सोमबार, पुस ७, २०८२

मनकामना केवलकार ५० करोड खर्चेर स्तरोन्नति गरिँदै

 |  सोमबार, असार २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार २४, २०८१

काठमाडौं- नेपालको पहिलो मनकामना केवलकार आधुनिक प्रविधिमा स्तरोन्नति गरिने भएको छ। मनकामना दर्शन प्रालिले ५० करोडको लगानीमा मनकामना केवलकारलाई आधुनिक प्रविधिमा स्तरोन्नति गर्न लागिएको जनाएको हो।

National life

२६ वर्ष अगाडि जडित यो प्रविधिमा समय अनुरुप धेरै विकास भइसकेको र हाल निर्माता कम्पनीले समेत यसका पार्टपूर्जामा निकट भविष्यमा समस्या आउन सक्ने बताएकोले स्तरोन्नति गर्न लागिएको कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले बताएका छन्।

निर्माता कम्पनीकै सुझावमा समय सापेक्ष अनुसार केवलकारको स्तरोन्नति गर्न लागिएको उनको भनाइ छ। कम्पनीका अनुसार केवलकारको प्रविधि एनालगमा आधारित प्रविधि हो र यसमा जडित मुख्य मोटर डीसी करेन्टबाट चल्दछ।

हाल स्तरोन्नति हुने प्रविधि डिजिटल र नवीनतम् प्रविधि भएको कम्पनीका निर्देशक श्रेष्ठले जानकारी दिए। यसलाई डोपलमायरको डी कनेक्ट प्रणाली भनिन्छ। यसमा सम्पूर्ण डिजिटल प्रविधिबाट चल्नुका साथै मुख्य मोटर अब एसी करेन्टबाट चल्नेछ।

पुरानो मोटर, कन्ट्रोल सिस्टम सबै यसै प्रणालीमा आधारित हुने भएकोले मुख्य मेसिनहरु सोही अनुसार फेरिने हुन्छ। त्यस्तै हाल दुई स्टेशनबीच जडित सञ्चार केवल (कम्युनिकेशन केवल) समेत डिजिटल प्रविधि अनुरुप हुने भएकोले त्यो पनि परिवर्तन गरिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यसको लम्बाई ३ हजार २ सय मिटरको हुनेछ।

Laxmi sunrise bank
kumari

त्यस्तै मुख्य केवल तारको लठ्ठा पनि पुरानो भएकोले सो समेत परिवर्तन गरिने छ भने त्यसको लम्बाई ६ हजार ५ सय मिटरको हुने कम्पनीले जनाएको छ। केवलकारको सबैभन्दा सुरक्षा दृष्टिकोणले मुख्य मानिने ग्रिप, जसको माध्यमबाट तारमा झुन्डिने हुन्छ ती सम्पूर्ण उपकरण २ वर्ष अघि परिवर्तन गर्न गरिएको कम्पनीका निर्देशक श्रेष्ठले जानकारी दिए।

कम्पनीले केवलकारको स्तरोन्नतिको क्रममा मुख्य गरी मुख्य लठ्ठाको तार फेर्ने, कम्युनिकेसन तार फेर्ने, डिजिटल कन्ट्रोल सिस्टम परिवर्तन गर्ने, सबै तारहरु फेर्ने, डीसी मुख्य मोटर फेरेर एसी मोटर डाइभ राख्ने, तीन वटा टावर ओभरहालिङ गर्ने तथा जनशक्तिका लागि एड्भान्स तालिम समेत आयोजना गरिने बताएको छ।

डोपलमायरको प्राविधिक आफै आएर काम गर्ने भएकोले सबै कार्य सम्पन्न गर्न करीब दुई महिला लाग्ने अनुमान गरिएको छ। डिजिटल प्रविधि अनुसार यसको सञ्चालन छुट्टै सफ्टवेयरबाट गर्न सकिने साथै कतिपय प्राविधिक समस्या डोपलमायरबाट नै समाधान गर्न सकिने कम्पनीले जनाएको छ।

 

प्रकाशित: Jul 08, 2024| 16:58 सोमबार, असार २४, २०८१
प्रतिक्रिया दिनुहोस्