काठमाडौं- कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशको सूचना बेच्ने मान्छेहरू सदनमै रहेको भन्दै दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री पु्ष्पकमल दाहालको जवाफ मागेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै थापाले मन्त्री लामिछानेको उक्त अभिव्यक्ति कि त संसद्बाट हटाउन नभए त्यसको जिम्मेवारी लिई जवाफ दिन भनेका हुन्। 'सूचना बेच्ने मान्छेहरू पनि सदनमा छन् भनेर गृहमन्त्रीले भन्नुभयो। सदनमा गएर बोलेपछि जवाफ दिनुपर्छ। सूचना बेच्नेलाई देशद्रोहको मुद्दा लगाउनुपर्छ। अब हामी चुप लागेर बसेर हुँदैन। गृहमन्त्री होइन प्रधानमन्त्रीसँग हिसाबकिताब माग्नुपर्छ।'
उनले गृहमन्त्री लामिछानेले आफैंलाई लक्षित गरेर भनेको उक्त अभिव्यक्तिले कुनै असर नपर्ने बताए। थापाले भने- सत्तासँग लड्दा घाउ कसरी लाग्छ मलाई राम्ररी थाहा छ। एक्लै देशद्रोहको मुद्दा खेपेर आएको हुँ। अछ्युँ खाएँ बछ्युँ खाएँ झुसे बारुलो!'
उनले सदन चटकेले सडकमा जस्तो बोल्न पाउने ठाउँ नभएको भन्दै जथाभावी बोलेकोमा आपत्ति जनाए। 'बाहिर एउटा चटकेको जस्तो बोल्न पाइएला तर संसद् चटक देखाउने ठाउँ होइन। सम्माननीय प्रधानमन्त्रीले रेकर्डबाट हटाउनुपर्यो । होइन भने प्रधानमन्त्रीसँग हिसाबकिताब लिइन्छ,' उनले भने।