काठमाडौं- बल्खुमा एकजना पुरुषको शव फेला परेको छ। काठमाडौं महानगरपालिका–१४ स्थित तरकारी बजार नजिकै शव भेटिएको हो। शव भारी बोक्ने भरियाको हुन सक्ने प्रहरीको आशंका छ।
तरकारी बजार नजिकै शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बाढीमा परेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीले बताएको छ। गएरातिको भारी वर्षाका कारण बल्खुको तरकारी बजार डुबानमा परेको छ।
रातभर आएको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थानमा डुबानमा परेका छन्। हालसम्म प्राप्त विवरण अनुसार डुबानबाट बढी प्रभावित ललितपुर रहेको छ। ललितपुरका मुख्य रुपमा ७ स्थानहरू डुबानमा परेका छन्।
प्रहरीका अनुसार ललितपुरका विभिन्न स्थानबाट डुबानमा परेका २४ जनालाई उद्धार गरिएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सुन्दरीघाटबाट ८ जना, युएन पार्कबाट दुई, बालकुमारी पुलबाट १ जना, महालक्ष्मी नगरपालिका- ७ स्थित चागाँथलीबाट ७ जना र सानेपा राम मन्दिरबाट ६ जनाको उद्धार गरिएको छ।
गएराति ११ बजेबाट उपत्यकामा धेरै स्थानमा भारी वर्षा भएकाले नदीहरूमा बाढी आएको छ।
बागमती यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खु खोलालगायत सबैमा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नदी आसपासका बासिन्दालाई सतर्क रहन विभागले जनाएको छ। ललितपुरको गोदावरी खोला थाइबाको जलमापन केन्द्रमा हालको जलसतह खतराको तह पार गरेको छ।
जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको छ। उक्त क्षेत्रमा रहनेहरूलाई बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको अनुरोध छ।
बल्खुमा तरकारी बजार र आसपासका क्षेत्र जलमग्न भएको छ। बागमतीको बाढीले बल्खु तरकारी अगाडि राखिएको दुइवटा ट्रकसमेत पल्टिएर डुबेको छ।
उता अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुईजना बेपत्ता भएका छन। साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन इखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको हो।
बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू बेपत्ता भएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी चौकीडाँडाबाट करिब तीन किलोमिटर पश्चिममा घटनास्थलमा इलाका प्रहरी कार्यालय दिङ्लाबाट प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीको कमाण्डमा चारजनाको टोली र सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्प चौकीडाँडाबाट प्रयोजन घिमिरेको कमाण्डमा सातजनाको टोली खोजीको लागि खटिएको छ।