आइतबार, जेठ २५, २०८२

रास्वपाका महामन्त्री मुकुल ढकाल निलम्बित

 |  बिहीबार, असार २०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार २०, २०८१

vianetvianet

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई सात दिनको लागि पदबाट निम्बलन गरेको छ। 

बुधबार बसेको केन्द्रीय समितिको बैठकले डा. ढकाललाई पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै सात दिन निलम्बन गर्ने निर्णय गरेको हो।

केन्द्रीय समितिको बैठकले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र मनीष झालाई प्रवक्ता तोकेको छ। बुधबार नै डा. ढकाललाई निलम्बनको पत्र थमाइएको छ। पत्रमा बुधबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिएको बताइएको छ।

‘असार १० गते बसेको केन्द्रीय समितिको बैठकमा तपाईंले पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँड्नुभएकाले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १८, राष्ट्रिय स्वतन्त्र पार्टीको विधानको धारा ५५.७ (क) र (ख) तथा धारा ५६ (१) तथा केन्द्रीय अनुशासन आयोगको नियमावली, २०८० को नियम ५.२ र परिच्छेद ७ को नियम १४ बमोजिम एवं केन्द्रीय अनुशासन आयोगको सिफारिस बमोजिम केन्द्रीय समितिले महामन्त्री तथा प्रवक्ता पदबाट तत्काल लागू हुने गरी ७ दिनका लागि निलम्बन गरिएको व्यहोरा जानकारी गराइन्छ,’ उपसभापति डिपी अर्याल (डोलप्रसाद) ले हस्ताक्षर गरेको पत्रमा भनिएको छ।

यसैबीच महामन्त्री ढकालले आफूलाई स्पष्टीकरणको मौका समेत नदिएको गुनासो गरेका छन्। राजनीतिक दलसम्बन्धी ऐन र प्रचलित लोकतान्त्रिक अभ्यास अनुरूप  कारबाही नभएको बताएका छन्।

National life insurance

‘राजनीतिक दलसम्बन्धी ऐन र प्रचलित लोकतान्त्रिक अभ्यास अनुरूप कसैलाई पनि कारवाही गर्नुअघि स्पष्टीकरणको मौका दिनपर्छ। स्पष्टीकरणको मौका पनि नदिइ कारबाही भयो। अनुशासन आयोगले १४ गते मलाई स्पष्टीकरणको लागि ७ दिनको मौका दिएको थियो। स्पष्टीकरण मैले केन्द्रीय समितिको बैठकमा पेस गर्ने गरी तयार पारेको पत्रलाई सभापतिले पेश गर्ने अनुमति दिनु भएन। तर मैले दर्ता गर्नका लागि आग्रह गरेको थिएँ। सभापतिले दर्ता पनि रोकिदिनु भनेर मेरै अगाडि कार्यलय सचिवलाई भन्नुभयो,’ उनको आरोप छ।

यसअघि पार्टी उपसभापति डिपी अर्याल (डोलप्रसाद) ले ढकाललाई महामन्त्री स्वीकार्न नसकिने बताएका थिए। ढकालको प्रतिवेदनका आधारमा नभई उनले अस्वाभाविक गतिविधि गरेकामा कारबाहीको भागी हुने अर्यालले टिप्पणी गरेका थिए।

बुधबार महामन्त्री ढकालले ३९ जिल्ला घुमेर तयार पारिएको प्रतिवेदन छलफल गर्ने केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गरेका थिए। पार्टी उपसभापति स्वर्णिम वाग्लेका अनुसार सभापति रवि लामिछानेले त्यस विषयलाई केन्द्रीय समितिमा प्रस्तुत गरेका थिए। तर शतप्रतिशत केन्द्रीय सदस्यले अस्वीकृत गरेका थिए।
केन्द्रीय समितिले लाइभ गर्ने प्रस्ताव विफल तुल्याएपछि महामन्त्री ढकाल मुखमा कालो टेप टाँसेर विरोधमा बसेका थिए।

प्रकाशित: Jul 04, 2024| 08:33 बिहीबार, असार २०, २०८१
प्रतिक्रिया दिनुहोस्