बैतडी- बैतडीको पुर्चौडी नगरपालिकाको केन्द्र जोड्ने ढोल्यामोड–हाट सडक चार दिनदेखि अवरुद्ध भएको छ। उक्त सडकको ठाउँठाउँमा पहिरो जाने र भासिने समस्याले सडक अवरुद्ध भएको हो।
शनिबार रातिदेखि सडक पूर्णरूपमा अवरुद्ध हुँदा पुर्चौंडी पुग्ने यात्रुलाई समस्या भएको छ। ढोल्यामोडदेखि हिँडेर जानुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन्।
ढोल्यामोड–हाट सडकको खामोहाले, गोफाखोला नजिक, सनगाउँ, बडगाउँ विद्यालय नजिकै पहिरो खसेको स्थानीय पुरनसिंह ऐरले बताए। यसका साथै ठण्डा पानी भन्ने ठाउँमा करिब ४० मिटर सडक भासिएको छ।
सडक अवरुद्ध चाडपर्वका लागि परदेशबाट घर फर्केकाहरू ढोल्यामोडबाट पैदल हिँड्न बाध्य छन् भने सबैभन्दा बढी समस्या बिरामीलाई भएको छ। यसका साथै यहाँको पुर्चौडी क्षेत्रमा खाद्यान्न अभाव हुन थालेको स्थानीयले बताएका छन्।
ढोल्यामोड–हाट सडक स्तरोन्नतिको काम भइरहेको छ। सडक चौडा गर्ने क्रममा नयाँ कटिङ गरेका ठाउँमा पहिराको जोखिम बढी देखिएको छ। यसैबीच सडक सञ्चालन गर्न प्रयास गरे पनि खुलाउन समस्या भएको पुर्चौडी नगरपालिकाले जनाएको छ।
सडक खुलाउन दुई वटा जेसिबी प्रयोग गरेर प्रयास गरिए पनि सम्भव नभएको पुर्चौडी नगरपालिकाका इञ्जिनियर अनिलसिंह बोहराले बताए। उनले पहिरो पन्छाउने काम भए पनि सडक भासिएको ठाउँमा सदस्य रहेको जानकारी दिए। तत्काल सडक सञ्चालन हुन नसक्ने भएकाले वैकल्पिक सडक प्रयोग गर्न नगरपालिकाले आग्रह गरेको छ।