आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या सरकारले समाधान गर्नुपर्छ: देउवा

वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या सरकारले समाधान गर्नुपर्छ: देउवा

 |  शनिबार, जेठ ५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ५, २०८१

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गरेका छन्। 

शनिबार काठमाडौंमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको १२ औं साधारण सभालाई सम्बोधन गर्दै सभापति देउवाले सरकारले नेपालीका लागि सुरक्षित वैदेशिक रोजगारीको प्रबन्ध गर्नुपर्ने बताए। 

उनले विदेशमा रोजगार गर्न जाने कुरा र त्यहाँ श्रमिकहरुले पाइरहेको दुःखका बारेमा आफू जानकार रहेको भन्दै श्रमिकलाई भइरहेको शोषणको समस्या रोक्न आग्रह गरे। सभापति देउवाले सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको समस्या समाधानमा आवश्यक भुमिका खेल्नुपर्ने बताए।

उनले भने, ‘नेपालीका लागि वैदेशिक रोजगार महत्वपूर्ण कुरा हो। एकातिर नेपालीले विदेशमा रोजगार गर्न पाउँछन्। तर त्यहाँ ठगिएका कुराहरु, दुःख पाएका कुराहरु पनि मैले थाहा पाएको छु, यस्ता कुरा रोक्न हामी लाग्नुपर्छ। साथ-साथै जो रेमिट्यान्सको पैसा आउँछ, नेपाललाई जो विदेशी पैसा पनि आउँछ, त्यसले नेपालको अर्थतन्त्रमा मद्दत पुर्‍याएको अवस्था छ। सरकारले पनि सुरक्षित वैदेशिक रोजगारीको प्रबन्ध गर्नुपर्छ।'

सभापति देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनलाई दुःख पाएका नेपालीहरुले समस्या समाधान गर्ने काममा लाग्न पनि निर्देशन दिए।

प्रकाशित: May 18, 2024| 17:34 शनिबार, जेठ ५, २०८१
प्रतिक्रिया दिनुहोस्