बिहीबार, पुस १०, २०८२

म्याग्दीका चौतारी संरक्षणमा जुटे युवा

 |  सोमबार, जेठ ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ७, २०८१

गलेश्वर- म्याग्दीमा पछिल्लो समय चौतारी निर्माण र संरक्षणमा युवापुस्ताको चासो बढ्दै गएपछि पाको पुस्तामा खुसियाली छाएको छ।

National life

जिल्लाका बेनी नगरपालिकासहित मंगला, मालिका, अन्नपूर्ण, रघुगंगा र धौलागिरि गाउँपालिकाका युवाले यहाँ रहेका पुराना चौतारीको संरक्षणका साथै नयाँ चौतारी निर्माण गर्न थालेपछि पाकोपुस्ता पुरानो विरासतको संरक्षण हुन लागेको भन्दै खुसी भएका हुन्।

चौतारी संरक्षण र निर्माण अभियानमा यहाँका युवाका साथै जनप्रतिनिधि पनि खटिन थालेका छन्। कतिपय वडा कार्यालयले बजेट नै पारेर आफ्नो क्षेत्रमा रहेका पुराना चौतारीको पुनःनिर्माण तथा आवश्यक ठाउँमा नयाँ चौतारी बनाउने काम गरिरहेका छन्।

बेनी-६ अर्थुङ्गे, वडा नं ७ बेनी, वडा नं २ ज्यामरुककोट, वडा नं १ रत्नेचौरसहित मंगला, मालिका, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधिहरु चौतारी निर्माण र संरक्षण अभियानमा जुटेका स्थानीयले बताएका छन्।

मंगला-२ खुम्लियामा सात दशक अगाडि बनेको चौतारी पुनःनिर्माण तथा संरक्षण अभियानमा स्थानीय खुम्लिया युवा क्लब जुटेको छ। बेनी-दरबाङ सडकअन्तर्गत सिम-कुहुँ-टोड्के जोड्ने खण्डको खुम्लियामा रहेको पिपलको रूख सुकेपछि प्रयोगविहीन बनेको चौतारीलाई नयाँ स्वरुपमा मर्मत गरी वरपिपल रोपण गरिने क्लबका उपाध्यक्ष तेजेन्द्र आचार्यले बताए।

Laxmi sunrise bank
kumari

तत्कालीन समयमा भरिया र बटुवा, घाँसदाउराका लागि वनजंगलमा जाने स्थानीयवासीलाई लक्षित गरी स्वर्गीय टेकबहादुर घर्ती मगरद्वारा निर्मित उक्त चौतारी संरक्षण अभावले जीर्ण बनेको थियो।

सडक सञ्जालको विस्तार र उचित संरक्षणको अभावका कारण पीपल सुकेपछि चौतारी जीर्ण बनेको उनको भनाइ छ। 'चौतारीको पुरानो इतिहास छ, कुनै समय गाउँघरमा भेला, बैठक, चौतारीमै बस्दथे। अब सधैँ प्रयोग हुने गरी पुनःनिर्माण गर्छौँ', उनले भने।

धार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग सम्बन्धित वरपीपल रोपेर बस्न मिल्ने गरी चौतारी बनाइने भन्दै खानेपानीको धारा निर्माणका लागि गाउँपालिकासहित अन्य संघसंस्थासँग सहयोग जुटाइने उनले बताए।

तत्कालीन समयमा टोड्केमा रहेको स्वर्गाद्वारीको शाखा आश्रमबाट पैदल हिँडेर पश्चिम म्याग्दी हुँदै बागलुङबाट प्युठानको स्वर्गद्वारीमा जाने धार्मिक भक्तजनले उक्त चौतारी आसपासमा भोजन गर्ने स्थल बनाएर बस्ने गरेका स्थानीय बुढापाकाको भनाइ छ। चौतारी आसपासमा होडिङ बोर्ड राखेर दाताको सहयोगका साथै धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने योजना रहेको उपाध्यक्ष आचार्यले बताए।

चौतारी बनाएका दाताका आफन्त झलकबहादुर घर्तीमगरले पुर्खाले बनाएको चौतारी पुनःनिर्माण गरी संरक्षण गर्न आफ्नोतर्फबाट सहयोग हुने बताए। चौतारी नजिकैको डिलबाट म्याग्दी नदी, ताराखेत, बरङ्जाको सातविसेलगायत बस्ती देखिन्छ। 

दुई दशकअघिसम्म भरिया र बटुवाले भरिभराउ हुने चौतारी जीर्ण हुन थालेपछि स्थानीय तह र समुदाय दुवै चौतारी संरक्षणमा लागेका हुन्। 'कुनै समय गाउँघरमा भेला, बैठक, कचहरी, सभा चौतारीमै बस्ने गरिन्थ्यो।

पछिल्लो समय सुविधायुक्त सामुदायिक भवन बन्न थालेपछि भवनको हलमा नै बैठक तथा सभा हुन थालेपछि गाउँघरका चौतारी प्रयोगविहीन हुँदै गएका छन्', बेनी-२ का ७९ वर्षीय टेकबहादुर कार्कीले भने।

पहिला धर्मका लागि चौतारी चिन्ने, वर र पीपलका रुख रोप्ने, पानी धारा बनाउने, पोखरी खन्ने चलन थियो। सडक यातायातको विकास र समाजमा आएको परिवर्तनसँगै चौताराको प्रयोग घटेको छ। सार्वजनिक जग्गाजमिन र खाली ठाउँ नभएको म्याग्दी सदरमुकाम बेनी बजारमा रहेका परम्परागत चौतारीलाई संरक्षण र व्यवस्थित गर्न जनप्रतिनिधिले चासो दिएका छन्।

बेनी-७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बजारवासीलाई शीतलता र बटुवालाई विश्रामका लागि पुराना चौतारीलाई व्यवस्थित गरेर प्रतीक्षालयमा रुपान्तरण गर्न थालिएको बताए। 'अहिलेका प्रतीक्षालय जस्तै पहिलेका चौतारीको महत्व छ', उनले भने, 'धार्मिक, जैविक विविधताको संरक्षण र विश्रामको सुविधाका लागि जीर्ण चौतारीको पुनःनिर्माण गर्न थालेका हौँ।'

बेनी-७ मा १८ चौतारी र एउटा पोखरी छन्। चौतारी मर्मतका लागि आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाले चार लाख ५० हजार रूपैयाँ विनियोजन गरेको थियो। सो बजेटबाट नगरपालिकाको प्रवेशद्वार, बेनी सामुदायिक र जिल्ला प्रशासन कार्यालय अगाडिको चौतारी संरक्षण गर्न थालिएको नगर कार्यालयले जनाएको छ।

गत आवमा विनियोजन भएको रु एक लाख २७ हजार बजेटबाट मालपोत कार्यालय अगाडिको चौतारी मर्मत गरिएको थियो। सो चौतारीको नजिकै बेनी बजार अवस्थित वडा नं ७ र ८ बाहेकका वडाको पहिचान झल्कने होडिङ बोर्ड राख्ने तयारी भएको छ।

ज्यामरुककोटमा रहेका पाँच वटा चौतारीको पनि पुनःनिर्माण गरिएको बेनी-२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए। रासस

प्रकाशित: May 20, 2024| 07:01 सोमबार, जेठ ७, २०८१
प्रतिक्रिया दिनुहोस्