काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले हवाई दुर्घटनाका कारण मुलुकको साख नै कमजोर बनेको भन्दै त्यसको कारण पत्ता लगाएर तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकको विशेष समयमा सांसद शिशिर खनालले परीक्षणका लागि कास्कीको पोखरा लैजान खोजिएको सौर्य एयरलाइन्सको जहाजमा अप्राविधिक व्यक्ति किन चढाइएको हो भन्ने प्रश्न गरे। उजले पछिल्ला दिनमा हवाई दुर्घटनामा वृद्धि भएपनि नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च पदस्थ कर्मचारीलाई कुनै जिम्मेवार नबनाइएका आपत्ति प्रकट गरे।
सांसद धवलशम्सेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमन र सेवा प्रदायक नछुट्याउँदा समस्या पैदा भएको, मुलुक कालोसूचीमा परेको बताए।
राष्ट्रियसभाले पारित गरेको प्राधिकरणसँग सम्बन्धित विधेयक प्रतिनिधिसभामा पेस हुन नसक्नुको पछाडिको कारण पत्ता लगाउन उनको आग्रह थियो। सांसद राणाले नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनका संलग्न उच्च प्रहरी अधिकारीलाई दुई महिना पनि नपुग्दै सरुवा गरिएका कारण के हो भन्ने प्रश्न गरे।
सांसद मेटमणि चौधरीले डेडिकेटेड र ट्रङ्कलाइन प्रयोग गर्ने उद्योगले महसुल तिर्नैपर्ने बताए। उनले ठूला व्यवसायीलाई सदासयता देखाउने र साना तथा कमजोरको लाइन काटिने अवस्थाको अन्त्य कहिले हुने होला भन्ने जिज्ञासा राखे।
सांसद रञ्जुकुमारी झाले सौर्य एयरलाइन्सको दुर्घटनाको निष्पक्ष छानबिनको माग गरिन्। “मर्मत गर्नुपर्ने जहाजमा किन असम्बन्धित व्यक्तिलाई चढाइयो ?”, उनले प्रश्न गरिन्।
सांसद अब्दुल खानले पछिल्लो १५ दिनमा हृदय विदारक घटना भएको उल्लेख गर्दै सौर्य एयरलाइन्स र सिमलताल दुर्घटनामा परेका नागरिकप्रति सरकारले विभेद गरेकामा गुनासो गरे।
सांसदद्वय गंगाराम चौधरी र राजकिशोर यादवले पनि बस दुर्घटना र हवाई दुर्घटनामा परेका नागरिकप्रति राज्यले नै विभेद गरेको बताए। उनीहरुले मर्मत सम्भारमा जान लागेको जहाजमा महिला, बालबच्चा किन राखियो भन्ने प्रश्न गरे।
सांसद रामप्रकाश चौधरीले खेतीको समयमा किसानले यथेष्ट मात्रामा रासायनिक मल प्राप्त गर्न नसकेको भन्दै गुनासो गरे। सांसद प्रेम सुवालले मुलुकका विभिन्न वेथिती मौलाएको भन्दै जिम्मेवारीमा रहेकालाई कारवाहीको दायरामा ल्याउन आग्रह गरे। उनले डेडिकेटेड र ट्रङ्क लाइनबाट बिजुली प्रयोग गरेका उद्योगलाई कुनै पनि हालतमा छुट दिन नहुने बताए।
सांसद नारायणप्रसाद आचार्यले देशभर अलपत्र परेका विभिन्न विकास आयोजनाको शीघ्र सम्पन्न गर्न आग्रह गरे। उनले निर्वाचित जनप्रतिनिधिको संयोजकत्वमा विकास निर्माणका आयोजना छनोट गर्ने र कार्यान्वयनमा लैजाने गरी संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए।