आइतबार, चैत २९, २०८२

पुल बनेपछि कालीगण्डकी वारपार गर्न सहज

 |  सोमबार, असार ३१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार ३१, २०८१

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ र वडा नम्बर–५ पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको छ।

National life

दुई वटा तातोपानी कुण्ड रहेका पर्यटकीयस्थललाई जोड्न पूर्वाधार विकास कार्यालय म्याग्दीले कालीगण्डकी नदीमाथि एक सय २६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो।

पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र निर्माण कम्पनीबीच २०८० साउन महिनामा ९३ लाख ५० हजार ४८६ मा ठेक्का सम्झौता भएको थियो।

प्राविधिक नापजाँच र हस्तान्तरण हुन बाँकी रहेको पुल आवतजावतमा प्रयोग हुन थालेको कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले बताए।

पुल निर्माण भएपछि जोखिम मोलेर कालीगण्डकी नदीमा साँघु (अस्थायी काठको पुल) तर्नुपर्ने अथवा नारच्याङको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको पाउद्वार तातोपानीका बासिन्दा कमल तिलिजा पुनले बताए।

kumari

कूल एक करोड २० लाख लागत अनुमान गरिएको पुल निर्माणका लागि आर्थिक वर्ष २०७८–०७९ र २०७९–०८० मा १२–१२ लाख बजेट विनियोजन भएको थियो। विसं २०८० जेठ महिनामा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले नौ लाख थप बजेट व्यवस्थापन गरेर बहुवर्षीय ठेक्का लगाउन स्वीकृति दिएपछि योजना कार्यान्वयनका लागि ठेक्का आह्वान भएको थियो।

नक्साङ्कनमा देखिएको समस्या र कूल लागत अनुमानको २० प्रतिशत बजेट व्यवस्थापन हुन नसक्दा भुरुङ र पाउद्वार तातोपानी कुण्ड जोड्ने कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण योजनाका लागि आव २०७५–०७६ देखि नियमित बजेट विनियोजन भए पनि कार्यान्वयन भएको थिएन।

प्रकाशित: Jul 15, 2024| 09:31 सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्