आइतबार, चैत २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बंगलादेशको विरोध प्रदर्शन झन् हिंसात्मक, आठ सय नेपाली विद्यार्थी फर्किए

बंगलादेशको विरोध प्रदर्शन झन् हिंसात्मक, आठ सय नेपाली विद्यार्थी फर्किए

 |  आइतबार, साउन ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन ६, २०८१

काठमाडौं- बंगलादेशमा विरोध प्रदर्शन झन् हिंसात्मक बन्दै गएपछि अध्ययनका लागि गएका १७ जना नेपाली विद्यार्थी आज स्वदेश फर्कंदैछन्। परराष्ट्र मन्त्रालयका अनुसार बिहान साढे ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनीहरु आइपुग्ने छन्।

National life

बंगलादेशको सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने विद्यार्थी आज फर्किएका हुन् । ढाकाबाट उद्धार गरी उनीहरूलाई विमान बंगलादेशको जहाजमार्फत ल्याइएको हो। नेपाल फर्कन चाहने अन्य विद्यार्थीलाई ढाकास्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ।

सरकारी सेवामा विशेष आरक्षणको विरोधमा एक सातादेखि जारी आन्दोलनका कारण ८ सयभन्दा बढी नेपाली विद्यार्थीले बंगलादेश छाडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरु हवाई र स्थल मार्ग हुँदै फर्केका हुन्।

भारत हुँदै बंगलबादेश छाड्न चाहने विद्यार्थीलाई सहजीकरण गरिदिन भारत सरकारलाई समेत आग्रह गरिएको परराष्ट्रले बताएको छ। बंगलादेशमा रहेका विद्यार्थी भारतको मेघालयलगायत सीमावर्ती राज्य हुँदै फर्किरहेका छन्। बंगलादेश सरकारले शुक्रबार रातिदेखि देशभर कर्फ्यु लगाएको छ भने सञ्चार सेवा, इन्टरनेट र टेलिफोन सेवा विच्छेद गरिएको छ।

हिंसात्मक प्रदर्शन रोक्न कर्फ्यु लगाइएको भए पनि राजधानी ढाकामा शनिबार भएको हिंसात्मक झडपमा कम्तीमा १० जनाको मृत्यु भएको छ। यस क्रममा कम्तीमा ९१ जना घाइते भएका छन्। मारिनेमा दुई प्रहरी पनि भएको बताइएको छ। गएको मंगलबारदेखि सुरु भएको हिंसामा हालसम्म देशभर कम्तीमा ११० जनाको मृत्यु भइसकेको छ।

kumari

बंगलादेशमा ३ हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत रहेको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ। तीमध्ये २४ सय विद्यार्थी मेडिकल साइन्सका हुन् भने ६ सय विद्यार्थी अन्य विषय पढ्न गएका हुन्। त्यसका अतिरिक्त बंगलादेशमा संयुक्त राष्ट्र संघलगायत अन्य अन्तर्राष्ट्रिय संस्थामा काम गर्ने करिब ५० नेपाली परिवारका सदस्य बसोबास गर्छन्।

प्रकाशित: Jul 21, 2024| 11:29 आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्