काठमाडौं- सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
शनिबार संसद् भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकमा उनले सत्तारुढ दलहरूसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै अर्थमन्त्री वर्षमान पुनले नेकपा (माओवादी केन्द्र) प्रति ढल्किएको बजेट ल्याएको टिप्पणी गरे।
बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको उल्लेख गर्दै उनले बजेट निर्माणमा प्रक्रियामा नै कमीकमजोरी सरकारले गरेको दाबी गरे। अध्यक्ष ओलीले बजेटमा कमी भएको औँल्याए पनि सो बजेटलाई समर्थन र पारित गरेर जाने एमालेको नीति रहेको पनि स्पष्ट पारे। उनले सरकारले प्रस्तुत गरेको बजेटमाथि आफ्नो पार्टीले खुलेर छलफल गर्न चाहेको पनि बताए।
अध्यक्ष ओलीले बजेट निर्माणका क्रममा सत्तारुढ दलसँग छलफल नगरिएको बताए। उनले बजेटमाथि खुलेर छलफल गर्न आफ्ना सांसदलाई निर्देशन दिए।
सत्तारुढ दलसँग छलफल नगरिएकाले यो बजेट माओवादी पार्टीको जस्तो देखिएको टिप्पणी गरे। “यो बजेट सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर आएको भए धेरै राम्रो हुन सक्थ्यो,” अध्यक्ष ओलीले भने, “छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो बढ्ता देखिन गएको छ।”
त्यस्तै, बजेट माओवादीतिर ढल्किएको पनि ओलीको भनाइ थियो। “रकमको बाँडफाँट पनि त्यसैगरी एकतिर ढल्किएजस्तो देखिन्छ,” ओलीले भने, “यसको निर्माण प्रक्रियामा कमजोरी रहँदा गम्भिर त्रुटी भएका छन्।”
यससँगै बजेटले सही बाटो समात्न नसकेको पनि ओलीको टिप्पणी छ। “हामीले समाजवाद निर्माणको बाटो लिएका छौं। त्यसका लागि समाजवाद निर्माणका आधारहरू तयार गर्ने, समाजवादउन्मुख बजेट, नीति, कार्यक्रम, योजनाहरू, ती कुराहरू बजेटले स्पष्ट ढंगले समाउनु पर्थ्यो,” उनले भने, “अलि अन्योलग्रस्त देखिन्छ।”
उनले बजेटमाथिको छलफलमा आफ्नो कुरा खुलेर राख्न सांसदलाई निर्देशन दिए। अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेका थिए।