बिहीबार, चैत २६, २०८२

मोरङको लोहन्द्रा खोलामा भेटियो अर्को नयाँ प्रजातिको माछा

 |  सोमबार, साउन १४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन १४, २०८१

बेलबारी- मोरङको लोहन्द्रा खोलामा अर्को नयाँ प्रजातिको माछा फेला परेको छ। बुदुना जातको ‘गारा केम्पी होरा’ वैज्ञानिक नाम रहेको सो माछा एसियाकै रैथाने भएको अनुसन्धानकर्ताले बताएका छन्।

National life

अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल र रामचन्द्र अधिकारीले उक्त प्रजाति नेपालका लागि नयाँ भएको भन्दै भारतबाट प्रकाशित हुने प्रसिद्ध जर्नल ‘थ्रिटेन्ड टेक्सा’ को सन् २०२४ को जुन अंकमा लेख लेखेका छन्।

लिम्बूलगायतको टोलीले दुई महिनाअघि पनि लोहन्द्रा खोलामै दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने ‘टेरिगोप्लिक्थिस डिसजन्किटिभस’ वैज्ञानिक नाम रहेको नयाँ प्रजातिको माछा फेला पारेका थिए।

सन् २०२२ को सेप्टेम्बरदेखि २०२३ को मार्च महिनासम्म स्थलगत सर्वेक्षणमा लोहन्द्रा खोलामा ‘गारा केम्पी’ माछा भेटिएको र यसको बाहिरी बनावटको र आणविक तथा आनुवांशिक अध्ययनको विवरणबाट नेपालका लागि नयाँ भएको जानकारी अनुसन्धान कर्तामध्ये एक जसहाङ लिम्बूले जानकारी दिए।

उनले भने, 'विराटनगर-रंगेली रोडमा पर्ने लोहन्द्रा पुल आसपासबाट यो माछाका ३० देखि ४० ग्रामका जिउँदो नमुना संकलन गरिएको थियो। यसको शरीरका १८ किसिमका नापहरू लिइयो, जसमा धेरै कुरा अरु प्रजातिभन्दा भिन्न पाइयो र नयाँ प्रजाति भनी दाबी गरियो र पुष्टि पनि भयो।'

kumari

फरक प्रजाति हो भनी पुष्टि गर्न गारा जातिका अरु १९ प्रजातिसँग आणविक बनावटको तुलना गरिएको लिम्बुले बताए।

‘गारा केम्पी’ नेपालबाहेक पूर्वी र उत्तरी भारतमा तथा चीनका केही स्थानमा पाइने केही अन्य अनुसन्धानकर्ताले जनाएका छन्। 'यसलाई स्टोन सकर पनि भनिन्छ', अर्का अनुसन्धानकर्ता रामचन्द्र अधिकारीले भने, 'यो थुतुनोको सहाराले ढुंगामा टाँसिएर बस्छ। यसको मुख्य बासस्थान भनेको सफा नदीको तीव्र वेग भएको ठाउँ हो।'

विश्व संरक्षण संघले यसलाई खास वास्ता नगरिएको (लिष्टकन्सर्न) प्रजातिअन्तर्गत राखेको छ। धेरै पौष्टिक तत्व पाइने र स्वादिलो पनि हुने भएकाले स्थानीयहरूको रोजाइमा यो माछा पर्दछ।

अनुसन्धानकर्ता लिम्बूले भने, 'यो माछालाई अघिल्लो पुस्ताका अनुसन्धानकर्ताले उस्तै देखिने गारा आनन्देली नाम दिनुभएको थियो, त्यसमा प्रशस्त प्रमाण पनि थिएनन् र उक्त आनन्देलीको बासस्थान भने पहाडी क्षेत्रका नदी मात्र हुन्।'

यो प्रजाति पूर्वी नेपालका कन्काइलगायत नदीमा पनि प्रशस्तै पाइने गरेको लिम्बूले बताए। पुराना अनुसन्धानमा केही कमजोरी भएका कारण प्रजातिको सही पहिचान हुन नसकेको लिम्बूको दाबी छ।

उनले भने, 'बुदुना जातका माछाका यसअघि आठ प्रजाति नेपालमा पाइने भनिएको भए पनि गारा मूल्या र गारा रुपिकोला प्रजातिको अस्तित्व स्वीकार गर्न सकिँदैन। तसर्थ योसहित बुदुनाका अब सात प्रजातिमात्र भए।' नेपालमा माछाका प्रजाति सङ्ख्या दुई सय ७३ पुगेको दाबीसमेत लिम्बूले गरे।

माछाको प्रजाति पहिचान, अस्तित्व र वितरणका विषयमा थप वैज्ञानिक अनुसन्धान गरी अभिलेखीकरण गर्न जरुरी भएको अनुसन्धानकर्ताले औँल्याएका छन्। रासस

प्रकाशित: Jul 29, 2024| 20:17 सोमबार, साउन १४, २०८१
प्रतिक्रिया दिनुहोस्