सोमबार, पुस ७, २०८२

बाँझो जमिनमा रोपियो २८ सय सुन्तलाका बिरुवा

 |  आइतबार, असार २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार २३, २०८१

बागलुङ- गाउँमामा बसाइँसराइको दर बढ्दो छ। बसाइँसराइले उजाडिँदै गएको गाउँमा स्थानीयले सुन्तलाखेती थालेका छन्। बागलुङको जैमिनी नगरपालिका-२ दमेक चैराकका स्थानीय बाँझो जमिनको उपयोग गरी सुन्तला खेती गर्न थालेका हुन्। 

National life

वर्षौँदेखि सुन्तला उत्पादन हुँदै आएको दमेकमा यस वर्ष थप दुई हजार आठ सय बिरुवा लगाइएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङको सहयोगमा स्थानीयले सुन्तला खेती विस्तार गरेका हुन्। परम्परागत रुपमा खेती गर्दै आएका किसानले नयाँ प्रविधिमार्फत जग्गा चक्लाबन्दी गरी खुन्तला खेती गर्न थालेका छन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङको रु १० लाख र स्थानीय किसानको रु छ लाख ४० हजारमा एक सय ४० रोपनी बाँझो जग्गामा सुन्तलाका बिरुवा  लगाइएको हो। 

सुन्तला बेचेर वार्षिक रु ४० लाख गाउँमा भित्राउँदै आएका यहाँका किसानले अब केही वर्षमै आम्दानी बढाउने गरी खेती सुरु गरेका हुन्। सुन्तला खेतीले गाउँका खाली जग्गा सदुपयोगमा आउने र किसानको आम्दानीको स्रोत बन्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङका प्रमुख नारायण पौडेलले बताए। 

चक्ला बन्दी गरेर कृषि गर्नका लागि कार्यालयले आवेदन आह्वान गरेको र त्यसमा धेरैले आवेदन दिए पनि दमेकी कृषक छनोटमा परेपछि सुन्तलाका बिरुवा लगाइएको उनले बताए। 

Laxmi sunrise bank
kumari

प्रमुख पौडेलले दमेक क्षेत्र सुन्तला उत्पादनका लागि निकै उपयुक्त क्षेत्र भएको भन्दै किसानले पर्वतको जलजलाबाट रैथाने जातको बिरुवा लिएर लगाएको बताए। उनका अनुसार सुन्तला उत्पादनका लागि मध्यपहाडी क्षेत्रको हावापानीमा उपयुक्त हुन्छ। यहाँ सुन्तला लगाएपछि बाँझो जमिन प्रयोगमा आएको पौडेलले बताए। कम मेहेनतमा पनि राम्रो आम्दानी गर्न सकिने हुँदा पछिल्लो समय किसान सुन्तला खेतीतर्फ आकर्षित भएको उनको भनाइ छ। 

“हाम्रो कार्यालयले कृषि र पशुपालनको क्षेत्रमा काम गर्दै आएको छ, यस वर्ष दमेकको चैराकको ठुलो क्षेत्रमा सुन्तलाका बिरुवा लगाइएको छ”, उनले भने, “ यहाँ पहिलेदेखिनै सुन्तला खेती गर्दै आउनुभएको रैछ, सुन्तला खेतीका लागि यो ठाउँ उपयुक्त पनि मानियो।” 

दमेकी सुन्तला कृषक समूह जैमिनी नगरपालिका-२ का अध्यक्ष ओमप्रकाश सापकोटाले गाउँमा मकै, धानसहित स्थानीयले धेरै वर्ष अगाडिदेखि सुन्तला खेती गर्दै आएकोमा पछिल्लो समय व्यवसायिक रुपमा खेती गर्न लागेको बताए। यहाँ उत्पादन हुने सुन्तलाले अहिलेसम्म बजारको समस्या भोग्न नपरेको भन्दै हरेक वर्ष पोखरा, काठमाडौँ र नारायणगढसम्म पुग्ने गरेको अध्यक्ष सापकोटाले बताए।

उनले भने, “पहिला–पहिला गाउँका जग्गा जमिनमा धान, गहुँ, मकै र कोदो लगाउने चलन थियो, सुन्तला लगाए पनि एक/दुई बोट बारीको छेउमा लगाउने गरिन्थ्यो, अहिले सिङ्गो बारीनै सुन्तला खेतीका लागि प्रयोग गर्न थालिएको छ।”

प्रकाशित: Jul 07, 2024| 22:01 आइतबार, असार २३, २०८१
प्रतिक्रिया दिनुहोस्