मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • तनहुँमा प्रशोधन योग्य आलु उत्पादनमा वृद्धि, सहकारीमार्फत कारोबार

तनहुँमा प्रशोधन योग्य आलु उत्पादनमा वृद्धि, सहकारीमार्फत कारोबार

 |  शनिबार, साउन ५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, साउन ५, २०८१

तनहुँ- कृषि ज्ञान केन्द्र तनहुँले आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेपछि जिल्लामा प्रशोधन योग्य आलु उत्पादनमा वृद्धि भएको छ। कार्यालयले चालु आर्थिक वर्षमा समुदायस्तरमा प्रशोधन योग्य आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेपछि जिल्लाका १२ सहकारीमार्फत रु एक करोड २१ लाखको आलुको कारोबार भएको छ। 

National life

कार्यालयले आलु प्रवद्र्धन कार्यक्रमअन्तर्गत १२ सहकारीलाई रु एक करोड चार लाख ९५ हजार अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए। उक्त कार्यक्रमका लागि रु एक करोड ४० लाख विनियोजन गरिएको थियो। सहकारीलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदान दिइएको छ। 

सहकारीमार्फत एक हजार रोपनी क्षेत्रफलमा आलुखेती गरिएको र त्यसबाट पाँच सय २९ मेट्रिकटन प्रशोधनयोग्य आलु उत्पादन भएको प्रमुख लामिछानेले बताए। सो कार्यक्रममार्फत सहकारीले प्रशोधनयोग्य ९१ दशमलव ८८ मेट्रिकटन बीउ खरिद गरी कृषकलाई वितरण गरिएको थियो। त्यस्तै १७ मिनीटिलर, ४८ स्प्रेयर, ६ डिजिटल तराजु, दुई ड्याङ बनाउने मेसिन तथा ९२ क्रेट खरिद गरिएको छ। यस्तै दुई सय ३५ मिटर पक्की कुलो निर्माण, एक हजार ६ सय ८३ मिटर पाइप तथा तीनवटा पम्प खरिद गरिएको छ। 

बाह्र सहकारीमार्फत सञ्चालित उक्त कार्यक्रमबाट चार सय ६० परिवार लाभान्वित भएका प्रमुख लामिछानेले बताए। घिरिङ गाउँपालिका–१ को उर्भरा कृषि सहकारी संस्थालाई रु सात लाख २९ हजार, व्यास नगरपालिका–६ को श्याम्घा साना सिँचाइ कृषि सहकारी संस्थालाई रु ११ लाख ४९ हजार, व्यास–७ को स्थित चउर कृषक समूहलाई रु तीन लाख २९ हजार, व्यास–९ को कुसुमे उद्यमशील कृषक समूहलाई रु चार लाख ३० हजार, भानु नगरपालिका–५ को भानु सहकारी संस्थालाई रु तीन लाख ५८ हजार, भानु–७ को थानीमाइ कृषक समूहलाई रु दुई लाख ३४ हजार, भिमाद नगरपालिका–१ को डुम्रीबेंसी कृषि उत्पादक सहकारी संस्थालाई रु पाँच लाख ५८ हजार, भानु–८ को देउराली कृषक समूहलाई रु ६ लाख २१ हजार, भानु–५ को प्रतिज्ञा कृषि सहकारी संस्थालाई रु दुई लाख ९२ हजार तथा व्यास–९ को राजापानी कृषक समूहलाई रु नौ लाख ४४ हजार अनुदान दिइएको केन्द्रले जनाएको छ। 

प्रकाशित: Jul 20, 2024| 08:31 शनिबार, साउन ५, २०८१
प्रतिक्रिया दिनुहोस्