बिहीबार, जेठ २१, २०८३

काठमाडौमा आज यो वर्षकै बढी गर्मी

 |  शनिबार, जेठ ५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ५, २०८१

काठमाडौं उपत्यकामा शनिबार (आज) यो वर्षकै धेरै गर्मी भएको छ। काठमाडौंको अधिकतम तापक्रम आज ३३.६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

National life

यसअघि गएको अप्रिल २५ र अप्रिल ३० मा अधिकतम तापक्रम ३३.५ डिग्री सेल्सियस मापन गरिएको थियो। हिजो शुक्रबार काठमाडौंको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस थियो।

महाशाखाले शनिबार बेलुका सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये नेपालगन्जको अधिकतम तापक्रम सबैभन्दा बढी ४२.६ डिग्री सेल्सियस मापन गरिएको छ। 

विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ। महाशाखाले अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ।  

विभागले जारी गरेको ‘तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन’ अनुसार तराईमा धेरै गर्मी र हावासमेत तातो हुनेछ। ‘विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको देखिन्छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ, ’ बुलेटिनमा भनिएको छ। 

Shivam cement

आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहकाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। साथै विभागले तातो लहरको  असरबाट बच्न गर्मीको समयमा घरभित्र नै रहन, घरबाहिर नजान, हलुका र सुतीका कपडा लगाउन, घरबाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित र पटक –पटक पानी तथा झोल पदार्थ पिउने सुझाव दिएको छ।

तातो हावा तथा तातो लहर (लू)बाट  थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसीहरू दुख्ने, बान्ता हुनसक्ने भएकाले लूबाट बच्न सुझाएको छ। 

प्रकाशित: May 18, 2024| 20:19 शनिबार, जेठ ५, २०८१
प्रतिक्रिया दिनुहोस्