सोमबार, मंसिर २९, २०८२

बागलुङमा बाढी-पहिरोबाट असारयता १८ जनाको मृत्यु, २२ घाइते

 |  बिहीबार, भदौ २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २७, २०८१

बागलुङमा गत असार, साउन र  यही भदौ  महिनामा बाढी–पहिरोमा परि १८ जनाको मृत्यु भएको छ। असार दोस्रो सातादेखि हालसम्म जिल्लाको विभिन्न पालिकामा बाढी-पहिरोमा परि १० जना पुरुष र आठजना महिलाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बडिगाड गाउँपालिकामा ६ महिला र ६ पुरुष गरि १२ जना, बागलुङ नगरपालिकामा तीन पुरुष र एक महिला गरि चारजना, गलकोट नगरपालिकामा एक महिला, एक पुरुष गरि दुई जनाको मृत्यु भएको छ।

National life

यसवर्ष भारी वर्षा हुँदा धेरै ठाउँमा पहिरोले घर पुरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए। पहिरोमा परि २२ जना घाइते भएको उनले जानकारी दिए। घाइतेमध्ये सातजना बडिगाड गाउँपालिका, एकजना जैमिनी नगरपालिका र एकजना बरेङ गाउँपालिकाको रहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए। बाढी–पहिरोमा परि २२ वटा पशुचौपाया मरेको उनको भनाइ छ। बडिगाड गाउँपालिका–१० का ११ वर्षीय बालक अझै बेपत्ता रहेको पौडेलले बताए। 

जिल्लामा गत असार १५ गतेदेखि बाढीपहिरोले क्षति पुर्याउन थालेको थियो। बाढी–पहिरोका कारण बागलुङको बडिगाडमा मात्रै करिब ८० परिवार प्रभावित भएका थिए। बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत जिल्लामा करिब १५० घरपरिवार प्रभावित भएको आँकलन गरिएको छ। वर्षा अझै पूर्णरुपमा नरोकिएको हुँदा जोखिम कायमै रहेको छ। 

बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले बाढी–पहिरोबाट यसवर्ष बडिगाडले क्षति ब्यहोर्नु परेको बताइन्। बाढी–पहिरो प्रभावित परिवारलाई गाउँपालिकाले आवश्यक सहयोग गरि सुरक्षित स्थानमा सार्ने, खाद्यान्न वितरण लगाएको काम गरेको उनको भनाइ छ। पालिकाको स्रोत साधनले भ्याएसम्मको व्यवस्थापन गरेको भन्दै माथिल्लो निकायबाट सहयोगको अपेक्षा गरेको उनी बताउँछिन्। 

बाढी–पहिरोले वडा नं १० मा सबैभन्दा बढी क्षति गरेको भन्दै विस्थापित परिवारलाई पुनःस्थापनाका लागि प्रदेश र केन्द्र सरकारको सहयोग आवश्यक पर्ने अध्यक्ष अधिकारीले बताइन्।

Laxmi sunrise bank
kumari

उनले भनिन्, ‘यसवर्ष हामीहरूले कल्पना नै नगरेको घटना भयो, बाढीपहिरो अप्रत्यासित ठाउँमा गयो, यसले सिङ्गो बडिगाडलाई स्तब्ध बनाएको छ, अझै पनि वर्षा रोकी नसकेको हुँदा आम नागरिकलाई सजग हुन आग्रह गरेका छौँ, बाढी-पहिरोले धेरैलाई घरबारविहीन बनायो, कतिलाई परिवार, आफन्त विहीन बनायो, पीडामा परेका नागरिकको घाउमा हामीहरूले सक्दो मलम लगाउने कोसिस गरेका छौँ।’ 

प्रकाशित: Sep 12, 2024| 18:31 बिहीबार, भदौ २७, २०८१
प्रतिक्रिया दिनुहोस्