आइतबार, चैत २९, २०८२

पहिरोले रिडी-पूर्तिघाट सडक अवरुद्ध

 |  शुक्रबार, असार २१, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २१, २०८१

गुल्मी- वर्षाका कारण पहिरो गएपछि कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीको रिडी-पूर्तिघाट सडकखण्ड अवरुद्ध बनेको छ। गएराति वर्षासँगै आएको पहिरोका कारण सडक अवरुद्ध भएको हो।

National life

कालीगण्डकी गाउँपालिकाको भुर्तुङ र वडा नं ३ को मुल्कामा गएराति सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक शंकर पोख्रेलले जानकारी दिए। लगातार वर्षा भइरहेकाले पहिरो पन्छाएर सडक सञ्चालन गर्न समस्या भइरहेको उनले बताए।

वर्षाका कारण आज बिहानदेखि अवरुद्ध बनेको तम्घास‐रिडी खण्ड भने सञ्चालन भएको सूचना अधिकारी पोख्रेलले जानकारी दिए। उक्त खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिकाको कालीका मोड, छत्रकोट गाउपालिकाको शृङ्गा र गुल्मीदरबार गाउँपालिकाको बिरबासमा पहिरो गएपछि बिहानैदेखि सडक अवरुद्ध बनेको थियो। अवरुद्ध सडक स्थानीय पालिका र निर्माण व्यवसायीको पहलमा सञ्चालन गरिएको हो।

सडक सञ्चालन भएसँगै लामो तथा छोटो दूरीमा आवतजावत गर्ने र बीचमा रोकिएका सम्पूर्ण सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका सूचना अधिकारी पोख्रेलले बताए। वर्षाका कारण सडक अवरुद्ध बनेपछि ग्रामीण भेगबाट सदरमुकाम तम्घास आउने एक दर्जनभन्दा बढी सडक अवरुद्ध बनेका छन्।

निरन्तर वर्षा भइरहेकाले जिल्ला प्रशासन कार्यालयले नदी तथा खोला किनार क्षेत्र र पहिरोग्रस्त क्षेत्रका स्थानीयलाई सर्तक रही सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। प्रशासनले वर्षाको समयमा अत्यावश्यक काम बाहेक मानिसलाई लामो यात्रामा ननिस्कनसमेत आग्रह गरेको छ।

kumari

वर्षाका कारण कालीगण्डकी, बडिघाट, छल्दी, निस्तीलगायत नदी तथा स्थानीय खोलामा पानीको बहाव बढ्दै जान थालेकाले सर्तक रहन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित: Jul 05, 2024| 13:45 शुक्रबार, असार २१, २०८१
प्रतिक्रिया दिनुहोस्