आइतबार, असोज २०, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • मन्त्रालय भागवण्डाको तयारीमा कांग्रेस-एमाले, प्रधानमन्त्रीलाई राजीनामा दिन दबाब

Siddartha premir insuranceSiddartha premir insurance

मन्त्रालय भागवण्डाको तयारीमा कांग्रेस-एमाले, प्रधानमन्त्रीलाई राजीनामा दिन दबाब

 |  आइतबार, असार २३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार २३, २०८१

काठमाडौं- सत्ता सहकार्यका लागि सहमति गरेका नेपाली कांग्रेस र नेकपा एमाले मन्त्रालय भागवण्डाको तयारीमा जुटेका छन्। प्रधानमन्त्रीको हकमा भने सुरुमा एमाले अध्यक्ष केपी ओली र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने समझदारी भएको छ।

triton college

एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नयाँ सरकार गठनका लागि असार २८ गतेसम्ममा मन्त्रालयको भागबण्डा टुंगो लगाउने बताएका छन्। आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भागबण्डाको टुंगो भइनसकेको र असार २८ गते सम्ममा टुंगो लगाउने बताए। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिँदैछन्। उनले विश्वासको मत नपाउने निश्चित छ। दाहालको पक्षमा अब माओवादीका ३२, रास्वपाका २१ र नेकपा एसका १० गरी ६३ जना सांसदमात्र छन्। उनलाई समर्थन गरेका जनमत (६ सांसद) र नागरिक उन्मुक्ति (४ सांसद) ले सरकारलाई दिएको समर्थन ‌औपचारिक रुपमा फिर्ता नलिए पनि समर्थन नगर्ने बताइसकेका छन्। संसद्‍मा विश्वासको मत प्राप्त गर्न १३७ सांसदको समर्थन आवश्यक पर्छ।

‘सम्माननीय प्रधानमन्त्रीजीले तत्कालै आजभोलि नै राजीनामा दिएर एउटा सहज मार्गप्रशस्त गर्नुभयो भने हामी तयारी अवस्थामा नै रहन्छौं,’ बर्तौलाले भने, ‘अन्यथा असार २८ गतेसम्म नै जानुपर्ने भयो भने २८ गते बेलुकासम्म कसरी जाने भन्ने मन्त्रालयको भागबण्डाको बारेमा हामी टुंगो लगाउँछौं।’ प्रमुख सचेतक बर्तौलाले राष्ट्रिय सहमतिको सरकार बनाउने भएकाले पनि मन्त्रालय भागबण्डाको विषय टुंगिन केही समय लाग्ने बताए। 

एमालेको आइतबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन आग्रह गरेको छ। यसैगरी एमाले र कांग्रेसले संसद्‌बाट पनि प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेका छन्। आइतबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले मार्गप्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराए।

Metro Mart
vianet

एमाले र कांग्रेस राष्ट्रिय सहमतिको सरकार बनाउन सहमत भएको भन्दै उनले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेका हुन्। “वर्तमान सरकारले बहुमत गुमाएको छ। बहुमत गुमाएको सरकार पदमा रहिरहन अनुचित हुन्छ। नेपाली कांग्रेस र नेकपा (एमाले) बीचमा नयाँ राष्ट्रिय सरकार बनाउने सहमति भएको छ। यो अभियानलाई सहयोग गर्न मार्गप्रशस्तका लागि प्रधानमन्त्रीलाई आग्रह गर्छु,” उनले भने।

एमालेका सांसद सूर्यप्रसाद ढकालले पनि सरकार अल्पमतमा परेको भन्दै मार्गप्रशस्त गर्न अनुरोध गरे। “सरकार अल्पमतमा परेको हुनाले छिटोभन्दा छिटो राजीनामा दिएर मार्गप्रशस्त गर्न अनुरोध गर्न चाहन्छु,” उनले भने।

एमालेका सांसद रघुजी पन्तले अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिएर बाटो फुकाउनुपर्ने बताए। अल्पमतमा परेपछि ७६ (२) मा जान्छ कि ७६ (३) मा जान्छ, त्यो राष्ट्रपतिको चिन्ताको विषय हो। उहाँको काम भनेको बहुमत नभएपछि तत्काल राजीनामा दिएर बाटो फुकाउने हो,” उनले भने।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई पहिरोजस्तै पन्छाउन हतार भइसकेको बताए। “बाढीपहिरोले देशभर सडक अवरुद्ध गरेको छ। सदन पनि सरकारले अवरुद्ध गरिदियो। देशव्यापी रूपमा बाढीपहिरो पन्छाउने काम सडकमा गरेझैं सदनमा पनि सरकारलाई पन्छाउने काम गर्नुपर्‍यो। नभए बाटो छेकेजस्तो भएको छ,” उनले भने।

प्रकाशित: Jul 07, 2024| 19:02 आइतबार, असार २३, २०८१
प्रतिक्रिया दिनुहोस्