काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडकमा ल्याएर उभ्याउने कुराले हुकुमी शासनको झल्को आएको भन्दै तत्काल यो व्यवस्था खारेज गर्न माग गरेका छन्।
उनले मन्त्रीको मौखिक निर्देशनका भरमा कुनै नागरिकलाई सडकमा उभ्याउने कुरा गलत भएको भन्दै यो व्यवस्था हटाउनका लागि सदनबाट रुलिङ गर्न पनि सभामुखको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसद खतिवडाले भने, 'मुलुक हुकुमी शासनमा चलेको छ। मापसे गरेरको मान्छेलाई सडकमा उभ्याउने कुन कानुनमा छ? फेरि हुकुमी शासन चलाउने हो? यो विषयमा रुलिङ हुनुपर्छ।
सांसद खतिवडाले गृहमन्त्रीलाई पत्रकार हुँदाजस्तो बोलेर र ट्वीट गरेर मुलुक नचलाउन पनि आग्रह गरे। 'मिडिया ट्रायल गरेर मन्त्रालय चलाउने होइन। कानुनअनुसार चलाउनु पर्यो। कसैको शोषण गर्न पाइँदैन,' उनले भने, 'पत्रकारजस्तो बोलेर ट्वीट गरेर मुलुक चलाउने हो। कानुनअनुसार देश चलाउने पद्धतिको विकास गर्नुपर्छ।’
गत जेठ १५ गते गणतन्त्र दिवसको दिन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मौखिक रुपमा ट्राफिक नियम उल्लंघन गर्नेहरूले अनिवार्य रुपमा सडकमा ट्राफिक स्वयंसेवकको रुपमा काम गर्नुपर्ने निर्देशन दिएका थिए। त्यसपछि हरेक दिन प्रहरीले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई सडकमा परिचालन गर्दै आएको छ।