मंगलबार, पुस १, २०८२

सुस्तामा बल्ल पुग्यो राष्ट्रिय बिजुली

 |  आइतबार, भदौ ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३०, २०८१

काठमाडौं- नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्तामा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ।

National life

नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका-५ स्थित सकरदिनयीबाट करिब पाँच किलोमिटर ११ केभी लाइन निर्माण गरी नारायणी नदीपारिको सुस्ताबस्तीमा राष्ट्रिय प्रसारण ग्रीडको विद्युत् पुर्‍याएको हो।

नारायणी नदीमा निर्माण गरिएको एक हजार पाँच सय ७१ मिटर लामो झोलुंगे पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना हुनेगरी दायाँबायाँबाट ११ केभी लाइन निर्माण गरी सुस्ताबस्तीमा विद्युत् पुर्‍याइएको हो। 

प्राधिकरणले ११ केभी लाइन पुर्‍याएसँगै तीनतिरबाट नारायणी नदीबाट घेरिएको र एकातर्फ भारतसँग सीमाना जोडिएको सुस्ताबस्ती राष्ट्रिय प्रसारण लाइनको विद्युतसँग जोडिएको छ। सुस्ताबस्तीलाई जोड्न नारायणी नदीमा झोलुंगे पुल निर्माण भएसँगै विद्युत् लाइन विस्तार पनि सम्भव भएको हो।

गाउँपालिका, लुम्बिनी प्रदेश सरकार र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको साझेदारीमा जडान गरिएको एक सय किलोवाटको सौर्य ऊर्जाबाट सुस्ताबस्तीमा विद्युत् आपूर्ति हुँदै आएको थियो। सौर्य ऊर्जा प्लान्टको नियमित मर्मतसम्भार हुन नसक्दा विद्युत् आपूर्ति भरपर्दो हुन सकिरहेको थिएन।

Laxmi sunrise bank
kumari

सुस्ताबस्तीमा विद्युत् आपूर्तिका लागि १०० केभीए क्षमताका दुई वटा वितरण ट्रान्सफर्मर राखिएका छन्। विद्युत् लाइन र ट्रान्सफर्मको जडान र परीक्षण सम्पन्न गरिएको छ। अब त्यहाँबाट उपभोक्ताको घरघरमा विद्युत् आपूर्ति दिन सुरु गरिनेछ। सुस्ताबस्तीमा करिब तीन सय ५० घरधुरी छन्।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशलाई उज्यालो बनाउने अभियानअन्तर्गत पूर्ण विद्युतीकरणको अन्तिम यात्रामा सुस्तामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याइएको जानकारी दिए।

'सुस्ताबस्तीमा सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति दिइरहेको भए पनि भरपर्दो र गुणस्तरीय थिएन, स्थानीयबाट विद्युतीकरणका लागि माग हुँदै आएको थियो, भारतसँग सीमाना जोडिएको सुस्ताबस्तीमा राष्ट्रिय ग्रीड पुग्नु राष्ट्रियताको दृष्टिकोणबाट समेत महत्वपूर्ण छ', कार्यकारी निर्देशक घिसिङले भने।

यस्तै चीनसँग सीमाना जोडिएको सङ्खुवासभाको किमाथांकालगायत विद्युत् नपुगेका उत्तर र दक्षिण सीमानाका बस्तीहरु पनि छिट्टै विद्युतीकरण गर्ने तयारी छ। एक करोड ३३ लाख रूपैयाँ अनुमानित लागत रहेको सुस्ताबस्तीको विद्युतीकरण कार्य आर्थिक वर्ष २०७९/८० मा सुरु गरिएको थियो। लाइन नारायणी पार गराउन नदीमा पोल गाड्न सम्भव नभएपछि झोलुंगे पुल निर्माण सम्पन्न नहुन्जेलसम्म पर्खनु परेको थियो।

प्राधिकरणले चालु आर्थिक वर्षभित्रमा सबै नेपालीको घरमा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुर्‍याउने नेपाल सरकारको घोषणालाई कार्यान्वयन गर्न सम्पूर्ण तयारी पूरा गरी काम गरिरहेको छ। हाल विद्युतीकरणको अवस्था ९९ प्रतिशत छ। 

प्राधिकरणले विद्युत् नपुगेका घर खोज्दै विकट बस्ती-बस्तीको विद्युतीकरण गरिरहेको छ। विद्युत् पुगेका ठाउँमा भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रणाली सुधार तथा विस्तार र नपुगेका ठाउँमा विद्युत् पुर्‍याउने कार्यलाई उच्च प्राथमिकता राखी काम भइरहेको छ। रासस

प्रकाशित: Sep 15, 2024| 21:31 आइतबार, भदौ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्