आइतबार, भदौ २३, २०८१

nespernesper

समय सकिएको ९ वर्ष हुँदा पनि सकिएनन् खानेपानीका ठूला आयोजना

 |  सोमबार, असार २४, २०८१

राजकुमार पराजुली

राजकुमार पराजुली

सोमबार, असार २४, २०८१

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकका पुराना तीन नगर धुलिखेल, बनेपा र पनौतीका लागि सञ्चालित काभ्रेपलाञ्चोक एकीकृत खानेपानी आयोजनाको समयसीमा सकिएको नौ वर्ष हुँदा पनि अझै काम सम्पन्न भएको छैन। आयोजना समयमै सम्पन्न नहुँदा जनताले खानेपानी सुविधा पाउन सकेका छैनन्।

triton college

पाँचखाल बृहत् खानेपानी आयोजनाको समय सकिएपछि १४ महिना थपिए पनि समयमा निर्माण सम्पन्न नहुने देखिएको छ। तेमाल बृहत् खानेपानी आयोजना सक्नुपर्ने मितिभन्दा ६ वर्ष लम्बिँदा पनि सकिएको छैन।

सम्झौताअनुसार नै आयोजनाको काम सम्पन्न भएको भए काभ्रेपलाञ्चोकका पुराना तीन नगरमा सञ्चालित एकीकृत खानेपानी आयोजनाको पानी नौ वर्षअघि नै ९३ हजार उपभोक्ताले प्रयोग गरिसक्नु पर्ने हो। १९ डिसेम्बर २०१२ मा ठेकेदारसँग सम्झौता भएको आयोजनाको काम १२ जुन २०१५ मा सक्नुपर्ने भए पनि अझै काम सम्पन्न हुन सकेको छैन।

चिनियाँ निर्माण व्यवसायी कम्पनी निम्वो निङसिङ इन्टरनेशनल इंकलाई अन्तिम १२औं पटक म्याद थपेर सक्नुपर्ने ३० नोभेम्बर २०२० भए पनि ठेकेदारको लापरबाही र ठेकेदारको सुपरीवेक्षणमा खटिएका परामर्शदाताको ढिलासुस्तीले हालसम्म आयोजना सम्पन्न नभएको हो। अन्तिम म्याद सकिएको भन्दै खानेपानी आयोजना व्यवस्थापन बोर्डले ठेकेदार कम्पनीलाई हर्जना तिराएर काम लगाएको थियो तर पछिल्लो केही वर्षदेखिको बेवास्ताका कारण नागरिकले खानेपानी पाएका छैनन्।
 
हाल ठकेकेदारबिना बनेपास्थित खानेपानी संस्थान र नगरपालिकाको प्रविधिकको समन्वयमा पानी बनेपास्थित क्षेत्रीय वितरण ट्यांकीबाट परीक्षणका क्रममै रहेको जनाइएको छ। पछिल्लो समय दुई वर्षअघि तीनै नगरमा स्थानीयका घरघरमा २४ सै घण्टा स्वच्छ खानेपानी खानेपानी पुर्‍याउने लक्ष्य लिए पनि केही प्राविधिक समस्याका कारण समय लम्बिएको बताइयो।

'मुहानबाट ल्याइएको पानी वितरण ट्यांकी राखेर परीक्षण भइरहेको छ, आयोजना सम्पन्न गर्न नयाँ कम्पनी खोज्ने भन्ने विषयमा छलफलमा छौँ', बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले भने, 'हामी प्राविधिकरुपमा समस्या देखिएका स्थानको पहिचान गर्दै पानी वितरण-परीक्षण पनि गर्दैछौँ, आयोजनाको काम छिट्टै सक्ने योजनामा छौँ।'

Metro Mart
vianet

उनका अनुसार ठेकेदार कम्पनीको लापरवाहीका कारण पनि आयोजनाको काम लम्बिएको हो। ठकेकेदारबाट निरन्तर काम हुन सके चार महिनाको अवधिमा आयोजना सम्पन्न हुने शाक्यको भनाइ छ। 

खानेपानी आयोजना करिब रु एक अर्बमा सम्पन्न हुने जनाइएको छ। तीन नगरका करिब ९३ हजार नागरिकलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले सन् २०१० अक्टोबर २६ मा नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी)बीच ऋण सम्झौता गरी आयोजनाको प्रक्रिया सुरु गरिएको थियो। आयोजनाको हाल भण्डारण ट्यांकी निर्माण र पाइप ओछ्याउनेलगायतका भौतिक पूर्वाधारको सम्पूर्ण काम सम्पन्न भइसकेको छ।

भौतिक पूर्वाधार निर्माणको काम सकिएपछि परीक्षणस्वरुप हाल पनौतीको शारदादेवीस्थानमा पानी पुर्‍याइएको छ भने पानी वितरणका लागि व्यवस्थित गरिएका पाइपमा प्रेसर तथा चुहावट परीक्षणको काम गर्ने भइरहेको जनाइएको छ। मुख्य तथा अन्य पाइपलाइनमा प्रेसर जाँच गर्दै धमाधम घरमा धारा जडानको प्रक्रियासमेत भइरहेको छ।

आयोजना सम्पन्न भएपछि तीन नगरमा पर्याप्त मात्रामा गुणस्तरीय स्वच्छ खानेपानी उपभोग गर्न पाइने धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जू बताउँछन्। 'निरन्तर काम भए अबको केही महिनामा तीन नगरका जनताले स्वच्छ पिउने खानेपानी पाउँनेछन्, यो निकै सुखद विषय पनि हो', उनले भने। उनका अनुसार यस आयोजनालाई तत्कालीन अवस्थामा एडीबीको सहयोगमा सञ्चालन भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनापछिको दोस्रो ठूलो आयोजनाको रुपमा हेरिएको थियो।

उता पाँचखाल नगरमा सात हजार परिवारलाई खानेपानी पुर्‍याउने लक्ष्यका साथ सुरु गरिएको पाँचखाल बृहत् शहरी खानेपानी तथा सरसफाई आयोजना थपिएको निर्धारित समयमा पनि काम सम्पन्न नहुने भएको छ।

विविध कारण आयोजनाको समायावधि २०७९ सालमा एक वर्ष थपिएपछि २०८० पुस महिनाभित्र नगरका ३१ हजार उपभोक्तामा खानेपानी पुर्‍याउने लक्ष्य लिइए पनि पुनः चार महिना समय र बजेट थप्दा पनि आयोजना सम्पन्न नहुने देखिएको छ।

परियोजनाको २०७६ भदौ १२ गते २०७९ पुस महिनाभित्र सक्नुपर्ने गरी शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिको थियो।

कोरोना महामारीलगायत सामग्री अभाव तथा विविध कारणले थपिएको एक वर्षमा नसक्दा पुनः थपिएको चार महिनामा पनि आयोजना सम्पन्न हुन सकेको छैन। यही असार मसान्तभित्र पाँचखालका घरघरमा स्वच्छ पिउने पानी पुर्‍याउने लक्ष्य लिइए पनि पूरा नहुने भएको छ। 'विविधि कारण आयोजना लम्बियो, अहिले तीन गतिमा काम भएपनि असारभित्र आयोजना सम्पन्न गर्न नसकिने भयो', उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले भने।

उनका अनुसार आयोजनाको भौतिकतर्फ करिब ९७ प्रतिशत सम्पन्न भएको छ। आयोजनाका लागि अपुग रकम नगर विकास कोषले गत वैशाखमा थप सात करोड ४३ लाख २ हजार सात सय ५० रूपैयाँ रकम उपलब्ध गराएको छ।

हाल योजनाको कार्य अन्तिम चरणमा पुग्दा प्रति सेकेन्ड ८४ लिटर पानी तान्न सफल भएको छ। यस्तै प्रतिघण्टा तीन लाख दुई हजार चार सय पानी तान्न सहज ढंगबाट सकिने र आयोजनाको लक्ष्यअनुसार लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने भएको हो। यस्तै आयोजनाअन्र्तगत सुनकोशी नदी किनारमा छ वटा इनार, चार/चार लाख लिटर क्षमताको दुई पानी संकलन ट्यांकी, तीन लाख लिटरको ब्याकवास ओभरहेड ट्यांकी, दश नयाँ वितरण ट्यांकी, छ ब्रेक प्रेशर ट्यांकी तथा १५ वटा पालेघर निर्माण सम्पन्न भएका छन्।

पाँचवटा जेनेरेटर राख्ने घर, ट्यांकी वरपर पर्खाल तथा तारबार लगाउने, छ किलोमिटर पानीको मुख्य प्रशारण लाइन, ३७ किलोमिटर शाखा प्रशारण लाइनमध्ये ३५ किलोमिटर,  दुई सय ३० किलोमिटर वितरण पाइप लाइनमध्ये हालसम्म दुई सय २० किलोमिटर पाइप लाइनको काम सम्पन्न भएको जनाइएको छ।

कुल छ हजार ३७ धारामध्ये हालसम्म करिव पाँच हजार धारा जडान, उपभोक्ता समिति भवन, पानी प्रशोधन केन्द्रका सम्पूर्ण कार्य सम्पन्न भइसकेको छ। उनका अनुसार हाल आयोजनाको २४ पानी तान्ने पम्प जडान, सात बिजुलीको ट्रान्सफर्मर जडान, खोलादेखि पानी संकलन केन्द्रसम्मको हाइटेन्सन लाइन विस्तारको काम सम्पन्न भइसकेको छ। पाँचखाल नगरमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका-१० विमीरेस्थित सुनकोशी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माण गरिएको हो।

एक अर्ब ४७ करोड ४३ लाख ६० हजार रूपैयाँको लागतमा निर्माण सम्पन्न हुने उक्त आयोजनाबाट पाँचखाल नगरपालिकाको वडा नं २, ३, ४, ६, ७, ८, ९, १०, ११ र १२ का छ हजार ३७ घरधुरीका हाललाई ३१ हजार  चार सय १५ नागरिक लाभान्वित हनेछन्। यसमध्ये दैनिक प्रतिव्यक्ति एक सय ९२ दशमलव ०५ लिटर पानी दैनिक उपभोग गर्न पाउने प्रक्षेपण गरिएको योजनामा उल्लेख छ। आगामी सन् २०४० सम्म ४५ हजार नागरिक लाभान्वित हुनेसमेत प्रक्षेपण गरिएको छ।

आयोजनाका लागि सम्झौताअनुसार दातृ निकाय, नेपाल सरकारको बजेटसँगै कुल योजनाको पाँच प्रतिशत अर्थात रु ११ करोड पाँच लाख पाँच हजार तीन सय परिवारले प्रति परिवार रु १८ हजारका दरले रकम बुझाएका छन्। यस्तै आयोजनाका लागि सम्झौता अनुसार दुई सय १४ उपभोक्ताले सहकारी संस्थाबाटसमेत ऋण लिई खानेपानीका लागि रकम बुझाएका थिए।

काभ्रेपलाञ्चोकमा सञ्चालित अर्को ठूलो तेमाल बृहत खानेपानी आयोजनाको तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई स्वच्छ खानेपानी घरघरमा पुर्‍याउने योजना पनि समयमै पूरा भएन। कोभिड र प्राकृतिक प्रकोपका कारणले लम्बिएको आयोजना पुनः दुई वर्ष धकेलिएको थियो। हाल पाइपलाइन विस्तार तथा धारा जडानका काम भइरहेकाले केही महिनाभित्र घरघरमा खानेपानी पुर्‍याउने गरी आयोजनाको अन्तिम चरणका काम भइरहको समितिले जनाएको छ।

'धारा जडानलगायत केही काम बाँकी छन्, केही महिनाभित्र खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ काम भइरहेको छ' समितिका अध्यक्ष सङ्ग्रामजित लामाले भने। उनका अनुसार आयोजनाको काम अन्तिम चरणमा पुगेको हो।

विसं २०७२ असार महिनामा तीन वर्षमा सक्नेगरी सम्झौता भएको आयोजना नेपाल सरकार, खानेपानी विभागमार्फत एक अर्ब २७ करोड रूपैयाँ, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना भने बनिसकेका छन्। प्रशोधन केन्द्रदेखि वितरण ट्यांकीसम्मको पाइपमासमेत पानी परीक्षण भइसकेको जनाइएको छ।

हाल तेमाल गाउँपालिका-१ सस्यूखर्क र आधावाट, वडा नं ७ को चापखोरी र वडा नं ५ को याङ्वेल तथा नमोबुद्ध नगरपालिका-५ कोटतेमाल र कालीमाटीका करिव नौ सय घरमा खानेपानी पुर्‍याइएको लामाले बताए। तेमाल क्षेत्रका नौ हजार तीन सय १० परिवारका करिब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो।

रोशी गाउँपालिका-७ कटुञ्जेस्थित ११० घरपरिवारका लागि एक महिनाभित्रै उक्त आयोजनाको खानेपानी वितरण गरिने तयारी भएको लामाले जानकारी दिए। याङ्बेल डाँडामा आयोजनाको चार लाख लिटर क्षमताका दुई मुख्य ट्यांकी निर्माण गरिएको छ।

तेमाल क्षेत्रअन्तर्गत तेमाल गाउँपालिकाको नौ वटा वडा, नमोबुद्ध नगरपालिकाको ३, ४ र ५ तथा रोशी गाउँपालिका-७ का बासिन्दाले उक्त खानेपानी उपभोग गर्न पाउने भएका हुन्।     -रासस

प्रकाशित: Jul 08, 2024| 18:01 सोमबार, असार २४, २०८१
प्रतिक्रिया दिनुहोस्