आइतबार, मंसिर २८, २०८२

काठमाडौंको ढलमा देखियो पोलियो भाइरस

 |  शुक्रबार, साउन ४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ४, २०८१

काठमाडौं- काठमाडौँको ढलमा पोलियो जीवाणु (भाइरस) देखिएको छ। स्वास्थ्य सेवा विभागले आज यहाँ आयोजना गरेको ‘पोलियो रोग र निगरानी’ विषयक अन्तरक्रिया कार्यक्रममा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले काठमाडौँको टुकुचा खोला र बागमती नदीको सङ्गम स्थल टेकुको ढलमा पोलियो जीवाणु भेटिएको बताए।  

National life

दुई नदीको सङ्गम स्थलबाट सङ्कलन गरिएको ढलको नमुनामा पोलियो जीवाणु भेटिएको प्रमुख डा गौतमले बताए। ढलमा पोलियो जीवाणु देखिएको पहिलो पटक हो। नेपालमा सन् २०१० मा अन्तिम पटक मानिसमा पोलियो जीवाणु देखिएको थियो। नेपाल सन् २०१४ पोलियोमुक्त मुलुक भएको थियो। सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ। 

'अहिले पोलियो जीवाणु ढलमा देखिएको हो। पोलियोको जीवाणु जहाँ देखिए पनि संवेदनशील विषय हो,' उनले भने, 'ढलमा देखिनुले कतै व्यक्तिमा पनि छ कि भन्ने आशङ्का छ।'

खोप शाखा प्रमुख डा गौतमले ढलमा जीवाणु देखिनु संवेदनशील भएको उल्लेख गर्दै व्यक्तिमा जीवाणु छ कि भनेर खोजबिन गरिने बताए। उनका अनुसार थाइल्यान्डको बैंककमा ढलमा सङ्कलन गरिएको नमुना परीक्षण गर्दा गत असार २९ गते पोलियो जीवाणु देखिएको पुष्टि भएको हो। ढलको नमुना सङ्कलन भने गत जेठ १३ गते दुई नदीको सङ्गम स्थलबाट गरिएको हो। 

नेपाल पोलियो उन्मूलन भएपछि १० वर्षपछि पोलियोको जीवाणु भेटिएको हो। उनका अनुसार उक्त पोलियोको जीवाणु प्राकृतिक रूपमा पाइने ‘वाइल्ड पोलियो’ नभएर ‘भ्याक्सिन डिराभ्ड पोलियो टाइप–३’ जीवाणु हो। 'टुकुचा र बागमतीको सङ्गम स्थल टेकुमा देखिएको हुनाले पोलियो भाइरस काठमाडौँ उपत्यकाबाट नै आएको हुनसक्छ,' उनले भने। 

Laxmi sunrise bank
kumari

उपत्यकामा पोलियोको जीवाणु भेटिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरमा पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ। परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई घरघर गएर पोलियो रोगविरुद्धको ‘आइपिभी’ खोप अभियान सञ्चालन गर्न थालिएको बताए। उनका अनुसार खोप यही साउन ९ देखि १२ गतेसम्म दुई लाख ८० हजार बालबालिकालाई उक्त खोप लगाइने छ।

अभियानसँगै घर र अस्पताल पोलियोको जीवाणु छ कि छैन भनेर पनि परीक्षण गरिने उनले उल्लेख गरे। कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले पोलियो भाइरसले मानिस सङ्क्रमित नहुन् भनेर खोप अभियान सञ्चालन गरिएको बताउए।

प्रकाशित: Jul 19, 2024| 21:31 शुक्रबार, साउन ४, २०८१
प्रतिक्रिया दिनुहोस्