूर्णिमादेखि आश्विन अमावस्यासम्म १६ दिनको हुन्छ । धर्मशास्त्रहरूका अनुसार प्रत्येकको मृत्यु यी १६ तिथि बाहेक अन्य दिन नहुने हुनाले श्राद्ध पक्ष पनि १६ दिनकै हुन्छ ।

यही समयमा श्राद्ध हुनुको एक मनौवैज्ञानिक पक्ष के छ भने यो अवधिमा हामी आफ्ना पितृहरू समक्ष श्रद्धा भाव पठाउँछौँ । यो पक्ष वर्षाकाल सकिए लगत्तै आउने हुँदा आकाश निर्मल हुन्छ, जसका कारण हाम्रो संवेदना एवं प्रार्थना आवागमन हुनका लागि मार्ग सुलभ हुन्छ ।

ज्योतिष र धर्मशास्त्रको भनाइमा पितृहरूका लागि यो समय किन पनि श्रेष्ठ मानिएको हो भने यो समय सूर्य कन्या राशिमा रहन्छ जुन ज्योतिष गणनाले हेर्दा पितृहरूको अनुकूल हुन्छ ।

यो पक्षमा पनि केही विशेष दिन छन् । सौभाग्यवती स्त्रीको मृत्यु भएमा उनको श्राद्ध नवमी तिथिमा गर्नु पर्छ । यो तिथिलाई अविधवा नवमी मानिएको छ । पूर्वीय दर्शनमा नौको संख्या शुभ मानिन्छ ।

सन्यासीहरूको श्राद्ध तिथि द्वादशीलाई मानिन्छ । हातहतियारद्वारा मारिएका मानिसको तिथि चतुर्दशी मानिएको छ ।

हरेक तिथिको फरक महत्व
जसले पूर्णिमाका दिन श्राद्ध गर्छ उसको बुद्धि, पुष्टि, स्मरणशक्ति, धारणाशक्ति, पुत्रपौत्रादि एवं ऐश्वर्य वृद्धि हुन्छ । साथै उसले यो पर्वको पूर्ण फल भोग गर्न पाउँछ ।

प्रतिपदा धनसम्पत्तिका लागि निर्दिष्ट छ, यो दिन श्राद्ध गर्नेवालाको प्राप्त वस्तु नष्ट हुँदैन ।

द्वितीयाको दिन श्राद्ध गर्ने व्यक्ति राजा समान हुन्छ ।

उत्तम अर्थको प्राप्ति तथा शत्रु र पाप नाशको चाहना गर्नेले तृतीयाको दिन श्राद्ध गर्नुपर्छ ।

पञ्चमी तिथिका दिन श्राद्ध गर्दा उत्तम लक्ष्मी प्राप्ति हुन्छ ।

षष्ठी तिथिका दिन श्राद्ध कर्म सम्पन्न गर्ने व्यक्ति देवताद्वारा पुजिन योग्य हुन्छ ।

सप्तमी तिथिका दिन श्राद्ध गर्नेलाई महान यज्ञको पुण्यफल प्राप्त हुन्छ भने ऊ गणको स्वामी बन्न सक्छ ।

अष्टमीका दिन श्राद्ध गर्ने व्यक्तिले सम्पूर्ण समृद्धि प्राप्त गर्छ ।

नवमी तिथिमा श्राद्ध गर्नेले प्रचुर ऐश्वर्य एवं मन अनुकूलकी श्रीमती प्राप्त गर्छ ।

दशमी तिथिमा श्राद्ध गर्ने मानिसले ब्रह्मत्व लक्ष्मी प्राप्त गर्छ ।

एकादशीका दिन गरिने श्राद्ध सर्वश्रेष्ठ दान हो । यसबाट समस्त वेदको ज्ञान प्राप्त हुनुका साथै कर्ताको सम्पूर्ण पापकर्म विनाश हुन्छ र निरन्तर ऐश्वर्य प्राप्ति हुन्छ ।

द्वादशी तिथिमा श्राद्ध गर्दा राष्ट्र कल्याण तथा प्रचुर अन्न प्राप्ति हुने कुरा बताएको छ ।

त्रयोदशीका दिन गरिने श्राद्धबाट सन्तति, बुद्धि, धारणाशक्ति, स्वतन्त्रता, उत्तम पुष्टि, दीर्घायु तथा ऐश्वर्य प्राप्ति हुन्छ ।

श्राद्ध पक्षमा कसरी पुग्छ पितृहरूको भोजन ?
पुराणहरूका अनुसार यमलोक मृत्युलोकको माथि दक्षिणतर्फ ८६००० योजनको दूरीमा मानिएको छ । एक लाख योजनमा फैलिएको यमपुरी वा पितृलोकको उल्लेख गरूड पुराण र कठोपनिषदमा पाइन्छ ।

भनिन्छ, शरीर मरेपछि आत्माहरू पितृलोकमा १ देखि १०० वर्षसम्म मृत्यु एवं पुनर्जन्मको मध्य स्थितिमा रहन्छन् । पितृहरूको निवास चन्द्रमाको उध्र्व (माथिल्लो) भाग मानिएको छ ।

कसरी आउँछन् पितृ ?
सूर्यका सहस्र किरणहरूमध्ये जो सबभन्दा प्रमुख छ त्यसको नाम ‘अर्यमा’ हो । उक्त अर्यमा नामक प्रधान किरणको तेजबाट सूर्यले त्रैलोक्य प्रकाशमान तुल्याउँछ । सोही अर्यमा तिथि विशेषको वस्य अर्थात् चन्द्रमाको भ्रमण हुन्छ तब उक्त किरणको माध्यमबाट चन्द्रमाको उध्र्व भागदेखि पितृहरू धरतीमा आउँछन् ।

यसै कारण श्राद्ध पक्षमा अमावस्या तिथिको ठूलो महत्व छ । अमावस्यासँगै मन्वादि तिथि, संक्रान्तिकाल, व्यतिपात, गजच्छाया, चन्द्रग्रहण तथा सूर्यग्रहण यी समस्त तिथिवारमा पनि पितृहरूको तृप्तिका लागि श्राद्ध गर्न सकिन्छ ।

पितृहरूसम्म भोजन कसरी पुग्छ ?
जसरी पशुहरूको भोजन झारपात, बोटबिरुवा र मानिसको भोजन अन्नलाई मानिन्छ त्यसरी नै देवता र पितृहरूको भोजन अन्नको सार तत्वलाई मानिन्छ । सार तत्व अर्थात् गन्ध, रस र ऊष्मा ।

देवता र पितृ गन्ध तथा रस तत्वबाट तृप्त हुन्छन् । यद्यपि दुवैका लागि अलग अलग प्रकारका गन्ध एवं रस तत्त्वको निर्माण गरिन्छ। विशेष वैदिक मन्त्रद्वारा विशेष प्रकारका गन्ध र रस तत्व नै पितृसम्म पुग्छ ।

धुपौरोमा घिउ तथा धूपीको धूप हालेर गन्ध निर्मित गरिन्छ । त्यसै गरी विशेष अन्न अर्पित गरिन्छ । तिल, अक्षता, कुश र जलका साथ तर्पण तथा पिण्डदान गरिन्छ ।

देव तीर्थ अर्थात् माझी औँलाबाट देवता वा विश्वेदेव, मनुष्य तीर्थ अर्थात् कान्छी औँलाबाट दिव्य मनुष्य तथा पितृ तीर्थ अर्थात् बूढी औँलाबाट पितृहरूलाई जल अर्पण गरिन्छ ।

पितृ तथा देव योनिकाहरू निकै टाढाका कुरा सुन्दछन्, कतै टाढा गरिएको पूजा, अन्न पनि ग्रहण गर्छन् भने स्तुतिबाट सन्तुष्ट पनि हुन्छन् । यसबाहेक यी भूत, भविष्य र वर्तमानका कुरा जान्दछन् र सर्वत्र पुग्न सक्छन् ।

मृत्युलोकमा गरिएको श्राद्धले तिनै मानव पितृहरूलाई तृप्त पार्छ, जो पितृलोकको यात्रामा छन् । उनीहरू तृप्त भएर श्राद्धकर्ताका पूर्वजहरू जहाँ र जुन स्थितिमा भए पनि गएर तृप्त पार्छन् ।

यसकारण श्राद्धपक्षमा पितृहरूलाई पिण्डदान र तर्पण गरेर आफन्त एवं बन्धुवर्गादिलाई भोजन गराउनु पर्छ । श्राद्ध ग्रहण गर्ने नित्य पितृले श्राद्धकर्ताहरूलाई श्रेष्ठ वरदान दिन्छन् ।

१६ दिन शुभ कार्य हुँदैन 
श्राद्धपक्षको सम्बन्ध मृत्युसँग छ यसकारण यो अवधिलाई अशुभ काल मानिन्छ । जसरी हामी परिजनको मृत्युपश्चात शोकाकुल अवधिमा रहन्छौँ र आफ्नाअन्य शुभ, नियमित, मंगल, व्यावसायिक कार्यलाई विराम दिन्छौँ, त्यही भाव पितृपक्षसँग जोडिएको छ ।

यो १६ दिनको अवधिमा हामी पितृसँग र पितृ हामीसँग जोडिएका हुन्छन् । अतः अन्य शुभमांगलिक कार्य नगरेर हामी पितृहरूप्रति पूरा सम्मान र एकाग्रता बनाइराख्छौँ ।

श्राद्धमा गाई, कुकुर र कागको महत्व
श्राद्ध पक्षमा पितृ, ब्राह्मण र आफन्तका अतिरिक्त पितृका निमित्त गाई, कुकुर र कागका लागि खानेकुरा छुट्याउने परम्परा छ ।
गाईको शरीरमा देवताहरूको वास हुने भएकाले गाईको महत्व छ ।

कुकुर र काग पितृका वाहक हुन् । पितृपक्ष अशुभ हुने भएका कारण जुठो खानेहरूलाई ग्रास (गाँस) छुट्याउने विधान छ ।

कुकुर र कागमा एक भूमिचर हो भने अर्को आकाशचर । दुवै गृहस्थहरूको नजिक र सबैतिर पाइन्छ ।

कुकुरले नजिक रहेर सुरक्षा प्रदान गर्छ र यो निष्ठावान पनि हुन्छ तसर्थ यसलाई पितृको प्रतीक मानिन्छ ।

काग गृहस्थ र पितृका बीच श्राद्धमा दिइएको पिण्ड र जलको वाहक मानिन्छ ।

श्राद्धको दिन पितृ प्रार्थना
पितृहरूको ऋण चुकाउन एक जन्ममा त सम्भव नै छैन तसर्थ उनीहरूले संसार छोडेर गैसकेपछि पनि श्राद्ध गरेर उनीहरूको ऋण चुकाउने परम्परा छ । श्राद्ध गरेर हामीले जे कुरा दिने संकल्प लिन्छौँ त्यो हाम्रा पूर्वजहरूलाई अवश्य प्राप्त हुन्छ ।

यसकारण ‘हे प्रभु ! मैले आफ्ना हात तपाईंका अघिल्तिर फैलाइदिएको छु, म आफ्ना पितृहरूको मुक्तिका लागि तपाईंसँग प्रार्थना गर्दछु, मेरा पितृहरू मेरो श्रद्धा भक्तिबाट सन्तुष्ट होऊन् ।’ भनेर प्रार्थना गर्दा पितृ ऋणबाट मुक्ति मिल्छ ।

श्राद्धका प्रमुख प्रकार
नित्य : यो श्राद्धका दिन मृतकको निधन तिथिमा गरिन्छ ।

नैमित्तिक : कुनै विशेष पारिवारिक उत्सव पुत्रजन्म, विवाह आदिमा मृतकलाई याद गर्न गरिन्छ। यसलाई नान्दिमुख श्राद्ध भनिन्छ।

काम्य : यो श्राद्ध कुनै विशेष कामना पूरा गर्न कृत्तिका या रोहिणी नक्षत्रमा गरिन्छ ।

कसले गर्ने श्राद्ध ?
आफ्नो परिवारको कल्याणका लागि पितृहरूलाई श्रद्धापूर्वक तर्पण गर्नुपर्छ । उनीहरूलाई सम्मानपूर्वक तर्पण प्राप्त भयो भने गृहस्थ वंशजलाई सुखसमृद्धिको आशीर्वाद दिन्छन् तर उनीहरूलाई केही प्राप्त भएँ भने उनीहरू निराश भई श्राप दिएर फर्कन्छन् ।

शास्त्रका अनुसार श्राद्धका अधिकारी छोरा हुन्छन् । छोरा नभए श्रीमतीले श्राद्ध गर्न सक्छन् । श्रीमती पनि नभए सहोदर दाजुभाइले गर्न सक्छन् । एकभन्दा बढी छोरा भए जेठो छोरो श्राद्धको अधिकारी हुन्छ । छोरीको श्रीमान् वा छोरो पनि श्राद्धको अधिकारी हुन्छ । छोरा नभए नाति वा पनातिले पनि श्राद्ध गर्न सक्छन् ।

छोरा, नाति वा पनाति नभए एकल महिलाले श्राद्ध गर्न सक्छिन् । श्रीमतीको श्राद्ध श्रीमानले छोरा छैन भने मात्र गर्न मिल्छ । छोरा, नाति, पनाति वा छोरीको छोरो नभए भतीजाले पनि श्राद्ध गर्न सक्छ । धर्मपुत्रलाई पनि श्राद्धको अधिकारी मानिएको छ ।

को हुन् हाम्रा दिव्य पितर ?
धर्मशास्त्रका अनुसार पितृहरूको निवास चन्द्रमाको उर्ध्व भागमा छ । उक्त पितृलोकमा श्रेष्ठ पितरहरूको न्यायदात्री समिति छ ।
यमराजको गणना पितृमा हुन्छ । पितृहरूका गणको चार प्रमुख हुन्– कव्यवाडनल, सोम, अर्यमा र यम । अर्यमालाई पितृहरूको प्रधान मानिएको छ भने यमराजलाई न्यायाधीश ।

यी चार बाहेक प्रत्येक वर्गका तर्फबाट सुनुवाइ गर्ने अग्निष्व, देवताका सोमसद वा सोमपा तथा गन्धर्व, राक्षस, किन्नर सुपर्ण, सर्प तथा यक्षहरूका प्रतिनिधि बर्हिष्पद छन् । यी सबै मिलेर गठित जुन जमात छ त्यही पितर हुन् । जो मृत्युपछि न्याय गर्छन् ।

पितृलोकमा श्रेष्ठ पितरहरूलाई न्यायदात्री समिति सदस्य मानिन्छ । पुराण अनुसार मुख्यतः पितरहरूलाई दुई श्रेणीमा राख्न सकिन्छ – दिव्य पितर र मनुष्य पितर । दिव्य पितर त्यस जमातको नाम हो जसले जीवधारीहरूलाई उनीहरूको कर्म हेरेर मृत्युपछि कस्तो गति दिने हो त्यसको निर्णय गर्छन् । यो जमातका प्रधान यमराज हुन् ।

दिव्य पितरको जमातका सदस्यगण नौ दिव्य पितर छन् । ती हुन्– अग्निष्वात्त, बर्हिष्पद, आज्यप, सोमपा, रश्मिप, उपदूत, आयन्तुन, श्राद्धभुक र नान्दीमुख । आदित्य, वसु, रुद्र तथा दुई अश्विनीकुमार पनि केवल नान्दीमुख पितरलाई छोडेर बाँकी सबैलाई तृप्त गर्छन् ।

तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित: Sep 18, 2024| 09:30 बुधबार, असोज २, २०८१
प्रतिक्रिया दिनुहोस्