मंगलबार, पुस ८, २०८२

पर्या-पर्यटन प्रवर्द्धन गर्न शोभातालमा डुंगा

 |  शुक्रबार, साउन ४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ४, २०८१

कञ्चनपुर- पर्या-पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले बेलौरी नगरपालिका-५ शोभातालमा डुंगा (वाटर बोट) सञ्चालनमा ल्याइएको छ। पर्यटकीय क्षेत्र अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षितगरी नगरपालिकाले संघीय सरकारको शसर्त अनुदानमा पाँच वटा डुंगा खरिद गरी सञ्चालनमा ल्याएको हो।

National life

सोही बजेटबाट पर्यटकीय क्षेत्रलाई थप आकर्षक बनाउन भगवान् गौतमबुद्धको मूर्ति पनि ल्याइएको छ। डुंगा सञ्चालनको जिम्मा शोभाताल संरक्षण समितिलाई दिइएको छ।

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन नगरपालिकाले शोभाताल पर्यटकीय क्षेत्रको आठ हेक्टर क्षेत्रफलमा रहेका पाँच वटा तालमध्ये दुईमा डुंगा सञ्चालन, दुईमा माछापालन र एउटामा स्वीमिङ पुल निर्माण गरिएको नगर उपप्रमुख जोगराम चौधरीले जानकारी दिए। उनका अनुसार तालमा वर्षभरि एकनासको पानी प्रवाहको व्यवस्था मिलाउन ताल क्षेत्रमा दुई वटा बोरिङ जडान गरिएका छन्।

शोभातालको भौतिक पूर्वाधार विकासमा हालसम्म २५ करोड रुपैयाँको खर्च भइसकेको नगर उपप्रमुख चौधरीले बताए। उनका अनुसार पर्यटकको सुविधाका लागि ‘सेल्फी’ क्षेत्र, आकर्षक पखेटा, सभाहल, अतिथि गृह, पर्खाल, गेट, ठाउँठाउँमा विश्राम गर्न गोलघर, फुटपाथ, मनोरञ्जनात्मक तथा अन्य कार्यक्रम गर्न मञ्च निर्माण गरिएको छ।

'यसअघि यहाँ आउने पर्यटकलाई निःशुल्क प्रवेश गर्ने व्यवस्था गरिएको थियो', उपप्रमुख चौधरीले भने, 'पर्यटकीय क्षेत्रमा टिकट काउन्टरको व्यवस्था गरी प्रवेश तथा डुंगा सवार गरेको शुल्क लिने गरेका छौँ। पर्यटक र पर्यटकीय क्षेत्रको सुरक्षा गर्न कर्मचारी राख्ने योजनासहित प्रक्रिया अगाडि बढाएका छौँ।'

Laxmi sunrise bank
kumari

यस कार्यले पर्यटकीय क्षेत्रका भौतिक पूर्वाधारको सुरक्षा हुनुका साथै नगरपालिकाको आन्तरिक आयमा वृद्धि हुने अपेक्षा गरिएको उनले बताए।

शोभाताल संरक्षण समितिका अध्यक्ष जगदीश चौधरीले पर्यटकीय गतिविधिमा वृद्धि भएसँगै स्थानीय बासिन्दाको रोजगारीका अवसरमा समेत वृद्धि हुने बताए।

'यहाँको व्यापार व्यवसाय फस्टाउँछ। रोजगारीका नयाँ अवसर सिर्जना हुन्छन्', उनले भने, 'पर्यटकीय गतिविधिले आयमा वृद्धि भई स्थानीयको जीवनस्तरमा सुधार ल्याउन सकिन्छ।'

पर्यटकीय क्षेत्रको व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नगरपालिकासँग छलफल गरी योजनाबद्ध रुपमा अगाडि बढ्ने उनले उल्लेख गरे। रासस

प्रकाशित: Jul 19, 2024| 18:31 शुक्रबार, साउन ४, २०८१
प्रतिक्रिया दिनुहोस्