मंगलबार, पुस ८, २०८२

गोरखा पहिरोमा बेपत्ता सबैको पहिचान खुल्यो

 |  आइतबार, साउन १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन १३, २०८१

गोरखा- उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा गएराति पहिरोमा परी बेपत्ता भएका सबैको पहिचान खुलेको छ ।

National life

गएराति स्थानीय जीतबहादुर गुरुङको घर र गोठ पहिरो बगाउँदा पाँचजना बेपत्ता भएका धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले पुष्टि गरे। पहिरोमा जीतबहादुरसहित कान्छी गुरुङ, सोलाल कान्छा गुरुङ, रमेश परियार र रमेश गुरुङ बेपत्ता भएका उनले जानकारी दिए।

अध्यक्ष गुरुङका अनुसार घटनास्थलमा बेपत्ताको खोजीका लागि स्थानीयसहित जनप्रतिनिधि र नेपाल प्रहरीको टोली खटिएको छ । पहिरोमा परी घाइते भएका दिलीप गुरुङ र छामबहादुर गुरुङ रहेका जनाउँदै दिलीपको अवस्था भने गम्भीर रहेको उनले बताए । घाइते दुवैको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

“नेपाली सेनाको टोली यसअघि नै उद्धारका लागि घटनास्थलतर्फ गइसकेको छ । स्थानीय र प्रहरीको टोली घटनास्थलमा पुगेर बेपत्ता भएकाको खोजी तीव्र पारेको छ”, अध्यक्ष गुरुङले भने। भौगोलिक विकटताका कारण घटनास्थलतर्फ पुग्न केही कठिनाइ भएको उनले जानकारी दिए।

“उक्त घरमा होटलसमेत सञ्चालन गरिएकाले बाहिरबाट अतिथि आएर खानेबस्ने गर्दथे । यसअघि पहिरोमा परी चारजना बेपत्ता भएका भन्ने जानकारी पाएका थियौँ । पछि थप एकजना पहिरोमा बेपत्ता भएको पुष्टि भएको हो”, अध्यक्ष गुरुङले भने।

Laxmi sunrise bank
kumari

सोही ठाउँमा कामका लागि पुगेका ट्र्याक्टर चालक रमेश परियार पहिरोमा परेर बेपत्ता भएका स्थानीय कर्णमाइला गुरुङले जानकारी दिए । उनी शनिबार मात्र ट्र्याक्टर लिएर यहाँ आइपुगेका थिए।

पहिरोमा परी बेपत्ता हुनेहरुमा एकै परिवारका तीनजना रहेका छन् । एउटै घरका बाबु, छोरा र बुहारी पहिरोमा बेपत्ता भएको स्थानीय कर्णमाइलाले जानकारी दिए । पहिरोमा ६५ वर्षीया सोलाल कान्छा, उहाँका छोरा जीतबहादुर र बुहारी कान्छी गुरुङ बेपत्ता भएका हुन् । बेपत्ताको खोजी र उद्धार तीव्र पारिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए।

प्रकाशित: Jul 28, 2024| 13:23 आइतबार, साउन १३, २०८१
प्रतिक्रिया दिनुहोस्