काठमाडौं- काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
बुधबार बिहान ११: ११ बजे काठमाडौंबाट पोखरा उडेको जहाज दुर्घटना हुँदा १७ जना नेपाली र एक जना यमनका नागरिकको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
३७ वर्षीय क्याप्टेन मनीष शाक्यलाई उद्धार गरी प्रहरीले केएमसी अस्पताल पुर्याइएको प्राधिकरणले बताएको छ।
दुर्घटनामा मृत्यु भएका १८ जनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा को-पाइलट सुशान्त कटुवाल र यात्रुहरु अमितमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश मरासैनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, अधिराज शर्मा, प्रिजा खतिवडा, उद्धव पुरी, यज्ञप्रसाद पौडल, सन्तोष महतो, पुण्यरत्न शाही र अरेफ रेडा छन्। रेडा यमनी नागरिक हुन्।
