आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कमला पुल १३ वर्षदेखि अलपत्र, बर्खामा सधैं जोखिमपूर्ण यात्रा

 |  सोमबार, भदौ १७, २०८१
nespernesper

सुदिप राउत

सुदिप राउत

सोमबार, भदौ १७, २०८१

सिरहा- हुलाकी राजमार्ग अन्तर्गत कमला नदीमाथि पुल निर्माण नहुँदा सिरहा र धनुषावासी फेरि पनि डुंगाकै सहारामा नदी तर्न बाध्य छन्। यहाँ वर्षा सुरु भएसँगै नदीमा पानीको बहाव बढेपछि विकल्पका रूपमा यहाँ वर्षौंदेखि यस्तै नियति दोहोरिरहन्छ।

triton college

अरु समय काठे पुलको सहारामा आवतजावत गर्ने स्थानीय वर्षासँगै नदीको बहावले पुल बगाएपछि वर्षायामभरि यसरी नै जोखिमपूर्ण यात्रा गर्न बाध्य हुन्छन्। विगतमा यस्तो समस्या भोगे पनि १३ वर्षदेखि पुल निर्माण सुरु भएपछि समस्या धेरै रहँदैन होला भन्ने अपेक्षा गरेका थिए तर बहुप्रतिक्षित उक्त पुल अझै निर्माण नहुँदा समस्या ज्यूँको त्युँ छ।

यतिबेला कमलावारि घर, पारि खेतबारी हुनेहरूको लागि बर्खामा नदी वारपारको एकमात्र विकल्प डुंगा बनिरहेको छ।

'घरमात्रै वारि हो, खेतबारी र गोठ पारि नै छ। वस्तुभाउलाई दानापानी गर्न भए पनि दिनको एक दुईपटक त आउजाउ गर्नैपर्छ। हाम्रो जीवन त मर्नु न बाँच्नु भएको छ,' सिरहा नगरपालिका-६ का स्थानीय लिला यादवले आफ्नो पीडा पोखे, 'कमला नदीमा पक्की पुल बन्न नसक्नु यहाँका नागरिकहरूका लागि दुर्भाग्य हो। पुस्तौंदेखि बाउबाजेले जुन दुःख र सास्ती खेपे, हाम्रा छोरानातिले यही सास्ती व्यहोर्न परेको छ।'

दैनिकजसो डुंगाबाट नदी वारपार गर्दा पाएको हैरानी र दुःख भन्दाभन्दा अब त थाकिसकेका उनको भनाइ छ। निर्माणाधीन अवस्थामै करिब तीन वर्षअघि पुल भासिएको थियो। भासिएको पुलभन्दा करिब १० किलोमिटर दक्षिणतर्फ नेपाल-भारत सीमा क्षेत्र नजिक गत वर्षदेखि झोलुंगे पुल सञ्चालनमा रहेको छ तर उक्त पुल पायक नपरेको स्थानीयको गुनासो छ।

Metro Mart
vianet

'यहाँ पुल निर्माण हुन सकेको छैन। झोलुंगे पुलले त्यस आसपासका नागरिकलाई सहज भए पनि बाँकी क्षेत्रलाई सहज भएन। नदीमाथि पुल बन्नुको विकल्प छैन', डुंगामा मोटरसाइकल चढाएर सिरहाबाट घर फर्किंदै गरेका कमला नगरपालिका-५ धनुषाका अरविन्द पासवानले भने।

सिरहाको साररश्वरनाथ घाटस्थित कमला नदीमा दैनिक चारवटा डुंगा वारपार गरिरहन्छन्। स्थानीयदेखि टाढाटाढासम्मका सयौं मोटरसाइकल यात्रु तथा पैदल यात्रुले डुंगाबाटै नदी तर्ने गरेका छन्। जसमध्ये स्थानीय मानिसहरूले मासिक/वार्षिक रूपमा केही अन्नपात डुंगा खियाउने माझीलाई बुझाउने गरेका छन् भने टाढाटाढाका यात्रुहरूले प्रतिमोटरसाइकल एक सय रूपैयाँ शुल्क तिर्ने गरेको माझी रामअवतार सहनीले जानकारी दिए।

बाउबाजेदेखि गरिआएको पेसा भएकाले व्यवसायभन्दा पनि सामाजिक सेवा गरिरहेको उनले बताए। 'चार दशकलेखि यहाँ डुंगा चलाइरहेको छु, बाउबाजेदेखिको पेसा नै यही हो। मेरो जुनी पनि डुंगा चलाउँदै बित्यो। छोराहरूले पनि यही पेसा अँगालिरहेका छन्', उनले भने।

बिहान झिसमिसे नहुँदै कमला नदीको सारस्वरनाथ घाट छेउ पुग्ने र घाम डुबेपछि मात्रै फर्किने यहाँका माझीहरूको दिनचर्या बनेको छ। यसैमध्येका अर्का माझी हुन् कमला नगरपालिका-७ का ७० वर्षीया रामसेवक सहनी। उमेर बूढो भए पनि शरीरमा जोस भने जवान माझीसरह नै छ उनको।

'के गर्नु वर्षाका दुई/चार महिना त हो डुंगा चलाउन पाउने। यही डुंगा चलाउन पनि नदीमा बाढी पर्खनुपर्छ। सानै उमेरदेखि गर्दै आएको र जानेको सीप भएकाले ज्यानले साथ दिएसम्म त काम गर्नै पर्‍यो,' सहनीले भने।

कमला नदीमा पुल नबन्दा जनताले भोग्नुपरेको सास्तीका कारण बाध्य भएर डुंगा चलाइरहेका माझीहरू बताउँछन्। डुंगाबाट जोखिमपूर्ण यात्रा गरेर भए पनि थोरै राहत मिलेको स्थानीयको भनाइ छ।  

१३ वर्षदेखि पुल अधुरै
हुलाकी सडक अन्तर्गत धनुषा-सिरहा जोड्ने कमला पुल निर्माण सम्झौता भएको १३ वर्षसम्म अधुरै छ। निर्माण सुरु भएको १२ वर्षपछि सञ्चालन नहुँदै तीन वर्षअघि पुलको तीनवटा पाया भासिएका थिए। विसं २०६८ मा पुल बनाउन निर्माण व्यवसायी कम्पनी ‘पप्पु कन्स्ट्रक्सन’ले ठेक्का पाएको थियो।

तीन वर्ष ६ महिनामा कमला नदीमा चार सय ७० मिटर लम्बाइ र नौ मिटर चौडाइको पुल बनाइसक्ने सम्झौता थियो। म्याद गुज्रँदै पप्पुले सात वर्षमा पनि कमलामा पुलको निर्माण नसकेपछि हुलाकी सडक निर्देशनालयले सम्झौता तोड्दै विसं २०७८ असार १३ सम्म निर्माण सक्नुपर्ने सर्त राख्दै अर्काे निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’लाई ठेक्का दियो।

लुम्बिनी बिल्डर्सले पनि समयमा काम नसकेपछि अन्तिम पटक भनेर २०७८ फागुन ३० गतेसम्म पुलको काम सक्न पुनः म्याद थपियो तर सोही वर्षको बाढीले निर्माणाधीन पुलको तीनवटा पिलर नै भासिएपछि निर्माणको काम तत्काललाई अनिश्चित भयो।

पुनः पुल बन्ने नबन्ने अनिश्चितताका बीच २०७९ चैतमा तत्कालीन उपप्रधानमन्त्री एवम् भौतिक निर्माण तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले प्राविधिक टोलीसहित स्थलगत निरीक्षण गरेका थिए। निरीक्षणपछि उनले पुलको पुनःनिर्माण तत्काल सुरु गर्न निर्माण कम्पनीलाई निर्देशन दिए।

पुल निर्माणको म्याद आउँदो असारसम्मको छ तर निर्माण कम्पनी र बीमा कम्पनीबीचको विवादले काम रोकिएको हुलाकी राजमार्ग निर्देशनालय जनकपुर कार्यालयका प्रमुख कृष्ण महतोले जानकारी दिए।

'निर्धारित समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिरहेका छौं तर निर्माण कम्पनीले बाढीले भासिएको पुलको बीमा रकम १२ करोड ७० लाख दाबी गरेकामा बीमा कम्पनीले एक करोड ९३ लाख रूपैयाँमात्र दिएको भन्दै लुम्बिनी बिल्डर्सले काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेको छ। त्यो मुद्दा दुई वर्षदेखि विचाराधीन छ भने पुलको काम रोकिएको छ,' प्रमुख महतोले भने।

पुल निर्माणका लागि यहाँका स्थानीयले पटकपटक आन्दोलन गरे पनि सुनुवाइ हुन सकिरहेको छैन। यही बीचमा सिरहाका केही युवाले सोही क्षेत्रमा नयाँ पुलको माग गर्दै मधेस प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशनसमेत बसे।

मुख्यमन्त्री सतिशकुमार सिंहसँँग प्रदेश सरकारले नयाँ पुल बनाउने सहमति भएपछि तत्कालका लागि अनशन तोडियो। अनसन बस्नेमध्येका सिरहा नगरपालिका-६ का वडाअध्यक्ष इन्द्रजित यादवले पुल नबन्दासम्म निरन्तर संघर्ष जारिरहने बताए। उनले भने, 'मधेसको जीवनरेखा मानिएको कमला पुल नबन्दासम्म जीवनमरणको संघर्ष निरन्तर गरिरहने छौं।'     -रासस

प्रकाशित: Sep 02, 2024| 17:01 सोमबार, भदौ १७, २०८१
प्रतिक्रिया दिनुहोस्