बुधबार, पुस ९, २०८२

विपद्‍का घटनामा एक वर्षमा ६१ जनाले गुमाए ज्यान

 |  शुक्रबार, जेठ २५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २५, २०८१

मकवानपुर- पछिल्लो एक वर्षको अवधिमा बागमती प्रदेशमा विपद्का विभिन्न घटनामा परी ६१ जनाको मृत्यु भएको छ। गतवर्षको जेठदेखि हालसम्म प्रदेशमा भएका आठ सय ३६ विपद्का घटनामा ६१ जनाको मृत्यु भएको हो।

National life

सो अवधिमा ६१ को मृत्यु, एक सय ७७ जना घाइते हुनुका साथै तीन जना बेपत्ता भएका प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत रविता कार्कीले जानकारी दिइन्। उनले सोही अवधिमा भएका घटनामा करिब रु ५१ करोडका साथै एक सय ७८ पूर्वाधारको क्षति भएको बताइन्। 

विपद्मा परेर छ सय ३१ पशुचौपाया मरेका मन्त्रालयले जनाएको छ। ‘प्रदेशमा चार सय ९७ आगलागीका घटना, एक सय २३ स्थानमा वन डढेलो, एक सय ९८ स्थानमा पहिरो गएका छन्’, अधिकृत कार्कीले भनिन्, ‘४२ वटा जनावर आतक, १६ भारी वर्षा भएको तथ्याङ्क छ। त्यस्तै बाढी १२, हुरी ११, अन्य गैरप्राकृतिक विपद् तीन, सर्पदंश तीन, हिमपहिरो तीन र एक पटक भूकम्प गएको तथ्याङ्क मन्त्रालयसँग छ।’

वाग्मती प्रदेश विपद्को दृष्टिकोणले बहुप्रकोपकारुपमा उच्च जोखिममा रहेको कार्कीले बताइन्। नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा सबैभन्दा बढी पहिरोका घटना भएको उनले जानकारी दिइन्। 

दश वर्षको तथ्याङ्क हेर्दा सोही अवधिमा एघार हजार आठ सय ५२ जनाको मृत्यु भएको छ। उक्त समयावधिमा भूकम्पमा परेर आठ हजार तीन सय ७०, आगलागीमा चार सय ६९, बाढीमा एक हजार एक सय २८ र पहिरोमा एक हजार आठ सय ८५ जनाको मृत्यु भएको अधिकृत कार्कीले जानकारी दिइन्।  

Laxmi sunrise bank
kumari

विपद्मा परेर एघार लाख ९९ हजार छ सय १६ मानिस प्रभावित बनेका छन् भने पाँच लाख चार हजार निजी घर क्षतिग्रस्त भएका तथ्याङ्कमा उल्लेख रहेको छ। दश वर्षको अवधिमा विपद्मा परेर प्रदेशमा रु सात खर्बको क्षति भएको कार्कीले बताउनुभयो। उहाँका अनुसार भूकम्प, आगलागी, बाढी र पहिरोका कारण रु सात खर्ब ६५ अर्ब ७९ करोड ८८ लाख ४० हजार बराबरको क्षति भएको छ।

प्रकाशित: Jun 07, 2024| 17:01 शुक्रबार, जेठ २५, २०८१
प्रतिक्रिया दिनुहोस्