मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • टाइसुटमा अध्यागमन विभाग पुगेका गृहमन्त्रीले कर्मचारीलाई भने- अलि स्मार्ट र स्माइलिङ हुनुपर्‍यो

टाइसुटमा अध्यागमन विभाग पुगेका गृहमन्त्रीले कर्मचारीलाई भने- अलि स्मार्ट र स्माइलिङ हुनुपर्‍यो

 |  मंगलबार, साउन ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ८, २०८१

काठमाडौं- गृहमन्त्री रमेश लेखकले अध्यागमन मुलुकको अनुहार भएकाले यो राम्रो हुनुपर्ने बताएका छन्। आज अध्यागमन विभागको निरीक्षण गर्दै उनले मुलुकभित्र प्रवेश गर्ने प्रत्येक मानिसले सबैभन्दा पहिला नेपालीका रूपमा भेट्ने अध्यागमन कर्मचारीलाई भएको उल्लेख गरे।

National life

उनले भने, 'तपाईंहरूलाई भेट्नेबित्तिकै नेपाल कस्तो छ, नेपाली कस्ता छन् भन्ने कुरा त्यहीँबाट थाहा हुन्छ। त्यो भाव र भावनाका साथ काम गर्नुस्। देशभन्दा बाहिर जाने मानिसलाई बिदाइ गर्ने अन्तिम नेपाली पनि अध्यागमनकै कर्मचारी हुन्। अलि स्मार्ट र स्माइलिङ पनि हुनुपर्‍यो। गलत ढंगले मान्छे आउने र जाने कुरामा कर्मचारीको संलग्नता देखिए कारबाही हुन्छ।'

पछिल्लो समय मानव बेचबिखनका घटना बढेको सुन्नमा आएको बताउँदै उनले त्यसलाई रोक्न सचेततापूर्वक खटिन कर्मचारीलाई निर्देशन दिए। 'मानव बेचबिखन पूर्ण रूपमा रोकिनुपर्छ। अवाञ्छनीय गतिविधि स्वीकार्य छैन,' उनले भने। गृहमन्त्री लेखकले अध्यागमनसम्बन्धी विधयेक संशोधनका निम्ति एक महिनाभित्र मन्त्रालयमा प्रस्ताव पेस गर्न आग्रह गरे। राम्रो कानुन बनाएर त्यसबमोजिम काम गर्दा मुलुकमा सुशासन कायम हुने उनको भनाइ थियो।

१६ वर्षअघि आफू श्रममन्त्री हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम डेस्क राखिएको उनले स्मरण गरे। दार्चुलाको तिंकर र मुस्ताङको कोरलामा अध्यागमन कार्यालय तत्काल स्थापनाका निम्ति प्रक्रिया अगाडि बढाउन पनि उनले निर्देशन दिएका छन्।

गृहसचिव एकनारायण अर्यालले अन्तरनिकाय समन्वय हुनुपर्नेमा जोड दिए। अध्यागमन कर्मचारीको क्षमता वृद्धिसँगै भौतिक संरचना निर्माण क्रमशः हुँदै गइरहेको उनले बताए। गृह, पर्यटनलगायत निकायबीच समन्वय र राम्रो व्यवहार हुनुपर्ने उनको भनाइ थियो।

Laxmi sunrise bank
kumari

अध्यागन विभागका महानिर्देशक केशहरि निरौलाले आफूहरूले गरिरहेको कामकारबाही, भावी योजना र चुनौतीका विषयमा मन्त्री र सचिवलाई जानकारी गराएका थिए।

प्रकाशित: Jul 23, 2024| 12:24 मंगलबार, साउन ८, २०८१
प्रतिक्रिया दिनुहोस्