काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएपछि उनका समर्थकले उत्सव मनाएका छन्। पञ्चेबाजा बजाउँदै समर्थकहरुले सन्दीपको स्वागत गरेका छन्।
लामिछानेले सफाइ पाएपछि समर्थकको भीडले उच्च अदालत पाटन परिसरमा खुशी साटिरहँदा पुल्चोक क्षेत्र आसपास सडकको ट्राफिक अस्तव्यस्त बनेको छ। समर्थकहरूले सडकमा सन्दीपको पक्षमा नाराबाजी गरेका थिए।
उनीहरूले न्याय मरेको छैन, सन्दीप हाइहाइ, जित कसको सन्दीपको भन्दै एकआपसमा खुशी साटासाट गरेका थिए। बाजागाजा र झाँकीसहित पुगेका समर्थकको भीडलाई थेग्न प्रहरीलाई हम्मेहम्मे परेको छ।
समर्थकको भीडले सन्दीपले फेरि एक पटक विश्वसामु नेपाललाई चिनाउने भन्दै नारा लगाएका थिए। सयौंको संख्यामा समर्थकहरूले सन्दीपको फोटो अंकित ब्यानर र प्लेकार्डसँगै नेपाली झण्डासमेत लगाएर सन्दीपको पक्षमा नाराबाजी गरेका थिए।
फैसला सुन्न लामिछाने पनि आज अदालत पुगेका थिए। आज फैसला आउने भएपछि दिउँसोदेखि नै अदालत परिसरमा समर्थकको भीड लागेको थियो।
जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो।
गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो। उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए। हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपछि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो।
उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन पाउनेछन्। जिल्ला अदालतले दोषी ठहर्याएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा राखेको थियो।