आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आमादब्लम जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनमा सिद्धार्थ बैंक

आमादब्लम जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनमा सिद्धार्थ बैंक

 |  शुक्रबार, जेठ १८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १८, २०८१

काठमाडौं- सिद्धार्थ बैंकले सोलुखुम्बु जिल्लाको पाङ्बोचेमा आमादब्लम मिनी हाइड्रोद्वारा निर्माण प्रस्ताव गरिएको ९११ किलोवाट क्षमताको जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनका लागि कर्जा सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, आयोजना कम्पनीका अध्यक्ष लक्ष्मण अधिकारी, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल र खुम्बु पासाङल्हामु गाँउपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार नेपाल सरकार र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत् प्राप्त हुने आर्थिक सहयोगमा सम्पन्न हुने उक्त आयोजनामा सिद्धार्थ बैंक लिमिटेडले विश्व बैंकबाट प्राप्त हुने ऋण रकम र बेलायती सरकारद्वारा आर्थिक सहयोगको रूपमा प्राप्त हुने च्यालेन्ज फण्ड प्रवाह गर्नको लागि साझेदार बैंकको रूपमा भुमिका निर्वाह गर्नेछ।

चोलुन्चे खोलाको पानी प्रयोग गरी निर्माण हुन गइरहेको उक्त आयोजना ४ हजार ४२३ मिटर उचाइमा रही संसारकै अग्ला स्थानहरूमा रहेका जलविद्युत आयोजनाहरूमध्ये एक हो।

सगरमाथा राष्ट्रिय निकुञ्जभित्र रहेको क्षेत्रमा राष्ट्रिय प्रसारणको विद्युत उपलब्ध नभएका कारण विद्युत अभाव रही आएकोमा यस आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि उक्त समस्याको न्यूनीकरण मात्र नभई वातावरणमा सकारात्मक प्रभाव, पर्यटकलाई भरपर्दो ऊर्जाको विकल्प तथा खुम्बु पासाङल्हामु गाउँपालिकाभित्रका ४५१ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले कम्पनीले देशभर १९६ वटा शाखा (५ एक्स्टेन्सन काउन्टरसहित), ७३ शाखारहित बैंकिङ सेवा र २२६ एटिएममार्फत् उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: May 31, 2024| 16:26 शुक्रबार, जेठ १८, २०८१
प्रतिक्रिया दिनुहोस्