काठमाडौं- आयो नुनको एमआरपीभन्दा धेरै मूल्य लिएर बिक्री गर्ने पसललाई ३ लाखसम्म जरिवाना हुने भएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज एक सूचना जारी गरेर बजारमा एमआरपीभन्दा धेरै मूल्यमा आयो नून बिक्री भइरहेको गुनासो आएकाले मूल्य धेरै लिएमा ३ लाखसम्म जरिवाना हुने बताएको हो।
‘साल्ट ट्रेडिङ कर्पोरेशनबाट बिक्री भइरहेको आयो नूनमा एमआरपीभन्दा बढी मूल्यमा बिक्री वितरण भइरहेको छ भन्ने गुनासो आएको छ। यस विभागबाट अनुगमन हुँदा काठमाडौं महानगरपालिका- १३ सोल्टीमोडस्थित म्याक्रो मिनी मार्टमा विभिन्न वस्तुको एमआरपीभन्दा बढी मूल्य लिई बिक्री वितरण भइरहेको पाइएको छ। उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ को उपदफा (२) (ठ) बमोजिम अनुचित व्यापारिक कार्य गरेको मानिने र त्यस्तो अनुचित कार्यलाई सोही ऐनको दफा ३८ (ङ) अनुसार कसुर गरेको ठहरिनेछ। यस किसिमको कसुर गर्नेउपर सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम २ लाखदेखि ३ लाखसम्म जरिवाना हुने कानूनी व्यवस्था छ’, विभागको सूचनामा उल्लेख छ।
केही दिनअघि साल्ट ट्रेडिङ कर्पोरेशनले नुनको खुद्रा मूल्य २० बाट बढाएर २६ रुपैयाँ प्रतिकिलो बनाएको थियो।