काठमाडौ- बंगलादेशमा ‘मुक्ति युद्ध’मा लडेका सैनिकका छोराछोरीका लागि ल्याइएको आरक्षणको विरूद्धमा भइरहेको प्रदर्शनमा हालसम्म २५ जनाको मृत्यु भएको छ।
आरक्षणविरूद्ध विद्यार्थीहरूले देशव्यापी प्रदर्शन गरिरहँदा सेना र सत्ता पक्षका कार्यकर्ताहरू पनि सरकारको निर्णयको पक्षमा आन्दोलमा उत्रिएपछि भएका हिसांत्मक घटनाहरूमा उनीहरुको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।
सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर बंगलादेश स्वतन्त्र हुँदा लडेका बंगलादेशी सेनाहरूलाई त्यहाँ ‘मुक्ति योद्धा’भनिन्छ। सरकारले तिनै सेनाका सन्तानहरूलाई सरकारी जागिरमा विशेष आरक्षण दिने नीति सरकारले ल्याएको थियो।
यसलाई प्रधानमन्त्री शेख हसिनाले आफ्ना समर्थकहरूलाई रिझाउनका लागि उक्त नीति ल्याएको र यसले देशका अन्य युवाहरू अवसरबाट बञ्चित हुने भन्दै त्यहाँका विद्यार्थीहरू दुई सातादेखि आन्दोलनरत छन्।
प्रहरी र प्रदर्शनकारीबीच झडप भएका घटना बढ्दै गएको र यसबाट सयौं घाइते भएको बीबीसीले उल्लेख गरेको छ। बुधबार प्रधानमन्त्री शेख हसिनाले आन्दोलनकारीहरूलाई धैर्य राख्न र अदालतको फैसला कुर्न भनेकी छन्। उनले सम्बोधनका क्रममा विद्यार्थीहरूको आन्दोलन र त्यसमा सहभागीहरूलाई वार्ताका लागि आह्वान नगर्नुले सरकार गैरजिम्मेवार बनेको भन्दै विद्यार्थीहरूले आन्दोलन थप सशक्त बनाएका छन्।
सन् २०१८ मा यसरी आरक्षणको नीति ल्याइएको थियो। तर कैयौं सातासम्म प्रदर्शन भएपछि सरकार निर्णयबाट पछि हटेको थियो।
यहीबीच यसै जुलाइ पहिलो साता बंगलादेशको उच्च अदालतले सरकारी निर्णयको पक्षमा फैसला गरेको अल्जजिराको समाचारमा उल्लेख छ। उच्चको फैसलासँगै सरकारी जागिरमा एक तिहाइ कर्मचारीहरू स्वतन्त्रताका लागि लडेका परिवारका छोराछोरीले पाउने भएका थिए। यो समूहका लागि ३० प्रतिशतको आरक्षण छुट्याइएको थियो।
यस्तो फैसला आएसँगै बंगलादेशका सरकारी र निजी विश्वविद्यालयका विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्। विद्यार्थीहरूले आफूहरू कुनै पनि राजनीतिक समूहबाट नभएको बताएका छन्। बंगलादेशमा पहिलो र दोस्रो श्रेणीको सरकारी जागिरका लागि मेरिटका आधारमा हुन्छ। बाँकी ५६ प्रतिशत आरक्षणमा छुट्याइएको हो।
३० प्रतिशत स्वन्त्रताका लागि लडेका व्यक्तिका छोराछोरीका लागि छुट्याउँदा, १० प्रतिशत महिला, १० प्रतिशत पिछडिएको जिल्ला, ५ प्रतिशत अल्पसंख्यक समुदाय र एक प्रतिशत अपांगता भएका व्यक्तिहरूका लागि छुट्याइएको छ।
प्रदर्शनकारीहरूले अन्य आरक्षणमा आफूहरूको बिमती नभए पनि विशेष व्यक्तिहरूका लागि छुट्याइएको ३० प्रतिशत आरक्षणमा भने असहमति भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेका छन्।
अश्रुग्यास र लाठीचार्ज गर्दा कतिपय विद्यार्थीहरू घाइते भएका हुन्। अहिले पारामिलिटरी ट्रुपहरू पनि विभिन्न जिल्लामा खटिएका छन्। त्यस्तै सरकार समर्थक विद्यार्थीहरू पनि सडकमा उत्रिँदा आन्दोलन थप चर्किएको हो।
देशभरि नै प्रदर्शन जारी रहँदा अर्को सूचना जारी नहुँदासम्मका लागि सबै विद्यालय र विश्वविद्यालयहरू बन्द छन्।
ढाकास्थित नेपाली दूतावासले पनि सूचना निकालेर नेपाली विद्यार्थीहरूलाई सुरक्षित रहन तथा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ।