केही महिना अघि म काम विशेषले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेकी थिएँ। त्यहाँका उच्च पदाधिकारीहरू कोठामा चाउचाउको सुप खाइरहेका थिए। मलाई देखेर उनीहरू झस्केझैं भए। एक जनाले भने, “हत्तेरिका ! तपाईं पो आइपुग्नुभएछ। यसबारे नलेखिदिनुस् है।”
मैले भनें, “नाम त लेख्दिनँ, तर स्वास्थ्य सम्बन्धी उच्च निकायकै पदाधिकारीले चाउचाउ खाएको भनेर त लेख्नैपर्छ। तपाईंहरू आफैं पत्रु खाना विरुद्ध लेख्ने र बोल्ने मान्छे, आफैं यस्तो खाना खाँदा अरूले के सिक्लान् ? मन्त्रालयको क्यान्टिनमा स्वस्थकर खाजा छैन र ?”
जवाफ आयो, “छन त छ। रोटी, चिउरा, अण्डा, तरकारी। तर, त्यो खाँदाखाँदा वाक्क भएर आज चाउचाउ खाएको। अबदेखि खान्नौं।”
विद्यालयमा कक्षा पाँचसम्म दिवा खाजामा पत्रु खानेकुरा नदिनू भन्ने नीति बनाउने सरकारी पदाधिकारीहरू आफैं त्यस्तो खानेकुरा खान्छन् भने उनीहरूले बालबालिकालाई ती वस्तु नखानू भन्न सक्लान्? विद्यालय वरिपरि पत्रु खानाको बिक्री र प्रयोग रोक्ने अनि स्वास्थ्य मन्त्रालय र स्वास्थ्य चौकीमा त्यस्ता खानेकुरा खाने हो भने अभिभावकलाई कसरी पत्रु खाना बच्चालाई नदिनू है भन्न सकिएला?
स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारीको यो भनाइले मलाई लाग्यो, ‘हामी बालबालिकाले चाउचाउ खाएर मोटोपन भयो, मुटुरोग, उच्च रक्तचाप भयो भन्छौं। सानो उमेरको संवेदनशीलता र शारीरिक विकास हुने बेला देखिएको अवरोध हेरेर हामीलाई बढी चिन्ता लाग्नु ठीकै हो, तर यी ठूला मान्छेलाई पनि मोटोपन त छ।’ शायद स्वास्थ्य मन्त्रालयका कति पदाधिकारीहरू मधुमेह, उच्च रक्तचाप भएर औषधि खाइरहेका होलान्। ‘ठूलाबडा’ले यस्तो गरेपछि यिनको घरपरिवारका बालबालिकाले पनि त्यसैको देखासिकी गर्लान्।
स्वास्थ्यबारे सजग पार्ने र नीति–नियम बनाउने निकायमै पत्रु खाना खपत हुनु, त्यहाँका व्यक्तिहरू आफ्नै खानपिनमा त्यसरी बेपरवाह बन्नु एउटा घटनाक्रम मात्र होला। तर, यस्तो दृष्टान्तले देशको स्वास्थ्य क्षेत्र राम्रो होला भनेर आशा गर्ने ठाउँ दिंदैन।
घरका पौष्टिक खानेकुरा छाडेर बजारका जंक फूड खाने प्रवृत्तिका कारण बालबालिकाहरू मोटोपनको शिकार मात्र भइरहेका छैनन्, उनीहरूको शारीरिक / मानसिक विकस असर परेको छ। वास्तवमा नियम अनुसार स्वास्थ्य मन्त्रालयको क्यान्टिनमा यस्ता पत्रु खाना राख्न नै नदिनुपर्ने हो। विद्यालयमा कक्षा पाँचसम्म दिवा खाजामा पत्रु खानेकुरा नदिनू भन्ने नीति बनाउने सरकारी पदाधिकारीहरू आफैं त्यस्तो खानेकुरा खान्छन् भने उनीहरूले बालबालिकालाई ती वस्तु नखानू भन्न सक्लान्? विद्यालय वरिपरि पत्रु खानाको बिक्री र प्रयोग रोक्ने अनि स्वास्थ्य मन्त्रालय र स्वास्थ्य चौकीमा त्यस्ता खानेकुरा खाने हो भने अभिभावकलाई कसरी पत्रु खाना बच्चालाई नदिनू है भन्न सकिएला?
डाक्टर र स्वास्थ्यकर्मीले बिरामी जाँच्ने क्रममा चुरोट खाएर धुवाँ उडाउँदै ‘तिम्रो छातीमा खराबी छ, तिमीले अब चुरोट छोड्नु है’ भन्दा बिरामीले मान्लान् र ? धेरैजसो डाक्टरले त यस्तो प्रवृत्ति छोडिसकेका छन्। अहिले डाक्टरले अस्पतालमा चुरोट खानुपर्यो भने लुकेर खान्छन्। यसै गरी, स्वास्थ्यकर्मीले पनि पत्रुु खानालाई कमसेकम अफिसमा त्याग्नुपर्छ। चुरोट र मदिरा झैं पत्रु खानाको ‘कुलत’ लाग्न सक्छ, साना र ठूला सबैलाई।
-डा. अरुणा उप्रेतीको फेसबुकबाट