नारागणगढ–मुग्लिन सडकको सिमलतामा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र तिनमा सवार यात्रीको खोजीमा भारतीय टोली जुटेको छ।
भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)को १२ सदस्यीय टोली आज बिहानदेखि खोजतलासमा जुटेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।
असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस र काठमाडौंबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३–२४९५ख ००१ नम्बरको बस सिमलताल पहिरोमा बगेका थिए।
बसमा सवार ६५ जनामध्ये तीन जना बाँच्न सफल भएका थिएभने ६२ जना बेपत्ता भएका थिए। आजसम्म २५ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ भने १७ जनाको सनाखत भएको छ। अझै ३७ यात्री र दुईवटै बसको अवस्था अज्ञात छ। मुलुकमा अत्याधुनिक उपकरणसहितका जनशक्ति नहुँदा सरकारको अनुरोधमा भारतबाट उक्त टोली आएको हो।