बुधबार, पुस ९, २०८२

चिडिया तालसम्म पदमार्ग निर्माण

 |  शनिबार, जेठ १९, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १९, २०८१

धनगढी- कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीस्थित जैविक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण चिडिया तालसम्म पदमार्ग निर्माण गरिएको छ।

National life

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशको पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइले चालु आर्थिक वर्षमा रु १५ लाखको लागतमा चार सय मिटर लामो पदमार्ग निर्माण गरेको हो।

पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइका निमित्त प्रमुख डबलबहादुर बोहराका अनुसार उपभोक्ता समितिमार्फत उक्त पदमार्ग निर्माण गरिएको हो। पदमार्ग निर्माण भएसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई दृश्यावलोकन गर्न तथा वनभोजका लागि सहज हुने निमित्त प्रमुख बोहराले बताए।

‘पर्यटकलाई आकर्षित गर्न पदमार्ग निर्माण गरिएको हो’, उनले भने।

ताल क्षेत्रमा खानेपानी, उद्यानलगायत संरचना निर्माण गर्नुपर्ने उनको भनाइ छ। यसका लागि प्रदेश सरकारले योजना बनाइरहेको निमित्त प्रमुख बोहराले बताए।

Laxmi sunrise bank
kumari

पूर्व–पश्चिम राजमार्गदेखि करिब दुई सय ५० मिटर उत्तरमा रहेको सो ताल सामुदायिक वन क्षेत्रमा पर्छ। उक्त क्षेत्रमा साना र ठूला गरी अन्य १२ वटा ताल रहेका छन्। रमणीय ठाउँ भए पनि यसको प्रचारप्रसार हुन नसकेको स्थानीय एकेन्द्र शाही बताउँछन्।

पदमार्ग बनेपछि ताल अवलोकन गर्न आउनेको सङ्ख्या बढेको छ । सीमसार क्षेत्र रहेकाले सो ताल क्षेत्रमा विभिन्न प्रजातिका चरा, कछुवा, माछा, अजिङ्गरलगायत पाइन्छन्।

करिब ३० बिघा क्षेत्रफलमा सो ताल फैलिएको छ। विश्व रामसार क्षेत्र सूचीकृत घोडाघोडी ताल नजिकै रहेकाले उक्त ताललाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सके स्थानीयस्तरमा रोजगारी सृजना गर्न सकिने घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावतले बताए।

यसैगरी कैलालीको चुरे गाउँपालिका–६ स्थित चमेरो गुफासम्म समेत पदमार्ग निर्माण गरिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु ६ लाखको लागतमा सो पदमार्ग निर्माण गरिएको चुरे गाउँपालिकाका रोजगार संयोजक हीरा विष्टले जानकारी दिए।

प्रकाशित: Jun 01, 2024| 13:31 शनिबार, जेठ १९, २०८१
प्रतिक्रिया दिनुहोस्