शनिबार, असार २२, २०८१

ललितपुर महानगरले भत्कायो अतिक्रमित संरचना

 |  बुधबार, असार १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार १९, २०८१

पाटन- ललितपुर महानगरपालिकाले सम्पदा अतिक्रमणगरी बनाइएको व्यक्तिगत संरचना भत्काएको छ। मन्दिर र गुठीको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए।

triton college

'स्थानीय र गुठियारको विरोधपछि मिचिएको जग्गामा बनेको पर्खाल भत्काउन महानगरले आदेश दिएको थियो, उक्त आदेश अटेर गरेपछि ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित डा सुमित्रा अमात्य र दिवस अमात्यको घरको कम्पाउण्ड पर्खाल आज दिउँसो महानगरपालिकाको टोलीले डोजर लगाएर भत्काएको हो', प्रवक्ता महर्जनले भने।

चाकुपाट सरस्वती खेल गुठीले दिएको निवेदनका आधारमा संरचना भत्काउन महानगरले दिएको निर्देशन नमानेपछि महानगरले डोजर चलाउनुपरेको महानगरप्रमुख चिरिबाबु महर्जनले बताए। 'वडा नं १० चाकुपाटमास्थित तःननी, चाबा, मिखाबहाल र अमात्य गुठी मिचिएको जग्गामा बनेको संरचना आज हामीले डोजर लगाएर भत्कायौँ। हामीले पटकपटक आग्रह गर्दा पनि उहाँहरूले भत्काउनुभएन, गुठियारले धेरै आग्रह गरेपछि आज डोजर नै चलाउनुप-यो', नगरप्रमुख महर्जनले भने।

गुठीको भोजमा प्रयोग हुने सो जग्गा संरक्षण गर्न गुठियारको चाहानाबमोजिम मात्र काम हुने उनले जानकारी गराए। 'हामी समयसापेक्ष कार्यान्वयन गर्न लागिपर्नेछौँ, सार्वजनिक, पर्ती जग्गा संरक्षण गर्नेगरी महानगरको नगरसभाबाट निर्णयसमेत भएको छ। चार पाँच वटा गुठीको भोज गर्ने स्थानलाई तहसनहस पार्न खोजिएकाले भत्काइदिएका हौँ', उनले भने।

पाटनका स्थानीय तथा गुठियार कुलाल डंगोलले अमात्यहरुको दुईतले भवन भएको ठाउँ भत्काएर अतिक्रमण गरिएको बताए। 'पटक-पटक स्थानीयलाई दुःख दिएर गुठीको जग्गा दुरुपयोग गर्न खोजिएको र स्थानीय सरकारलाई लत्याएर गरिएको कामको विरोध गरेका हौँ', डंगोलले भने।

Metro Mart

तःननी गुठीका गुठियार सुरेशमान महर्जनले गुठीकै आग्रहमा महानगरले संरचना भत्काउने काम गरेको जानकारी दिए। 'त्यो सार्वजनिक जग्गा भए पनि गुठीका नाममा लालपुर्जा बनिसकेको छ। कित्ता नं ३१६ मा देवाली गुठीका नाममा चार रोपनी जग्गा छ', उनले भने।

प्रकाशित: Jul 03, 2024| 21:23 बुधबार, असार १९, २०८१
corrent noodlescorrent noodles
प्रतिक्रिया दिनुहोस्