घरमा रेडियो बजिरहन्थ्यो। रेडियोमा समाचार र कार्यक्रमका साथै विज्ञापन पनि बज्थे। त्यस्ता विज्ञापनमध्ये परिवार नियोजनका साधनको विज्ञापन पनि हुन्थ्यो।
कण्डमको विज्ञापन गीति शैलीको थियो। धेरैको मुखमा झुण्डिएको। मैले मेरै दादादिदीले पनि त्यो विज्ञापन गुनगुनाएको सुनेकी थिएँ। एक दिन रेडियोमा यही विज्ञापन बजिरहेका बेला मैले मेरी माइली दिदीलाई सोधिहालेँ– दिदी यो कण्डम भनेको के हो ?
म सात-आठ वर्षकी हुदी हुँ। घरमा पुरानो रेडियो थियो। त्यसको केही पछि बाबाले घरमा सादा टीभी ल्याउनुभयो। टीभीमा पनि कण्डमसम्बन्धी त्यस्तै कार्टुनवाला विज्ञापन बज्थ्यो। रेडियो र टिभीमा २–३ वटा कण्डमको विज्ञापन सुन्दा र हेर्दा मेरो बालमष्तिस्कमा त्यसबारे जान्ने उत्सुकता जाग्यो।
त्यसदिन घरमा पाहुना आएका थिए। घरकी जेठीबाठी दिदी भान्सामा ब्यस्त भएकाले माइली दिदी पाहुनाको रुपमा आएका ठूलीआमाका दुई जना छोरासँग कुराकानी गर्न ब्यस्त थिइन्। त्यसैले पनि मेरो प्रश्नप्रति ध्यान नपुगेको हुनसक्छ भन्ने लागेर पुनः २–३ पटक दोहोर्याएर सोधेँ।
दिदी कण्डम भनेको के हो ? दिदीले मलाई दुईटै आँखाको आकार बढाएर डरलाग्दो गरी हेर्दै कुहिनाले पछाडि धकेलिन्। मैले यसको केही भेउ पाउन सकिनँ। म पनि कम जिद्दी थिइनँ। मलाई कण्डम के हो नजानी भएको थिएन।
अलि कडै आवाजमा सोधिहालेँ ‘दिदी तँलाई पनि थाहा छैन, कण्डम भनेको के हो ?’ यो पटक भने पाहुना आएका दुवै दाईहरु मुखामुख गरेर हाँसे। मेरो जिद्दीपन देखेर दिदीले एक हातले तानेर भित्र लगिन् र कस्सेर एक झापड हान्दै थर्काइन्– ‘छाडा भाकी ? त्यस्तो कुरा पनि मान्छेका अगाडि सोध्छेस् ? लाज सरम केही छैन?’
दिदीको आक्रामक शैलि देखेर म आत्तिएँ। म बेस्सरी रोइदिएँ। दिदीको आक्रामक शैली र झापडको कारण के थियो भन्ने मैले भेउ पनि पाउन सकिनँ। दिदीले ‘छाडा भाकी’ भनेर प्रयोग गरेको शब्दले यति त बुझेँ कि मेरो प्रश्न सही थिएन। दिदीले हानेको झापड भन्दा पनि मैले नराम्रो प्रश्न गरेर दिदीलाई लज्जित बनाएँछु भन्ने कुराले दुखायो।
त्यो बैनीलाई किन रुवाइस् हँ ? मेरो रुवाइ झन् झन् बढ्दै गएपछि भान्साबाट जेठी दिदीले कराइन्। सोध न उसैलाई किन रोइ ? माइली दिदीले उल्टै मलाई गाली गर्दै झर्किलो स्वरमा भनिन्।
रोइरहँदा मैले सोचेकी थिएँ, माइली दिदी उसको रिस शान्त भएपछि मेरो छेउमा आउँछिन्, मसँग माफी माग्दै मलाई फकाउँछिन्, त्यति नभए पनि मेरो प्रश्न कसरी गलत भयो भनेर सम्झाउँछिन्। तर परिस्थिती उल्टो बन्यो। दिदीको रिस लामै समयसम्म उस्तै रह्यो। म रोइरहेको कोठाबाट मलाई आँखा तर्दै बाहिरपट्टि भान्छामा पसेर खै जेठी दिदीसँग गुनगुन गर्दै केही सुनाइन्। केटाकेटी त्यस्तै हुन् कुटिहाल्नुपर्छ त ? जेठी दिदीले त्यति भनेको मात्र सुनेँ।
‘केटाकेटी त्यस्तै हुन्, कुटिहाल्नु पर्छ त ? अब भने म पक्का भइसकेकी थिएँ कि मेरो प्रश्न सही थिएन। जेठी दिदीको पनि भनाइ त्यस्तै देखियो की मेरो प्रश्न गलत थियो। केटाकेटीले, के के सोध्छन् सोध्छन्। त्यो घटना त्यतिकै सेलायो। दिदीहरुले मलाई कण्डमको बारेमा केही बताएनन्। बिर्सिएकी भन्ने सोच्ने आधार पातलो थियो। किनकी रेडियो टीभीमा उक्त विज्ञापन दिनहुँ धेरैपटक बजिरहेकै हुन्थ्यो।
त्यो घटनाले मेरो जीवनमा नजानिँदो पाराले धेरै नै परिवर्तन ल्यायो। साना साना विषयमा प्रश्न गरिहाल्ने मेरो स्वाभाव बिस्तारै प्रश्न सोध्न डराउन थाल्यो। ‘कण्डम काण्ड’ एक उदाहणीय घटना हो मेरो लागि। यस्ता कैयौं घटना मैले भोगेकी छु। कस्तो प्रश्न सोध्ने कस्तो प्रश्न नसोध्ने भन्ने विषयमा नै सोच्न बाध्य बनायो।
कक्षाकोठामा सरहरुलाई सोध्ने प्रश्नमा १० पटक आफैंप्रति प्रश्न गर्न थालेँ। साथीहरुले गर्ने ब्यवहारमा चित्त नबुझे आफैं पो गलत हो की भनेर आफैंप्रति अबिश्वासको वातावरण बन्न थाल्यो। ममा बिस्तारै आत्मविश्वासको कमी देखिन थाल्यो। समयसँगै बिस्तारै सबै कुरा बुझ्दै गए पनि त्यो बेलामा मलाई कसैले मेरो प्रश्न त्यहाँ सोधिनु किन ठीक थिएन भन्नेसम्म मात्र बुझाइदिएको भए पनि सायद ममा भएको आत्मबिश्वासमा कमी आउने थिएन होला।
त्यसैले आज म सोच्छु, प्रश्न कहिलै ‘स्टुपिड’ हुँदैन भनेर बालबालिकालाई सिकाइरहँदा उनीहरुले गर्ने हरेक प्रश्नको जवाफ दिन हामी तयार छौं त ? के बच्चाले आफ्ना जिज्ञासा खुलेर राख्ने अवसर पाइरहेका छन् त ? के हामीले उनीहरुको सिकाइ र बुझाइ क्षमताको कहिल्यै मापन गर्न खोजेका छौं त ?
यो प्रश्नले मलाई हिजोआज नराम्रोसँग पिरोल्छ। मेरी छोरीले मलाई केही प्रश्न गरिन् भने त्यही बेला उनको जिज्ञासा मेटाइदिन मन लाग्छ ताकि उसलाई प्रश्न सोध्न र त्यसको जवाफ खोज्न सधैं उत्प्रेरणा जागोस्। यदि तत्काल मसँग जवाफ नभए त्यसको खोजी गरेर उनको कौतुहल मेटाउन मैले कोशिश गर्नैपर्छ।
कुनै दिन मेरो ७ वर्षिय छोरीले मामु बलात्कार भनेको के हो भनेर प्रश्न गर्दा म के जवाफ दिने भनेर असामञ्जस्यमा परेको थिएँ। तर मलाई छोरीको कौतुहलता त मेटाउनु थियो। तर कसरी ? ठ्याक्कै यसलाई बलात्कार भन्छ भनेर कसरी बुझाउने ७ बर्षीय छोरीलाई ? छोरीको प्रश्न मेरो कल्पनाबाहिरको कुरा थियो।
छोरी, यदि कसैले तिम्रो इच्छाबिपरित शरीरका गोप्य अंगमा छोयो, नराम्रो शब्दहरु बोलेर गाली गर्यो भने त्यस्तो ब्यवहारलाई बलात्कार गर्न खोजेको भनिन्छ, यदि कसैले त्यस्तो ब्यवहार गर्यो भने तुरुन्त स्कुलको प्रशासन या त घरमा मामु पापालाई बताइहाल्नुपर्छ है भनेर सम्झाएँ।
मैले दिएको जवाफले सायद उनको कौतुहलता मेटिएछ क्यारे, उनले थप जिज्ञासा राखिनन्। बरु आफूलाई कसैले गलत ब्यवहार गरे यसरी बिरोध गर्छु भनेर हात घुमाएर देखाइन्। आफूले सानोमा कराँते सिकेको पनि सम्झाइन्।
हुन त मेरो र छोरीको प्रश्नको प्रकृति फरक छन्। मैले उसबेला सोधेको बिषय कण्डम र बलात्कार जस्तो अति संबेदनशिल विषयलाई एकै ठाउँमा राखेर तुलना गर्न त मिल्दैन तर यहाँ बिषय सोधिने प्रश्नको प्रकृतिभन्दा पनि मेरो बाल्यकालको समाज र अहिले मेरी छोरी उभिएको अहिलेको समाजबीचको परिवर्तन कति छ त ? मैले तुलना मात्र गर्न खोजेकी हुँ।
प्रजनन् स्वास्थ्य या यौन सम्बन्धि विज्ञापन बज्दा होस् या कुनै कार्यक्रम आइरहँदा २० बर्षअघि पनि टेलिभिजनको च्यानल नै परिवर्तन गरिन्थ्यो, आज पनि धेरै परिवारमा झण्डै उस्तै ब्यवहार छ।
मनोपरामर्शदाताहरु यौनको बारेमा मात्र होइन प्रजनन् स्वास्थ्यका बिषयमा पनि आफ्ना बालबालिकासँग खुलेर छलफल गर्न लजाउने, यदि प्रश्न गरिहाले पनि गलत जवाफ दिने अभिभावकको शैली प्रत्युत्पादक हुने गरेका कारण समाजमा अझै पनि यौनको बिषयमा छलफल गर्न अपराधको बिषयझैं मान्ने गरेको बताउँछन्।
यदि उनीहरुले खोजेको समयमा राम्रो परामर्श पाएनन् भने बालबालिका यौन तथा प्रजनन् स्वास्थ्य भनेको खराब कुरा हो भनेर सोच्न थाल्ने भएकाले उनीहरुले जिज्ञाशा राखेकै समयमा सकारात्मक तरिकाले जवाफ दिनुपर्ने मनोपरामर्शदाता अर्चना रिमाल बताउँछिन्।
‘समयसँगै यौन तथा प्रजनन् स्वास्थ्यका बिषयमा उनीहरुको मनमा आएका कौतुहलको सही ज्ञान उनीहरुले पाएनन् भने यौनसम्बन्धी कुराहरू लुकाउनुपर्ने रहेछ भन्ने सन्देश उनीहरूमा जान्छ,’ उनि भन्छिन् ‘यौनांगलाई छोप्नुपर्छ तर यौनांगका बारेका कौतूहल छोप्न जरुरी छैन। यसलाई लाज र घृणाको विषय बनाउनु हुँदैन।’
बालबालिकालाई उनीहरूका यस्ता प्रश्नको जवाफ कुशलतापूर्वक दिनुपर्ने उनी बताउँछन्। ‘अभिभावकलाई सबै प्रश्नको जवाफ थाहा हुन्छ भन्ने छैन,’ उनी भन्छिन्, ‘बिजनेस पढेको अभिभावकले बायोलोजीबारे राम्रोसँग बुझाउन नसक्ने हुन्छ। अभिभावकले आफूलाई सबै कुरा थाहा छ जस्तो गर्नु जरुरी छैन।’
बाल मनोचिकित्सकका अनुसार बालबालिकाको विकास तीन चरणमा हुने गर्छ। छ वर्षभन्दा मुनिको उमेरलाई पूर्व बाल्यावस्था भनिन्छ। त्यसदेखि १२ वर्षसम्म बाल्यावस्था र त्यसदेखि १९ वर्षसम्मको उमेर किशोरावस्था। यी भिन्नभिन्न अवस्थामा उनीहरूको शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक, विकास पनि एकनास हुँदैन। कुनै पनि विषयप्रति खुल्दुली बढ्नु, कौतूहलले घर गर्नु बाल्यावस्थाका सामान्य लक्षण हुन्। तर, अभिभावक र कतिपय सन्दर्भमा शिक्षालयलाई समेत बालबालिकाका यिनै सामान्य लक्षणले असामान्य टाउको दुखाइरहेका हुन्छन्।
छ वर्षभन्दा मुनिका बालबालिकाको बौद्धिक विकास ठोस रुपले भइसकेको हुँदैन। जसले गर्दा उनीहरूलाई कुनै पनि कुराको कारण र प्रभावबारे खासै जानकारी हुँदैन। परिवारसम्बन्धी अवधारणा नै उनीहरूले बुझेका हुँदैनन्। जसले उनीहरूलाई माया गर्छन्, खानेकुरा खान दिन्छन् त्यो नै उनीहरूको परिवार हुन्छ।
महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरका समाजशात्र बिभागका प्रमुख प्रा. चन्द्र तिम्सिना यो उमेरका बालबालिकाले यस्तो प्रश्न गरेमा प्रजनन् प्रक्रियाबारे सबै बताउनु जरुरी नभएको बताउँछन्। ‘छ वर्षमुनिका बालबालिकाले त्यो बुझ्दा पनि बुझ्दैनन्,’ उनी भन्छन्, ‘उनीहरू कल्पनामा रमाउने खालका हुन्छन्। त्यो उमेरमा वैज्ञानिक जवाफ दिएर काम छैन। गलत सूचना नजाने गरी सिर्जनात्मक भएर जवाफ दिनुपर्छ।’
उनीहरूलाई स्टोरी बुकको माध्यमबाट यौनका कुरा सिकाउन सकिने उनी बताउँछन्। ‘अभिभावकले सबै प्रश्नको उत्तर दिनैपर्छ भनेर प्रेसर अनुभव गर्नु हुँदैन,’ उनी भन्छन्, ‘उमेरअनुसार अन्तरक्रिया गर्नुपर्छ। प्रेसर लिन थालियो भने गलत जवाफ जान सक्छ। जवाफ थाहा नहुँदा ‘म हेरेर, पढेर वा सोधेर भन्छु’ भन्न सकिन्छ। गलत जवाफ दिनुभन्दा जवाफ नदिनु राम्रो उपाय हो।’
बालबालिकालाई उनीहरूको यौन भावना प्रकट गर्नबाट रोक्नु नहुने बरु प्रकट गर्न प्रेरित गर्नुपर्ने उनी बताउँछन्। उनी बालबालिकालाई यौनसम्बन्धी उनीहरूका जिज्ञासालाई सामान्य मानेर उनीहरूलाई सही तरिकाले यौनजन्य बिषयका उठेका कौतुहलतालाई मेटाउन कोशिष गर्नुपर्नेमा जोड दिन्छन्। 'यस्ता बिषयमा सबैभन्दा बढी बालबालिकाको नजिक रहेका अभिभावक सचेत हुनु जरुरी छ,' समाजशास्त्री प्रा. तिम्सिना भन्छन्, ‘यौन शिक्षाबारे खुला छलफल र कुराकानी गर्ने आमाबाबु–अभिभावकबाट बालबालिकाले आफ्नो जिज्ञासाको जवाफ पाउन सक्छन्। त्यसैले बालबालिकाका यस्ता जिज्ञासाहरूमा कुनै अप्ठ्यारो नमानी सजिलो तरिकाले तत्कालै बुझाउने बानी गर्नु राम्रो हुन्छ, उचित जवाफ पाएपछि उनीहरूले चित्त बुझाउँछन्।’
जहाँ प्रश्न छ, त्यहाँ अवश्य उत्तरको पनि जन्म भएकै हुन्छ। खाली खोज्न सक्नुपर्छ। जतिबेला प्रश्न उठ्छ, सकिन्छ तत्काल जवाफ भेटिनुपर्छ, नभए खोज गरेर त्यसको पनि प्रश्नको प्रतिउत्तर दिनुपर्छ भन्ने धाारणा मेरो अहिले नभएर पहिलेदेखिकै हो। तर कतिपय प्रश्नको जवाफ आफूसँग हुँदा पनि त्यसलाई कुन तरिकाबाट जवाफ दिने भन्ने परिस्थिती पनि आउने रहेछ।
बालबालिका जुनसुकै बेला जस्तोसुकै बिषयमा जान्न उत्सुक हुन्छन्। सही समयमा उनीहरुको उत्सुकतालाई मेटाउन सकेको खण्डमा उनीहरुमा नयाँ कुराको बारेमा जानकारी लिने, जान्न खोज्ने बानीको बिकास पनि हुन्छ। बालबालिका परिवर्तनका सम्वाहक हुन्। आज हामीले दिएको संस्कारले के भोलि उनीहरुले निर्माण गर्ने बिकासका पुलहरुमा एक दह्रो इँटा थप्ने काम गर्ने गर्छ। त्यसैले बालबालिकाको उमेरअनुसार उनीहरुमा उब्जिएका यौनका बिषयमा होस् या जुनसुकै बिषयका जिज्ञासा सरल र सहज तरिकाबाट मेटाउने कोषिश गर्नुपर्छ।
यौवन अवस्थामा प्रवेश गर्दै गरेको उमेरमा यसबारे बुझाउन सक्दा दुर्व्यवहारमा पर्ने सम्भावनाबाट पनि बचाउन सकिने मनोपरामर्शदाता बताउँछन्। यौनका बारेमा जानकारी दिनु भनेको सम्भाव्य नकारात्मक परिणामबारे सचेत गराउनु पनि हो। यसकारण यौनका बारेमा असल व्यवहारतर्फ प्रेरित गर्नुपर्छ। दुर्व्यवहार भनेको के हो र यसबाट कसरी बच्ने भन्ने कुरा पनि जानकारी गराउनुपर्छ। आफूमाथि कुनै दुर्व्यवहार भएको छ भन्ने लागेमा आमाबाबु–अभिभावकलाई भन्न सक्ने आँट र भरोसा पनि दिनुपर्छ।