शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • निर्माण सुरु भएको नौ वर्षसम्म पनि पूरा भएन बागलुङ र पर्वत जोड्ने मोटरेबल पुल

निर्माण सुरु भएको नौ वर्षसम्म पनि पूरा भएन बागलुङ र पर्वत जोड्ने मोटरेबल पुल

 |  बिहीबार, जेठ ३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३, २०८१

पर्वत- छिमेकी जिल्ला बागलुङ र पर्वत जोड्ने कालीगण्डकी नदीमाथि निर्माणाधीन मोटरेबल पुल नौ वर्षसम्म पूरा हुन सकेको छैन। पर्वतको फलेवास नगरपालिका-६ देविस्थान र बागलुङको जैमिनी नगरपालिका-१ जोड्नेगरी निर्माण सुरु भएको पुल नौ वर्षसम्म पनि अधुरै रहेको हो।

National life

३० महिनामा निर्माण कार्य सक्नेगरी २०७३ असोज ९ गते सम्झौता गरिएको भए पनि अहिलेसम्म पूरा हुन नसकेको हो। सम्झौता अवधिअनुसार २०७६ असारमै पुल बनिसक्नुपर्ने थियो।

जैमिनीघाटमा निर्माणाधीन यो पुल निर्माणको जिम्मा रसुवा/श्री गीता/फेवा संयुक्त निर्माण कम्पनीले पाएको थियो। एक सय मिटर लामो यो मोटरेबल पुल अलपत्र हुँदा दुई जिल्लाका बासिन्दा सवारीसाधनमार्फत वारपार गर्नबाट वञ्चित भएका छन्।

निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै काममा ढिलाइ गरेको स्थानीयको आरोप छ। निर्माणाधीन यो पुलको काम पूरा हुने कुनै टुंगो नदेखिएको स्थानीय ठाकुर भुसालले बताए।

एक सय मिटर लामो यो पुलको तीन खण्डमध्ये एक खण्डको ढलान हुन बाँकी रहेको छ। सडक डिभिजन कार्यालयका इञ्जिनियर तथा सूचना अधिकारी अमर अधिकारीका अनुसार आगामी असार मसान्तसम्ममा सक्नेगरी म्याद थपिएको छ।

Laxmi sunrise bank
kumari

निर्माण कार्यको उपलब्धि हेर्दा अबको दुई महिनामा काम सकिने कुनै सम्भावना देखिएको छैन। अधिकारीले पुलको भौतिकतर्फ ८२ र वित्तीयतर्फ ८६ प्रतिशत काम सकिएको जानकारी दिए। खोचमा बनाइएको यो पुलको दुवैतर्फ सडकको पहुँच भने राम्रो छैन। पुल बनिसकेपछि पनि सडकमा जोड्न ठूलो लगानी चाहिने स्थानीय भोलानाथ भुसालले बताए। 

निर्माण कम्पनीका प्रतिनिधि विष्णु कोइरालाले पुलको पहिलेको लागत अनुमानमा परिवर्तन गर्नुपरेका कारण लामो समय लागेको जानकारी दिए। 'पुलको पिलर राख्दा ‘पायल फाउण्डेशन’ थिएन, पछि बनाएका हौँ, त्यसैले ढिला भयो', उनले भने।

पुलको बागलुङतर्फको भागमा सडकको पहुँच नभएकाले पनि समस्या परेको कोइरालाले बताए। फाउण्डेसनका लागि उपकरण लैजान सडक नहुँदा एक वर्ष ढिला भएको उनको भनाइ छ। 

वैकिल्पक राजमार्गका रुपमा विकास गरिएको नागडाँडा-कार्कीनेटा-फलेबास-जैमुनी सडकमा पर्ने यो पुल समयमै सम्पन्न गर्न सरोकारवालाले पनि चासो नदेखाएको स्थानीयको आरोप छ। थप गरिएको म्याद सकिन अब दुई महिना मात्र बाँकी छ। नदीको पानी बढ्ने अवस्था आएकाले चालु वर्ष ढलान हुनेमा विश्वस्त हुन नसकेको स्थानीय हरिबहादुर क्षेत्रीले बताए। हिउँद याममा धमाधम काम नगरेका कारण ढिलाइ भएको उनको भनाइ छ।

यो पुल कालीगण्डकी करिडोरको पर्वत र बागलुङतर्फको भागसँग जोडिने भएकाले महत्वपूर्ण मानिएको छ। यो सडकले हालको यात्रालाई झण्डै १० किलोमिटर छोटो बनाउने फलेबासका पूर्वनगरप्रमुख पदमपाणि शर्माले बताए।

आफ्नो कार्यकालमा सुरु गरेको वैकल्पिक राजमार्गमा पर्ने पुल समयमै सम्पन्न गर्न आफूले पहल गरिरहेको शर्माले बताए। सो पुलको १३ करोड १२ लाख ४९ हजार तीन सय ६४ रूपैयाँको लागतमा निर्माणको सम्झौता भएको थियो। रासस

प्रकाशित: May 16, 2024| 19:01 बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्