धरानमा खानेपानी जडान तथा महसुल बढाइएपछि १० वटा राजनीतिक दलले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्। यसअघि साउन ११ गते धरानमा क्रियाशील दलहरुले खानेपानीको शुल्क र महसुल पुरानै कायम गर्न मागसहित धरान खानेपानी व्यवस्थापन बोर्डलाई ७२ घन्टे अल्टिमेटमसहित ज्ञापनपत्र दिएका थिए।
अल्टिमेटम सकिँदासम्म महसुल वृद्धिको निर्णय फिर्ता नलिएको भन्दै दलहरूले आन्दोलन घोषणा गरेका हुन्। खानेपानी व्यवस्थापन बोर्ड धरान उपमहानगरपालिका मातहत छ र बोर्डको अध्यक्ष मेयर रहने व्यवस्था छ।
बोर्ड सञ्चालनमा समस्या भएको भन्दै अध्यक्ष मेयर हर्क साम्पाङले खानेपानी जडान होल चेन्ज, नामसारी, मर्मत तथा चेकमा लाग्ने शुल्क र खानेपानीको महसुलमा चर्को वृद्धि गरेपछि विरोध भएको हो। मेयरको एकल निर्णयबाट शुल्क र महसुलमा वृद्धि भएको धरानमा क्रियाशील दलहरूको गुनासो छ। वृद्धि भएको रकम साउनदेखि लागू हुने बताइएको छ।
धरानमा क्रियाशील राजनीतिक दलहरूले निकालेको विज्ञप्तिमा साउन १७ गते विभिन्न सरोकारवाला संघसंस्थासँग अन्तरक्रिया गर्ने, १८ गते सबै वडा कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने, २० गते धर्ना दिनेजस्ता संघर्षका कार्यक्रम सार्वजनिक गरिएको छ।
धरानमा नयाँ धारा जडानमा ५ हजार रूपैयाँ वृद्धि गरिएको छ। यसअघि १/२ इन्चको पाइपमा घारा जडान गर्दा १५ हजार रूपैयाँ तिर्नुपर्थ्यो। बोर्डले त्यसलाई बढाएर २० हजार पुर्याएको हो। ४/३ को पाइपमा नयाँ धारा जडान शुल्क २५ हजार तोकेको छ। यसअघि ४/३ इन्चको धारा जडान गर्दा १० हजार रूपैयाँ तिर्नुपर्थ्यो। बोर्डले १ इन्चको पाइपको धारा जडान ५० हजार शुल्क तोकेको छ। यसअघि धरानबासीले १ इन्चको पाइपमा धारा जडान गर्दा १५ हजार रूपैयाँ तिर्दै आएका थिए।
१-१/२ इन्चको धारा जडानको शुल्क ७५ हजार पुर्याइएको छ। यसअघि धरान खानेपानी बोर्डले १-१/२ इन्चको पाइपमा धारा जडान गर्न २० हजार रूपैयाँ शुल्क लिँदै आएको थियो। २ इन्चको पाइपको धारा जडानमा २५ हजारबाट बढाएर एक लाख पुर्याइएको छ।
होल चेन्जको शुल्कसमेत वृद्धि गरेको छ। १/२ को पाइपको होल चेन्जमा २ हजार रूपैयाँ शुल्क लिँदै आएको बोर्डले अब ५ हजार रूपैयाँ लिने गरी शुल्क तोकेको छ। ४/३ को पाइपको होल चेन्जमा ३ हजारबाट ८ हजार पुर्याएको छ। यस्तै १ इन्चको पाइपमा ४ हजारबाट १० हजार रुपैयाँ शुल्क पुर्याइएको छ। १-१/२ इन्चको पाइपको शुल्क ५ हजार रूपैयाँ रहेकोमा बढाएर १५ हजार रूपैयाँ पुर्याइएको छ। यसैगरी खानेपानीको महसुलमा साविकभन्दा २० रूपैयाँदेखि १ हजारसम्म बढाइएको छ।