सोमबार, चैत ३०, २०८२

ड्रागनखेतीबाट प्रशस्त आम्दानी गर्दै कैलालीका गणेश

 |  मंगलबार, असार १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार १८, २०८१

लम्की- राजनीतिकसँगै ड्रागन फल खेतीमा लागेका कैलालीको लम्कीचुहा-१ का गणेश ढकाललाई यति बेला भ्याइनभ्याइ छ। राजनीतिकसँगै उत्पादनसहितको आयआर्जनमा जोडिनुपर्छ भनेर उनले तीन वर्षअघि विसं २०७८ देखि ड्रागन फल खेती सुरु गरेका थिए।

National life

यस क्षेत्रमा धेरैलाई ड्रागनखेती गर्नुपर्छ भन्ने थाहा थिएन तर विभिन्न माध्यमबाट उक्त खेतीबारे जानकारी पाएका ढकालले तीन वर्षअघि रु सात लाख लगानी गरेर व्यवसाय सुरु गरेका थिए। उनले दाङ र बाँकेबाट आठ सय बिरुवा ल्याएर खेती सुरु गरेको बताए। ती बिरूवाले यतिखेर प्रशस्त उत्पादन दिइरहेका छन्।

‘भूमिपुत्र कृषि तथा पशुपक्षी फर्म ड्रागन पार्क’ नामक फार्म स्थापना गरेर ड्रागनको खेती सुरु गरेका ढकालले एक वर्षमै फल र बिरूवा बेचेर मनग्य आम्दानी भइरहेको बताए। उनको फार्ममा ‘मलेसियन रेड’ प्रजाति (रातो फल) को ड्रागन लटरम्मै फलेको छ। साथै यो वर्षदेखि उनले ‘हाईब्रेड सि’ रेड प्रजाति (रातो फल) को ड्रागन फलसमेत लगाएको जानकारी दिए।

'यस क्षेत्रमा कसैले पनि ड्रागन खेती गरेका थिएनन् तर माग भने बढ्दो थियो, त्यसै कारण तीन वर्ष अगाडि व्यवसाय सुरुवात गरेँ। पहिलोपटक खेती गर्दा सफल होला वा नहोला भन्ने अन्योल र चिन्ता थियो तर अहिले राम्रो आम्दानी दिइरहेको छ, यति छिटो आम्दानी देला भन्ने सोचैकै थिइनँ', ढकालले भने।

विसं २०४७ सालदेखि विद्यार्थी राजनीतिमा लागेको बताउने ढकाल १० बर्से जनयुद्धमा समेत सामेल भए। उनी विप्लव सी नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टीमा आबद्ध छन्। पार्टी कामकै सिलसिलामा देशका विभिन्न भागमा जानेक्रममा दाङ र बाँकेमा गरिएको ड्रागन फल खेतीबाट सामान्य जानकारी पाएपछि आफैले खेती सुरु गरेको ढकालले बताए।

kumari

पानी नजम्ने बलौटे माटोमा फल्ने ड्रागन फलले बैशाखदेखि कात्तिकसम्म फल दिने गरेको छ। स्वादिलो तथा पोषिलो यो फलको माग राम्रो रहेको थाहा पाएपछि यसतर्फ लागेका ढकालले वार्षिक आठ क्वीन्टलसम्म फलको कारोबार गरिसकेका छन्।

उनले पहिलो वर्षमा ६० किलोग्राम फल बेचेर चार लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको बताए। दोस्रो वर्षमा आठ क्वीन्टल फल र एक हजार बिरुवा बेचेर ६ लाख रूपैयाँ आम्दानी गरेका ढकालले यो वर्ष १६ क्वीन्टल फल र तीन हजार बिरुवा बिक्री गरी १२ देखि १५ लाखसम्म आम्दानी गर्ने लक्ष्य रहेको सुनाए।

बजारमा ड्रागन फल प्रतिकिलो सातसय ५० रूपैयाँ पर्ने गरेको छ तर उनले बारीबाटै ६ सय ५० रूपैयाँमा बिक्री गरिरहेका छन् भने बिरुवा दुई सय ५० रूपैयाँमा बेचिरहेका छन्। उनले तीन जनालाई रोजगारीसमेत दिएका छन्। 

ढकालले एउटा बोटमा पाँच किजीसम्म फल लाग्ने गरेका र उत्पादित फल स्थानीय लम्की बजारका साथै धनगढी, नेपालगञ्ज र सुर्खेतसम्म पठाउने गरेको जानकारी दिए। 'स्थानीय र जिल्लामा रहेका बजारका साथै टाढाबाट पनि माग आइरहेको छ तर सीमित उत्पादनका कारण मागपूर्ति गर्न सकेको छैन। खेती विस्तार गर्ने योजनाबारे सोच्दैछु', उनले भने। रासस

प्रकाशित: Jul 02, 2024| 20:31 मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्