शुक्रबार, भदौ २७, २०८२

संसद्‍मा सुनाइए अञ्जु पन्तदेखि रामकृष्ण ढकालसम्मका गीत

 |  सोमबार, असार २४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार २४, २०८१

vianetvianet

काठमाडौं- नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच यही असार १७ गते नयाँ सहमति भएपछि राष्ट्रिय सरकार निर्माण गर्ने तयारीसँगै मुलुकको राजनीति तरङ्गीत बनेको छ। उक्त सहमतिलगत्तै सत्ता साझेदार एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षी बेञ्चमा बसेको छ।

Kumaribank

एमालेले आफ्ना मन्त्रीहरुको राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार जाँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गायक फत्तेमान राजभण्डारीको एउटा गीतको हरफ एमालेका मन्त्रीहरुलाई सुनाएका थिए ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा...!’ सोही प्रसङ्ग उल्लेख गर्दै एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधि सभाको आजको बैठकमा जवाफी गीत सुनाए।

बैठकको विशेष समयमा प्रमुख सचेतक बर्तौलाले वर्तमान सरकारलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएको सन्देश लिएर मन्त्रीहरुले राजीनामा बुझाउने क्रममा प्रधानमन्त्रीले फत्तेमान राजभण्डारीको गीत सुनाएको स्मरण गराउँदै जवाफमा गायिका अञ्जु पन्तको ‘तिमीले पराई ठानेपछि, पराई हुन के भयो र तिम्रो मेरो बीचको नाता हुनुपर्ने के रह्यो र ...!’ गीत सुनाए।

प्रतिनिधिसभाको आइतबार र आज भएको बैठकमा सांसदहरुले गीतमार्फत विम्ब प्रहार गरिरहेका छन्। आइतबारको बैठकमा सांसद सुनील शर्माले गायक रामकृष्ण ढकालको गीत ‘छल गर्यो मायाले...सबैको देख्छु हासो र खुसी शिखरको बाटोमा आफू त...! गाएका थिए। बैठकमा सांसदहरुले दलीय प्रतिनिधित्व गर्दै एक अर्कालाई साङ्गीतिक झटारो प्रहार गरिरहेका छन्।

विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीले गायिका कुन्ति मोक्तानको ‘कति जल्छौँ आरिसले अझै जल्दै गर, मत हिँड्छु मेरै बाटो खुट्टा तान्दैगर’ सुनाए। उनले बैठकमा गीतको बिम्ब प्रस्तुत गरिएकाले आफूलाई पनि गीतको हरफ आएको भन्दै राजनीतिमा सरकार फेरबदल भइरहनु सामान्य कुरा भएको बताए। उनले यसलाई कुनै पनि राजनीतिक दलले अन्यथा लिन नहुने धारणा राखे।

Metro Mart

प्रकाशित: Jul 08, 2024| 18:33 सोमबार, असार २४, २०८१
प्रतिक्रिया दिनुहोस्