शनिबार, भदौ ६, २०८३

११ महिनामा ५५ हजार बढी पर्यटक खुम्बुमा

 |  बुधबार, असार २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार २६, २०८१

सोलुखुम्बु- चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा ५५ हजार नौ सय ७९ जना पर्यटकले खुम्बुक्षेत्रको भ्रमण गरेका छन्।

गत साउनदेखि यही जेठ मसान्तसम्ममा यी पर्यटकहरु भ्रमणका लागि खुम्बुक्षेत्र पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा उल्लेख छ। निकुञ्जका सूचना अधिकारी मनोजकुमार मण्डलका अनुसार भ्रमणका लागि पुगेका पर्यटकमध्ये ४८ हजार चार सय दुई जना विदेशी र सात हजार पाँच सय ७७ जना नेपाली छन्।

यस वर्ष सबैभन्दा बढी वैशाखमा नौ हजार नौ सय ७६ जना र सबैभन्दा कम साउनमा दुई सय आठ जनाले खुम्बुक्षेत्रको भ्रमण गरेको सूचना अधिकारी मण्डलले जानकारी दिए। वैशाख महिना मुख्य पर्यटकीय सिजन भएकाले पर्यटकको चाप देखिएको र साउन अफ सिजन भएकाले फाट्टफुट्ट मात्रै पर्यटक आएको उनको भनाइ छ।

चालु आवको ११ महिनामा पर्यटकबाट निकुञ्जले रु १३ करोड ६५ लाख सात सय राजस्व सङ्कलन गरेको छ। निकुञ्जले पर्यटक शुल्क बापत् नेपालीसँग एक सय, सार्क राष्ट्रका नागरिकसँग एक हजार पाँच सय र अन्य विदेशीबाट प्रतिव्यक्ति रु तीन हजार रुपैयाँ लिने गरेको छ।

सो अवधिमा सात हजार पाँच सय ७७ नेपाली, छ हजार तीन सय आठ सार्क मुलुकका र ४२ हजार ९४अन्य देशका पर्यटकले खुम्बु भ्रमण गरेको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ।

प्रकाशित: Jul 10, 2024| 21:31 बुधबार, असार २६, २०८१
प्रतिक्रिया दिनुहोस्